यसकारण कागको पूजा गरिन्छ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ ।

तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।

कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । कागलाई यमराजको दूतका रुपमा पूजा गर्ने चलन रहीआएको छ । घर आँगनमा आई काग कराएमा खबर ल्याएको विश्वासका साथ शुभ बोल भन्ने चलन छ ।

भगवान विष्णुले ‘बर माग’ भन्दा राजा बलीले ‘पृथ्वीमा पाँच दिन मेरो राज्य होस’ भन्ने बर मागेकै कारण यमपञ्चकमा राजा बलीको राज्यमा जस्तै दीपावली गर्ने, गाउँ सहर सबैतिर झिलिमिली बनाउने गरिन्छ । यमराजको प्रिय काग र द्वारपाल कुकुरको पनि पूजा गरिन्छ ।

काग तिहारको धार्मिक महत्व

कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल‘ सुबोल‘’ अर्थात शुभ बोल भनेर भनिन्छ ।

हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।

यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ ।

त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ । हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरुलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ ।

यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ । मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?