उद्घाटन खेलमा झापा विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

मोरङ । पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १-० गोलअन्तरले हराउँदै विजयी सुरूवात गरेको छ । मोरङको बेलबारी-११ स्थित लक्ष्मी माविको खेलमैदानमा बुधबार भएको खेलमा झापा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाका लागि रेजिन सुब्बाले निर्णायक गोल गर्नुभएको थियो । उहाँले खेलको ५०औँ मिनेटमा गोल गर्नुभएको थियो ।

विराटनगरले भने जवाफी गोल फर्काउन सकेन । राष्ट्रिय खेलाडी संलग्न दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विराटनगरले पटक–पटक गोल गर्ने अवसर पाए पनि चुक्यो । खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्की घोषित हुनुभयो । उहाँले पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

आगामी कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालका सात तथा विदेशी तीन टोली सहभागी छन् । विराटनगर, झापासँगै डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, सहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएमएफसी पश्चिम बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनियर फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरीले जितेको थियो । विजेताले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई जनही १५ हजार तथा उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो । खेलको मुख्य प्रायोजक बुद्ध एयर तथा सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?