बागलुङ । दुई–दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिनुभएको छ । वाम गठबन्धनको एक्लै सामना गर्नुभएका शेरचनले विस २०७४ र विस २०७६ को उपचुनावमा बागलुङ–२ ९२० बाट हार्नुभएको थियो ।
ती दुई चुनावमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा एउटै मोर्चाबाट कांग्रेसविरुद्ध चुनाव लडेका थिए । अहिले वाम दल एक ठाउँ छैनन् । माके र राजमो कांग्रेससँगको गठबन्धनमा छन् । एमाले एक्लै चुनावी मैदानमा छ । बदलिएको चुनावी समीकरणबीच शेरचनलाई नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीको समेत साथ छ । पाँच दलीय गठबन्धनका आडमा बागलुङ–२ ९१० बाट प्रदेशसभा छिर्ने दाउमा हुनुहुन्छ, शेरचन ।
अघिल्ला चुनावमा बागलुङ–२ ९२० बाट चुनाव लड्नुभएका उहाँले यसपालि क्षेत्र ९१० राज्नुभएको छ । विसं २०७४ को चुनावमा शेरचन वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दिवङ्गत नेता टेकबहादुर घर्तीसँग तीन हजार दुई सय ६० मतान्तरले पराजित हुनुभएको थियो ।
घर्तीले ११ हजार आठ सय ८४ र शेरचनले आठ हजार ६ सय २४ मत ल्याउनुभएको थियो । निर्वाचित उम्मेदवार घर्तीको निधन भएपछि विसं २०७६ मङ्सिरमा भएको उपचुनावमा राष्ट्रिय जनमोर्चाकै खिमविक्रम शाहीले शेरचनलाई हराउनुभएको थियो ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राजमोले शाहीलाई उम्मेदवार बनाएको थियो । उपचुनावमा भने शेरचनले पहिलेभन्दा मतान्तर केही घटाउनुभएको थियो । शाहीले ११ हजार दुई सय २५ मत ल्याएर विजयी बन्दा शेरचनले नौ हजार एक सय ३८ मत पाउनुभएको थियो ।
आसन्न मङ्सिर ४ को चुनावमा भने शेरचनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग हुँदैछ । उक्त क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाउन सकेन । एमालेको समर्थनमा लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती र शेरचन मात्र सो क्षेत्रमा उम्मेदवार छन् ।
गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित बन्नुभएका घर्ती र तेस्रोपटकमा चुनाव जित्ने दाउमा रहनुभएका शेरचनबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ ।
विसं २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ ।
दुईपटकसम्मको हारलाई जीतमा बदल्ने शेरचनको सपना यसपालि पूरा हुन्छ या हुँदैन त्यो त हेर्न बाँकी छ । कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका शेरचन विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । शेरचन नेपाल विद्यार्थी सङ्घका तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो ।
शेरचनले चुनाव लड्ने क्षेत्र बागलुङ–२ ९१०मा ५४ हजार दुई ३४ मतदाता छन् । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई सो क्षेत्रले समेटेको छ । विसं २०७४ को चुनावमा सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो ।
गत स्थानीय चुनावमा भने यस क्षेत्रका तीनै स्थानीय तहमा सत्ता गठबन्धनले जितेको थियो । गलकोटको प्रमुख र बडिगाडको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए भने ताराखोलाको अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।
-रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच