बसाइँसराइले सुनसान गाउँ, सहरमा कोलाहल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । निसी, भुजी र तमानखोलाको संगमस्थल हो बुर्तिबाङ बजार । बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ साढे एक दशक अगाडिसम्म शान्ति थियो । सीमित घर, जनघनत्व पनि कम । विकासका हिसाबले अलि पछाडिनै थियो । तर पछिल्लो समय बुर्तिबाङ बजारको स्वरुपनै बदलिएको छ । पहिलेको जस्तो शान्त र व्यवस्थित पनि छैन बुर्तिबाङ । कोलाहाल र जनघनत्व बढेको छ । किनमेल र घुमफिका लागि गाउँबाट झर्ने मानिसको लर्को लाग्थ्यो । तर अहिले त्यो अवस्था फेरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि अचेल बजारबाट घुम्नका लागि गाउँ घुम्न जानेको संख्या बढेको छ । गाउँमा विकास नभएको नभएको भने होइन । गाउँलेको बजार मोहले गाउँ रित्तिन थालेको हो ।

पहिले गाउँमा सडक पुगेका थिएनन् । खानेपानीको सुविधा थिएन । गाउँमा मान्छे भने धेरैनै हुन्थे । अहिले घरको आँगनमै सडक पुगेको छ । आँगन छेउमै पानीका धारा बनेका छन् । तर त्यसको उपभोग गर्ने मान्छे भने बजार झरेका छन् । चिटिक्कका घर मक्किएर जीर्ण बन्दै छन् । खेती योग्य जमिन वनमाराले ढाकिएका छन् भने पशुचौपाया चर्ने वन जंगल बाक्लिएर डर लाग्दो बनेका छन् । पहिले बागलुङका अधिकांश नागरिक पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरुमा बजार मोह त्यत्ति थिएन । जिल्लाका सीमित ठाउँमा स-साना बजार थिए । त्यस बेला सना बजार रहेका ठाउँ अहिले सहरीकरण हुँदै गएका छन् । मध्यपहाडी लोकमार्गले जोडिएका ठाउँमा नयाँ बजार बन्दै गएका छन् ।

डेढ दशक पहिले जिल्ला सदरमुकाम बागलुङसतिह गलकोट र बुर्तिबाङ बजारका रुपमा थिए । ग्रामीण भेगबाट लोकमार्ग छेउछाउमा झरेर बस्न थालेपछि धेरै ठाउँ बजारका रुपमा विकास हुँदै छन् । अहिले दिनप्रति दिन गाउँ छोडेर बजार झर्नेको लर्कोनै लागेको छ । गाउँको कुना कन्दरासम्म सडकले जोडिए पनि स्थानीयको बजार मोहले गाउँ उजाड बन्न थालेका छन् । अहिले लोकमार्गमा पर्ने काठेखोलाको अक्षते, बडिगाडको हाँडीखोला, खर्बाङ, खार, खौलारा, निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोलालगायतका ठाउँमा बजार बस्दै छ । यता बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरा लगायतका ठाउँहरु बजार बन्दै गएका छन् । गाउँलेको बजार मोहले ग्रामीण क्षेत्र सुनसान बन्दै गएको गलकोट नगरपालिका-५ का विरबहादुर खत्रीले बताउनुभयो ।

खत्रीले आर्थिक अवस्था मजबुद भएकाहरु काठमाडौं, पोखरा, चितवन, भैरहवा र बागलुङमा बसाइँसराइ गरि गएको भन्दै सामान्य अवस्थाकाहरु पनि गलकोटलगायत मुख्य लोकमार्ग छेउमा सरेको बताउनुभयो । बसाइँसराइ जाँदा गाउँका घरहरु जीर्ण बन्दै गएको उहाँको भनाइ छ । पहिले निकै चहलपहल हुने गाउँ अहिले उराठलाग्दो भएको खत्रीले बताउनुहुन्छ ।  गलकोट क्षेत्रबाट अधिकांश नागरिकहरु जापान, कोरिया गएको हुँदा कमाएको पैसाले ठूला सहरमा सम्पत्ति जोडेर उतै बसाइँसराइ गरेको खत्रीले बताउनुभयो ।

