जुम्लामा त्रिपक्षीय भिडन्त

विजय रावत जुम्ला, संवाददाता
Read Time = 11 mins

जुम्ला । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आउन केही दिन बाँकी रहँदा जुम्लामा चुनावी चहलपहल निकै तातेको छ । आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दलका केन्द्रीय तहका नेतादेखि जिल्ला तहका नेता गाउँ पसेका छन् । पार्टीका पुरानै एजेण्डा लिएर गाउँमा भोट माग्न उम्मेदवार र कार्यकर्तालाई भ्याइ-नभ्याइ भएको छ ।

हाम्रो नेपाल, हामी नेपाली अभियानको संयोजकबाट राजनीतिमा प्रवेश गर्नुभएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्तासमेत हुनुहुन्छ । जुम्लाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा होमिनुभएका शाही सत्ता गठबन्धनका र एमालेका बलिया उम्मेदवारलाई रोक्न उहाँको शक्तिलाई आमचासोका रूपमा जुम्लालाई हेरिएको छ । राष्ट्रियस्तरमा निकै चर्चा र लोकप्रियता बटुल्नुभएका शाहीले रोजेको निर्वाचन क्षेत्र जुम्लाबारे अहिले चर्चा–परिचर्चा भइरहेको छ । शाहीले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ । उहाँको उम्मेदवारीसँगै जुम्लामा सत्ता गठबन्धन र एमालेका उम्मेदवार पनि निकै दबाबमा देखिएका छन् ।

जुम्लामा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको छ । जिल्लाको कुल मतदाता संख्या ६८ हजार ६३८ जना रहेको छ । प्रदेश (क) को मतदाता संख्या ३६ हजार ७८३ जना, प्रदेश (ख) मा ३१ हजार ८५५ जना मतदाता संख्या रहेको छ । प्रदेशसभा (क) मा पातारासी गाउँपालिका, गुठीचौर, तातोपानी र चन्दननाथ नगरपालिका गरी जम्मा चारवटा स्थानीय तह पर्छन् । प्रदेशसभा (ख) मा तिला गाउँपालिका, हिमा, सिंजा र कनकासुन्दरी गरी जम्मा चारवटा स्थानीय तह रहेका छन् ।

गएको स्थानीय तह निर्वाचन मतको आधार हेर्दा जुम्ला कांग्रेसको बलियो क्षेत्रका रूपमा चिनिन्छ । जहाँ सत्ता गठबन्धनबाट लोकप्रिय मानिनुभएकी पूर्व–राज्यमन्त्री गोमा गौतम कुँवर चुनावी मैदानमा हुनुहुन्छ । कुँवरले (२०७०) सालको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सांसद हँुदै पशुपन्छी विकास राज्यमन्त्रीको जिम्मेवारीसमेत बहन गरिसक्नुभएको छ । २०७४ मा भएको संघीय निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुँदा कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई झण्डै दोब्बर मत अन्तरले माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले जित हासिल गर्नुभएको थियो ।

एमालेका हेभिवेट उम्मेदवार रतननाथ योगीले सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा होमिनुभएकी गोमा गौतमको सामना गर्नुपर्ने देखिन्छ । स्थानीय तहदेखि राष्ट्रियसम्म परिचय बनाउनुभएका तिला गाउँपालिकाका पूर्व-अध्यक्ष तथा एमाले जुम्ला जिल्ला इञ्चार्ज योगी चुनावी मैदानमा उत्रिनुभएको छ । जुम्लाको चुनावी लेखाजोखा गर्दैगर्दा मुख्यगरी तीनवटा फ्याक्टरलाई विश्लेषण गर्नुपर्ने देखिन्छ । २०७४ को चुनावी समीक्षा, गत वैशाख ३० को स्थानीय तहमा दलहरूले पाएको मतको हिसाब र उम्मेदवारको व्यक्तिगत लोकप्रियता ।

