ठेकेदारको मेसिनमा नगरपालिकाको तालाबन्दी

हिमालय टाइम्स
Read Time = 4 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सडकको काम अलपत्र पार्ने ठेकेदारको मेसिनमा तालाबन्दी गरिदिएको छ । नगरभित्र सञ्चालित योजना अलपत्र पारी अन्तै मेसिनरी औजार लान खोजेपछि ठेकेदारको मेसिनमा तालाबन्दी गरिदिएको हो ।

जिल्ला अस्पताल चोक लफ्याङ सडक खण्डको काम अलपत्र पार्ने ढुकुचु/बगाले/विएण्टी जेभीले लफ्याङमा राखेकोे मेसिनमा सोमबार नगरप्रमुख तीर्थराज भट्टराईको निर्देशन तथा उपप्रमुख बिसन राईको उपस्थितिमा नगरका प्रवक्ता तथा लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र दिक्तेलका वडाध्यक्ष नवराज राईले जेसिबी र स्काइभेटरमा फलामे साङ्लो कसेर तालाबन्दी गरिदिनुभएको हो ।

करिब पाँच करोड बजेटमा ठेक्का सम्झौता गरेर काम अलपत्र पार्ने जेभीले निर्माण कार्य पुनः सुचारु नगरी निर्माण कार्य अपुरो तथा अलपत्र अवस्था रहँदा उहाँको चार महिना अवधि बाँकी रहेको र सो अवधिमा दु्रततर गतिमा काम गर्दासमेत योजना सम्पन्न गर्न कठिन हुने सन्दर्भमा हाल आएर निर्माणस्थलमा भएको मेसिनरी सामानहरू अन्यत्र लैजाने कोसिस गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको नगरका प्रवक्ता घिमिरेले बताउनुभयो । ‘निर्माण कम्पनी आएर नगरपालिकामा छलफल गरी काम अगाडि बढाउँछु भनेर प्रतिबद्धता जनाएर काम सुरु गरेपछि मात्रै तालाबन्दी खोलिनेछ,’ घिमिरेले भन्नुभयो ।

निर्माण कम्पनीले सडक निर्माण कार्य अधुरो-अपुरो राख्दा स्थानीय नागरिकलाई दुःख सास्ती हुने, नगरपालिकाको विकासमा अवरोध पुग्ने, ज्येष्ठ नागरिक, अशक्त, बालबालिका, महिलाहरूलाई आवतजावतमा समस्या हुने गरेको छ । मुख्यतः अन्य पालिकाबाट जिल्ला अस्पतालसम्म बिरामीहरू ल्याउन समेत कठिनाइ भई हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था सिर्जना भएकाले बाध्य भएर मेसिनरी सामानमा तालाबन्दी गर्नलाई निर्देशन दिइएको नगरप्रमुख भट्टराईले बताउनुभयो । योजनाको निर्माण कार्य पुनः सुचारु नभइञ्जेल अथवा अर्को व्यवस्था नभएसम्म तालाबन्दी जारी रहने भट्टराईले बताउनुभयो ।

विभिन्न सरकारी कार्यालयको बजेटबाट नगरपालिकाभित्र सञ्चालित १७ वटा योजनाहरू अलपत्र परेपछि नगरपालिकाले ३ असोजमा पत्रकार सम्मेलन गरेर उक्त योजना सञ्चालन गरिरहेका निर्माण व्यवसायी तथा कम्पनीलाई ३५ दिनभित्र नगरसँग सम्पर्क गरी हालसम्म भएको कामको विवरण बुझाउन अल्टिमेटम दिएको थियो । विवरण बुझाउन तोकिएको १७ दिन बित्दा उक्त जेभीले विवरण बुझाउनुको सट्टा निर्माणस्थलबाट उल्टै मेसिनरी सामान लैजान खोजेको हो ।

नगरभित्र सञ्चालित अन्य १६ वटा योजनाले पनि ३५ दिनभित्र प्रगति विवरण नबुझाएमा र उक्त समयभित्र काम पुनः सुचारु नगरेमा निर्माण व्यवसायीहरूलाई कानुनबमोजिमको हदैसम्मको कारबाहीका लागि नियामक निकायमा सिफारिस गरिने नगरप्रमुख भट्टराईले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?