खत्रीले भन्नुभयो - “१२/१५ वर्ष अगाडि गाउँ कति रमाइलो थियो, वरपर छरछिमेकी हुन्थे, मेलापात गर्ने, अर्मपर्म गरेर काम गर्ने गरिन्थ्यो, अहिले गाउँमा कसैलाई साह्रो गाह्रो परेर गुहार माग्नु पर्दा मान्छेनै पाइँदैनन्, अहिले गाउँमा कोही छैन, पहिले विदेश गएर आएर गाउँमै घर जग्गा जोड्ने चलन थियो, अहिले जो गाउँबाट विदेश जान्छ, उ आयो भने परिवारलाई लिएर बजारमै झर्छ, अब यसरीनै मान्छेहरुले बजार रोज्न थाले भने गाउँ पुरै रित्तिने जोखिम बढ्यो ।”

ढोरपाटन नगरपालिका-१ का स्थानीय मनबहादुर पुनले बुर्तिबाङ बजारमा हरेक वर्ष घर बन्ने क्रम बढि रहेको बताउनुभयो । १५ वर्ष अगाडि बुर्तिबाङ बसपार्क वरपर र उपल्लो बजारमा मात्रै घरहरु रहेकोमा अहिले घरैघरले खाली ठाउँ नरहेको उहाँको भनाइ छ । बसाइँसराइले गाउँ रित्तिने र बजार भरिने हुँदा उत्पादनमासमेत कमी आउने उहाँ बताउनुहुन्छ । आफू पनि गाउँबाटै बसाइँसराइ गरेर आएको भन्दै बजारमा घर बन्ने ठाउँ सकिएपछि खोला बगर क्षेत्रमासमेत खडेरी निर्माण हुन थालेको पुन बताउनुहुन्छ । विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरु अहिले बजार झर्न थालेपछि गाउँ रित्तिएर बजार भरिएको उहाँको भनाइ छ ।

“अहिले त गाउँमा पनि धेरै विकास भएको छ, आजभन्दा १२ वर्ष अगाडिसम्म गाउँमा मोटरबाटो पुगेको थिएन, मान्छेहरुले भारी बाेकेर दैनिक उपभोग्य सामान घरमा पुर्‍याउनु पर्थ्याे, घण्टौँ लाइन बसेर एक गाग्री पानी भर्नु पर्ने अवस्था थियो, र पनि मान्छेहरु धेरै थिए गाउँमा,” पुनले भन्नुभयो - “तर अहिले घरघरमा धारा बनेका छन्, घरै अगाडि गाडी गुड्ने सडक छ, पहिलेको जस्तो भारी बोक्नु पर्ने अवस्था छैन र पनि मान्छेहरु गाउँमा बस्दैनन् ।”

पहिले गाउँमा सामान्य सुविधा नहुँदा स्थानीयहरु बाध्यताले बजार झर्ने गरेको भन्दै अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै गएको तमानखोला गाउँपालिका-५ का निमबहादुर सिर्पालीले बताउनुभयो । बसाइँसराइँ रोक्नका लागि सरकारले विकाससँगै नागरिकलाई आय आर्जनसँग जोड्ने र रोजगारको अवसर दिनु पर्ने उहाँको भनाइ छ । उत्पादनका हिसाबले गाउँ धेरै उर्वर रहेको भन्दै कृषि र पशुपालनमा आधुनिकीकरण गर्न सके बसाइँसराइ रोख्न सकिने सिर्पाली बताउनुहुन्छ । धेरै जसो मानिसहरु सेवा सुविधा कै लागि बजार झर्ने गरेको उहाँको भनाइ छ ।

सिर्पालीले भन्नुभयो - “सहर बजारमा भन्दा गाउँमा धेरै संभावना छ, मानव जातिलाई चाहिने हरेक वस्तु गाउँमा उत्पादन हुन्छ, तर अहिले आयातित सामान बढी प्रयोग हुनाले सहरमा धेरैको आकर्षण बढेको हो, राज्यले गाउँका पाखपखेरालाई उत्पादनसँग जोड्ने, गाउँलेलाई रोजगार दिन सके, बसाइँसराइ रोकिन्छ, विकासका हिसाबले सडक, विद्युत, स्वास्थ्य, शिक्षालगायत अरु विकास पुगेको छ, यसलाई गुणस्तरीय बनाउन सके गाउँ रित्तिने छैन ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?