२०७४ को चुनावी नतिजालाई हेर्दा जुम्लाको एकमात्र संघीय निर्वाचन क्षेत्रमा माओवादीका लागि निकै अनुकूल चुनावी क्षेत्र हो । २०७४ मा झण्डै दोब्बर मतले जित्नुभएका माओवादीका उम्मेदवार महत यसपटक चुनावी मैदानमा हुनुहुन्न । अर्कोतिर, गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा जुम्लामा ६० वडामध्ये कांग्रेसले २६ वडाध्यक्ष जितेर पहिलो र बलियो शक्तिका रूपमा देखिन्छ । १९ वडामा अध्यक्ष जितेर माओवादी केन्द्र दोस्रो भएको छ । सात/सात वडाध्यक्ष जितेर तेस्रोमा एमाले र एकीकृत समाजवादी तेस्रो शक्तिका रूपमा देखिएका छन् । नेमकिपाले जिल्लाको सिंजा गाउँपालिकाको वडा नं. ६ मात्रै एक वडाध्यक्ष जितेको छ । दुईजना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा नं. ३ वडाध्यक्षमात्र कांग्रेसले जितेको छ । बाँकी वडा नं. १, २, ४ र ५ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । वडा नं. ६ मा एमाले, ७ मा समाजवादी र ८ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

त्यस्तै, गुठीचौरमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष समाजवादीले जितेको छ । जम्मा पाँचवटामात्र वडा रहेको गुठीचौरमा वडा नंं. १ र ४ मा कांग्रेसले अध्यक्ष जितेको छ । ३ मा स्वतन्त्र उम्मेदवार, २ मा समाजवादी र ५ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । पातारासीमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । पातारासीको वडा नं. २, ५, ६ र ७ को वडाध्यक्ष कांग्रेसले जितेको छ । वडा नं. १, ३, ४ मा माओवादीले वडाध्यक्ष जितेको छ । एमाले र समाजवादीले कुनै वडामा आफ्नो अस्तित्व राख्न सकेनन् । तातोपानीमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले बाजी मारेको छ ।

आठवटा वडामध्ये तातोपानीमा कांग्रेसले वडा नं. १, ३, ५ मा वडाध्यक्ष जितेको छ । वडा नंं. २, ४, ७ मा एमालेले जितेको छ । ८ मा समाजवादी र ६ मा माओवादी केन्द्रले वडाध्यक्षमा जितेको छ । त्यस्तै, तिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । तिलाका नौवटा वडामध्ये कांग्रेसले वडा नं. २, ३, ५, ६, ८, ९ मा वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले वडा नं. १, ७ मा वडाध्यक्ष जितेको छ । एमालेले ४ मा मात्र वडाध्यक्ष जितेको छ । सिंजामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको छ । सिंजाका ६ वडामध्ये कांग्रेसले वडा नं. १, २, एमालेले ४, माओवादी केन्द्रले वडा नं. २, ३ र नेपाल मजदुर किसान पार्टीले वडा नं. ६ मा वडाध्यक्षमात्र जितेको छ ।

त्यस्तै, यहाँको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । हिमाका जम्मा सातवटा वडामध्ये वडा नं. १, ५, ६ मा कांग्रेस ३, ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । २, ७ वडामा समाजवादीले जितेको छ । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा प्रमुख स्वतन्त्रबाट राजुसिंह कठायत र उपप्रमुखमा कांग्रेसले जित हासिल गरेको थियो । दशवटा वडा रहेको नगरपालिकामा कांग्रेसले वडा नं. १, २, ४, ६, ८ मा वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले वडा नं. ३, ५, ९, १० मा वडाध्यक्ष जितेको छ । समाजवादीले ७ मा मात्रै वडाध्यक्ष जितेको छ । नगरमा एमालेले कुनै वडाको अध्यक्षमा पनि विजय हासिल गर्ने सकेन ।

जसलाई हेर्दा जुम्लामा समग्रमा गठबन्धन निकै बलियो र शक्तिशाली देखिन्छ । कांग्रेस, समाजवादी र माओवादी केन्द्रको मत हिसाब गर्दा एमाले र राप्रपाभन्दा गठबन्धनको तेब्बर मतले अगाडि देखिन्छ । तर, चुनाव कसको पक्षमा जान्छ भन्ने निक्र्योल ०७४ को नतिजा र हालै सम्पन्न स्थानीय तहको निर्वाचनले मात्रै गर्न सकिन्न । मतदाताले पार्टीभन्दा उम्मेदवारलाई पनि चयन गर्ने गरेका उदाहरण पनि थुप्रै छन् । जुम्लाको सबालमा पनि उम्मेदवारको चयन पनि निकै महत्वपूर्ण मान्न सकिन्छ । गठबन्धनका उम्मेदवारसँगै एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले चुनावी मैदानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?