चुनावी गठबन्धन अस्वीकार गर्दै द्वन्द्वपीडित

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 4 mins

डडेल्धुरा । सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो चुनावी भाषणमा गठबन्धन समयको आवश्यकता भएको बताइरहनुभएको छ । तर, सशस्त्र द्वन्द्वको पीडा झेलिरहेका डडेल्धुराको भित्री मधेशका जनताले सत्ता गठबन्धनलाई रुचाएका छैनन् । १० वर्षे माओवादी सशस्त्र जनयुद्धको सबैभन्दा बढी प्रभाव परेको जिल्लाको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका जनता राज्य पक्ष र तत्कालीन विद्रोही पक्ष दुवैबाट आक्रान्तमात्र भएनन्, निहत्था र निर्दोष जनतामाथिको अत्याचार बिर्सन नसकिने भएकाले आगामी आमनिर्वाचनमा गठबन्धनलाई मत नदिने मानसिकतामा पुगेका छन् ।

चुनावका बेला मात्र जनताको घरदैलोमा आउने उम्मेदवारलाई अब मत नहाल्ने भित्री मधेशवासीले बताए । दर्जनौं युवाहरू, शिक्षकहरू, विभिन्न संस्थामा कार्यरत विकास साझेदार समाजसेवीहरूलगायत कृषक र उद्यमीलगायत गरिखाने वर्गलाई दिएको सास्ती तथा चरम यातना तथा मृत्युवरण गर्न बाध्य भएका भित्री मधेशका लागि वर्तमान सत्ता समीकरणका कुनै पनि नेताहरूले केही पनि राहत दिने कार्य नगरेकाले आफूहरू पनि मतदान गर्न बाध्य नभएको पर्शुराम-१ सलौनका गणेशबहादुर बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म चुनाव नै बहिष्कार गर्ने पक्षमा छु, नेपालमा नो भोटको व्यवस्था नभएकाले मतदान केन्द्रमा पनि नजाने पक्षमा छु ।’ उहाँले प्रश्न गर्नुभयो, ‘चुनाव केका लागि ? नेताहरूको स्वार्थ सिद्ध गर्न ? राष्ट्र हित विपरीतका हरेक निर्णयमा मेरो पनि सहभागिता देखिन्छ, पछि किन पछुताउने ?’ भावुक हुँदै उहाँले भन्नुभयो, ‘मेरो दाजुलाई विद्यालयबाट पढाउँदा-पढाउँदै अपहरण गरेर मारेको घटना मानसपटलमा झलझल्ती आइरहन्छ, दाजुलाई खोज्दाखोज्दा अढाइ महिनामा कंकाल पाइयो, हामीलाई हत्या गरिएको विषयमा जानकारीसम्म नदिनेलाई किन भोट दिने ?’

यहाँको यथार्थ वास्तविकता भन्ने हो भने भित्री मधेशका जनताले आश्वासनको पिरामिडबाहेक अरू केही देख्न पाएका छैनन् । ‘मत माग्ने उम्मेदवार होस् वा समर्थन जनाउने कसैलाई पनि मतदान गर्नु जरुरी छैन,’ उनीहरू भन्छन् ।

भित्री मधेश क्षेत्र भौगोलिकरूपले मात्र कमजोर भूभाग र जोखिमपूर्ण होला तर यहाँ बसोबास गर्ने जनताले अनेकौं दुःखपीडाहरू भोगिरहेका छन् । जग्गा प्राप्तिको समस्या पञ्चायतकालदेखि लथालिंग छ । खानेपानी, सिँचाइ, पुलपुलेसाहरूको समस्या त्यस्तै छ । आलितालका समाजसेवी रामबहादुर कुँवर आलिताल र पर्शुरामका जनतालाई पटक–पटक ठग्ने काम भएको भन्दै भित्री मधेशका नाममा केही व्यक्तिहरूले मात्र लाभ लिएको आरोप लगाउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?