-रामचन्द्र रायमाझी
पाल्पा । वल्लो, पल्लो गाउँमा तिहारको रौनक छायो । सबैले आ–आफ्ना घर फूलले सिँगारे, बत्तीले झिलिमिली पारे र सबै तिर दाजुुभाइ दिदी बहिनी जम्मा भएर तिहार मनाए । तर पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासका पहिरोपीडितलाई भने तिहारले छुन सकेन । उनीहरुमा तिहारको कुनै रौनक नै देखिएन् । देखियो त त एउटै चिन्ता, अब जाडो कसरी काट्ने ? २२ असोज ०७९ मा आएको अकल्पनीय पहिरोका कारण यहाँका ३८ घर परिवार विस्थापित हुन पुगे । अहिले उनीहरुलाई बासकै चिन्ता छ ।
निस्दी गाउँपालिका–३ क्याङ्रुङस्थित डाँडाथर बेगबहादुर पल्लीलाई यतिबेला भोक न निद्रा भएको छ । गाउँ घरमा चाडपर्व र चुनावी चहलपहल छ तर, यहाँका पल्ली जस्तै ३८ परिवारलाई भने बासकै चिन्ताले सताएको छ । ‘हामीलाई तिहार र चुनावज आए, गएको केही थहाँ नै छैन,’ पल्लीले गहभरि आँसु बनाउँदै भन्नुुभयो , ‘अब बालबच्चा कसरी पाल्ने हो ! गाईबस्तु कहाँ लगेर राख्ने हो भन्ने मात्रै चिन्ता छ ।’ पहिरोका कारण घरबारबिहीन भएपछि आफूहरु छिमेकीको घरमा बस्न बाध्य भएको उहाँले बताउनुुभयो । ‘हामी बस्दै आएको घर पहिरोले बस्न नहुुने भयो,’ पल्लीले भन्नुुभयो, ‘घर बनाउनलाई जग्गा पनि सङ्ग्लो छैन । कतिन्जेल अरूकोमा गएर गुजारा चलाउने ?’उहाँले सरकारले घर बनाउन जग्गा दिए ठूलो राहत मिल्ने बताउनुुभयो । अर्कासँग ऋण काँढेर दुःखले बनाएको घर सदाका लागि गुमाउनुु पर्दा आफूलाई जीवनभर पीडा थपिदिएको गुनासो उहाँको छ । ‘कमाउने आधार केही छैन, बल्लतल्ल दुःखले बनाएको घरको ऋण तिर्न अझसम्म सकेको छैन, त्यही घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो ।’ पहिराले बेगबहादुरको तीनजनाको परिवार बिचल्लीमा परेको छ । चार वर्षअघि ऋण खोजेर बनाएको पक्की घर पहिराको चपेटामा परेपछि उहाँको परिवार अहिले बिच्लीमा छ । पालिकाबाट एकवटा सानो त्रिपालबाहेक अन्य राहत अहिलेसम्म केही नपाएको उहाँ बताउनुहुन्छ । खगीसरा सोतीको पनि पहिरोले घर पुरिदिएको छ । अहिले उहाँलाई पनि बासकै पिरलो छ । सोतीलाई असोज २२ गते सम्झदा अझै निद्रा लाग्दैन । स्थानीय ललिता सोतीको पहिरोदेखि झण्डै ८ सय मिटरमाथि रहेको घर चर्किएको छ । जगैबाट घर चर्किएपछि अहिले उहाँको परिवार छिमेकीको शरणमा छ ।
युबहादुर पल्लीको घर पनि पहिरोले चर्किएपछि पूरै जोखिममा छ । घरसहित बारी पहिराको जोखिममा परेपछि १२ जना परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको उहाँ बताउनुुहुन्छ । अहिले अरुको घरमा बस्दै आए पनि त्यहाँ पनि पर्याप्त बस्ने ठाउँ नहुँदा पीडितलाई थप समस्या निम्तिएको छ । गाउँका अधिकांशको सरसामान, गाईबस्तु छिमेकीको सारिएको छ ।
डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँ नै पहिराको जोखिममा परेको हो । गाउँका अन्य आसपासका घरहरुमा पनि जोखिम उत्तिकै छ । विस्तापित परिवारका सदस्य आफन्त, छिमेकी तथा विद्यालयका भवनमा बसोबास गरिरहेका छन् । तीनै तहका सरकारबाट पहिरोपीडितको राहतका लागि खासै चासो देखाएको देखिदैन । जिल्ला प्रशासन कार्यालयले भने केही नगद सहयोग गरेको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार ५ हजारदेखि २० हजार रुपैयाँसम्म नगद सहयोग गरिएको छ । ‘तत्कालीन राहतका लागि कम दिइएको हो,’ उहाँले भन्नुुभयो, ‘क्षतिको मुचुल्काका आधारमा तत्कालीन राहतबाट केही सहयोग पुग्छ भन्नेछ ।’ स्थानीयले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न माग गरेको प्रजिअ पन्तले बताउनुुभयो । ‘हामीले भू तथा जलाधार कार्यालय र अन्य निकायबाट समेत यहाँको बस्ती अध्ययन गर्ने छौं,’ उहाँले भन्नुुभयो, ‘त्यसपछि मात्र के गर्ने भन्ने निष्कर्ष निकालिनेछ ।’ गत असोज २२ गते राती खसेको पहिरोले यहाँका ३८ घरपरिवार विस्थापित भएका छन् । यहाँ कम्तीमा ५ सय मिटर चौडाइ र १ हजार ५ सय मिटर लम्बाइको पहिरो खसेको छ । पहिरोका कारण मानवी क्षति भने भएको छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच