टाढाका विद्यार्थीलाई आवासीय सुविधा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङ नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयाको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ वटा विद्यालयहरुको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको संख्या निकै कम छन् । यस शैक्षिक सत्रमा ३३ विद्यालयको तह मिलान र दुई विद्यालय स्थगन गरेको हो । तह मिलान तथा स्थगन गरेपछि समस्यामा परेका विद्यार्थीलाई लक्षित गरि यसै वर्षदेखि तीन विद्यालयलाई आवासीय बनाउने भएको छ ।

देशै सबैभन्दा बढी विद्यालय हुने नगरपालिकाको रुपमा रहेको बागलुङ नगरपालिकाले अघिल्लो वडा नम्बर १२ स्थित कालीगण्डकी प्राथमिक विद्यालय र वडा नम्बर १३ स्थित लक्ष्मी नारायण पाठशाला स्थगन भएका थिए भने यस वर्ष वडा नम्बर ९ स्थित रानीभूमे प्राथमिक विद्यालय र सोही वडाको सरस्वती प्राथमिक विद्यालय स्थगन गरेको हो । स्थगनपछि विद्यालय टाढा पर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने गरी काम अगाडि बढाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पहिलो चरणमा भौगोलिक, सामाजिक, आर्थिक कारणले विद्यालयको पहुचमा पुग्न समस्या भएका बालबालिकाका लागि आवासीय सुविधा दिने उहाँको भनाइ छ ।

नगर उपप्रमुख खड्काको अनुसार बागलुङ नगरपालिका-७ स्थित विश्वकर्मा माध्यमिक विद्यालय, वडा नम्बर ११ को महाविद्याजन माध्यमिक विद्यालय रायडाँडा र वडा नम्बर १२ को पृथ्वीहिणन्य माध्यमिक विद्यालयलाई आवासीय रुपमा संचालन गरिने छ । विद्यालयमा विद्यार्थी संख्या थोरै हुँदा शिक्षण क्रियाकलाप प्रभावकारी नहुने र बढी खर्च हुने हुँदा विद्यालयको तह मिलान र स्थगन गरेको उहाँको भनाइ छ । तह मिलानपछि शैक्षिक गुणस्तरसमेत वृद्धि हुने उपप्रमुख खड्का बताउनुहुन्छ ।

“बागलुङ नगरपालिकामा झण्डै सयको हाराहारीमा विद्यालय छन्, ति विद्यालयमा विद्यार्थी निकै कम भएको हुँदा यस वर्ष हामीहरुले धेरै विद्यालयको तह मिलान गरेका छौँ, पोहोर र यस वर्ष गरि चार वटा विद्यालय स्थगननै गरि सकेका छौँ” उहाँले भन्नुभयो - “सुरुवाति चरणमा तीन वटा विद्यालयमा आवासीय सुविधा दिने गरि संचालनको तयारी छ, पछि आवश्यकताको आधारमा अन्य विद्यालयमा पनि आवासीय सुविधा थप्ने योजना छ ।”

शिक्षा अनुगमन समितिले नगरपालिका भित्रका ४८ वटा विद्यालयहरु अध्ययन गरि आवश्यक र समस्याहरुको पहिचान गरि विद्यालयहरुको स्थगन र तह मिलान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । तह मिलनपछि अब बालविकास केन्द्र संचालन हुने विद्यालयको संख्या ८, बालविकास केन्द्र र कक्षा एक मात्र संचालन हुने विद्यालयहरुको संख्या ११, कक्षा एक मात्र संचालन हुने विद्यालय १, कक्षा एक देखि तीनसम्म संचालन हुने विद्यालय संख्या ५, कक्षा एकदेखि चारसम्म संचालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा एकदेखि ६ कक्षासम्म संचालन हुने र विद्यालय स्थगन र तह मिलानपछि शिक्षकहरुलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलन गरि व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

शिक्षा अनुगमन समितिले तय गरेको मापदण्ड अनुसार स्थगनपछि विद्यार्थीहरु बढ्ने विद्यालयलाई व्यवस्थापनका लागि दुई लाख र प्रत्येक तह मिलान हुने विद्यालयहरुलाई प्रति कक्षा २५ हजारको दरले रकम उपलब्ध गराउने पोखरेलले बताउनुभयो । बालबालिकाका लागि नेपाल सरकारले दिएको १५ रुपैयाँ दिवा खाजामा नगरपालिकाले ५ रुपैयाँका गरि दिने उहाँको भनाइ छ । विद्यालय स्थगन र तह मिलानपछि नगरपालिकाले एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रम जस्ता व्यवसायीक र प्राबिधिक स्कुलहरु निमार्ण गर्ने उद्देश्य राखेको र यस्ता खालका शिक्षामा लगानी गरेमा मात्रै शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने उहाँ बताउनुहुन्छ ।

बागलुङ नगरपालिकामा ८२ वटा सामुदायिक र २० वटा संस्थागत विद्यालय संचालनमा छन् । पालिकाभर १६ हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?