शेख रसेल कप चेसको उपाधि बंगलादेशलाई, नेपाल तेस्रो स्थानमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । समान तीन-तीन म्याच प्वाइन्ट बनाएको श्रीलंकालाई गेम प्वाइन्टमा पछि पारेको बंगलादेशले चार हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थानमा रहन सफल श्रीलंकाले तीन हजार अमेरिकी डलर पाउँदा तेस्रो भएको नेपालले दुई हजार अमेरिकी डलर हात पारेको छ । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले नगद एक हजार अमेरिकी डलर पुरस्कार हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा गत अक्टोबर १२ देखि शुरु भएको च्याम्पियनशीपमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागिता थियो । राउण्ड रोविन प्रणालिबाट अंकतालिकाको शीर्ष स्थानमा रहन सफल तीन टोली सुपर लिगमा प्रवेश गरेका थिए । नेपाली टिम सुपर लिगका दुवै खेलमा पराजय व्यहोर्न पुग्यो । च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपालविरुद्ध तीन ग्राण्डमास्टर र एक इन्टरनेशनलमास्टरलाई प्रतिस्पर्धा गराएको थियो ।

पहिलो बोर्डमा ग्राण्डमास्टर इनामुल हुसेनले नेपाली फिडेमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउनुभयो । दोस्रो बोर्डमा बिलमलाल श्रेष्ठलाई अर्का ग्राण्डमास्टर जिउर रहमानले पराजित गर्नुभयो । तेस्रो बोर्डमा खेलेका सिंगेश्वर दासलाई ग्राण्डमास्टर नियाज मुर्सीदले हार चखाउनुभयो भने चौथो बोर्डमा प्रतिस्पर्धा गर्नुभएका राजेन्द्र बज्राचार्य बंगलादेशी इन्टरनेशनलमास्टर मोहमद फहाद रहमानसँग अंक गुमाउन पुग्नुभयो । व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोस्रो बोर्डमा विलमलाल र तेस्रो बोर्डतर्फ सिंगेश्वर दासले कास्य पदक प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?