तातोपानीको जर्मी गाउँमा एकघर एक धारा निर्माण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-२ स्थित जर्मीगाउँमा एक घर एक धारा निर्माण भएपछि यहाँका स्थानीयवासिमा खुसी छाएको छ । गाउँपालिकाले एकघर एकधारा निर्माण गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले बताउनुभयो । घर आँगनमै धारा निर्माण हुँदा स्थानीयवासी खुसी भएका छन् । वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका, पानीकै लागि आपसमा द्वन्द्व गरिरहेका स्थानीय घरघरमा धारा पुगेपछि खुसी भएको अध्यक्ष चौलागाईंको भनाइ छ ।

तातोपानी-२ कि कासीकला दमाईंको प्रायः बिहान बेलुकाको समय पानी ल्याउनै बित्थ्यो । एक गाग्रीका लागि घण्टौँ लाइन कुर्नुपर्ने उहाँको बाध्यता थियो । कहिले पालो नआउँदै धारो सुकेपछि रित्तै गाग्री फर्किनुपथ्र्यो । एक गाग्री पानीका लागि पनि वर्षौंदेखि सास्ती खेप्दै आउनुभएकी कासिकला घरै धारा बनेपछि दंग हुनुहुन्छ ।

खानेपानीको चरम अभाव, नदीको पानीको पिएको विगत सम्झिँदा अहिले घरमै धारा पुग्दा सपना जस्तै लाग्छ । कासिकलाले भन्नुभयो, ‘घरघरमा धारा निर्माण हुँदा सपना जस्तै छ । तर, स्थानीय सरकार आएपछि निर्माण भयो । धेरै पहिलादेखि घरघरमा धारा पुग्ने कुरा थियो अहिले पुग्यो । खानेपानीको अभाव खेप्दै आएको जर्मी गाउँमा एकघर एकधाराले मलम लागेको उहाँले बताउनुभयो ।

बिहान बेलुका करिब तीन/तीन घण्टा बढी पानी आउँछ । विगतको जस्तो लाइन लाग्ने विवाद गर्ने झन्झटबाट मुक्ति भइयो । घरमै धारा पुगेपछि समयको बचतसँगै आफूलाई चाहिनेजति पानी भर्न पाएपछि निकै सुविस्ता भएको उहाँको भनाइ छ । कासिकला दमाईं जस्तै जर्मीगाउँका १८० घरधुरी नै घरघरमा धारा छर्किएपछि खुसी छन् । स्थानीय सरकार संचालनपछि भएको विकासप्रति उत्साहित छन् । जर्मीगाउँमा ३९ लाख लगानीमा एक घर एक धारा निर्माण भएको तातोपानी-२ का वडाध्यक्ष चन्द्रमान बुढाले जानकारी दिनुभयो ।

गाउँसभाबाट विनियोजित २७ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख गरी ३९ लाख लगानीमा पाइप लाइन बिछयाउने, धारा निर्माण सामाग्री खरिद गरी उपभोक्ता समितिमार्फत काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘दुईवटा ट्यांकी निर्माण भएका छन् । सबै घरधुरलाई पाइप, धाराको टुटी, सिमेन्ट सबै सामग्री निःशुल्क दिएका छौँ । जर्मीगाउँका ९० प्रतिशत घरमा धारा बनेर पानी छर्किसकेको छ ।

बाँकी घरमा पाइप लाइन विस्तार र धारा निर्माण भइरहेको छ ।’ वर्षौंदेखिको खानेपानी समस्यालाई मध्यनजर गर्दै एकघर एकधारा कार्यक्रमलाई प्राथमिकता दिइएको वडाध्यक्ष बुढाको भनाइ छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई मध्यनजर गरी विकास गर्नुपर्ने भएको जर्मीगाउँको आवश्यकताअनुसार एकघर एकधारा निर्माण भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?