डोजरले पुर्‍याे पधेंरा र ढुंगेधारा : नासिन थाले गाउँका सम्पदा

फोटो : ढुङ्गे धाराबाट पानी पिउँदै बटुवा ।

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 16 mins

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रहरुबाट ढुंगेधारा र पधेंराहरु लोप हुँदै गएका छन् । ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका परम्परागत पधेंरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेपछि । ग्रामीण सौन्दर्य पनि नासिदै गएको छ । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पधेँरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका स्थानीयले बताएका छन् ।

बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुङ्गेधाराहरू भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदाहरु लोप हुँदै गएका बेनी नगरपालिका २ बगरफाँटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दाले बताएका छन् । अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएका बेनी नगरपालिकाका इन्जिनीयर विमलरञ्जन कार्कीले बताउनुभयो ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौं पँधेरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने म्याग्दीको इतिहास र संस्कृतिका अध्येता कृष्णवहादुर बानियाँले बताउनुभयो ।

ढुङ्गेधारा र पँधेरा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि हराउँदै गएको स्थानीय बूढापाकाहरु बताउँछन् । “उकाली ओराली गर्दा आँत हरर्र हुन्थ्यो, बेनपा २ का ९७ वर्षीय खड्गबहादुर थापाले भन्नुभयो – “त्यतिबेला अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द अब कहाँ खोजेर भेटिएला र ?”

अब ‘गाउँ’ गाउँ जस्तै नरहेको र गाउँको मौलिकता नै हराएर कुरुप बनेको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । “न गाउँ गाउँ जस्तो रह्यो न त शहरको सुविधा नै गाउँले पाउन सक्यो,” मंगला गाउँपालिका रणवांगका ७५ वर्षीय हरिकृष्ण पौडेलले भन्नुभयो – “सम्पदा नासिए, संस्कृति मासियो, गाउँ अधकल्चो जस्तो भयो ।” पानी पँधेरो र ढुङ्गेधाराहरुसँग गाउँको संस्कृति, सभ्यताको अनन्त साइनो रहेको बताउने पौडेलले गाउँको सभ्यताको शुरुआत नै यस्तै सम्पदाहरुबाट भएको ठान्नुहुन्छ । दुई दशक अघिसम्म ग्रामीण महिलाका लागि पानी पँधेरो नै दुःखसुख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको थियो । पौडेलले पँधेरा र ढुङ्गेधाराहरु केवल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका उल्लेख गर्नुभयो ।

अहिले गाउँमा पँधेरा र ढुङ्गेधाराहरु मात्र होइन ढिकी, जाँतो ,पानीघट्ट, ओखल र कोलहरु पनि लोप भइसकेका छन् । आयातित संस्कृतिले गाउँलाई कुरुप बनाउँदै लगेपछि गाउँवासीहरुमा अपनत्व र भ्रातृत्व भावमा पनि कमी देखिँदै गएको छ । सामूहिकतामा विश्वास गर्ने गाउँलेहरुको विश्वास भाँचिदै गएपछि एकाङ्कीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरु पनि व्यापारी जस्ता बन्दै जान थालेका स्थानीय वयोवृद्धहरु बताउँछन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदाहरुमा हराउँदै गएको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीका ६ वटै स्थानीय तहमा ‘एक घर एक धारा’ निर्माण अभियान सञ्चालन भइरहेको छ । घरघरमा धारा बनाउन थालेपछि कतै कतै मात्र भेटिने पँधेराहरु पनि प्रयोगविहीन अवस्थामा पुगेका गाउँलेहरुले बताएका छन् ।
“पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,” ज्यामरुककोटका हरिप्रसाद सापकोटाले भन्नुभयो – “अब ती सबै परम्पराहरु एकादेशका कथा जस्तै भैसके ।”

गाउँघरमा डोजर लगाएर बाटो खन्ने चलन शुरु भएसँगै ग्रामीण मौलिक सम्पदाहरुको विनाश हुने क्रम पनि शुरु भएको म्याग्दीका जेष्ठ नागरिकहरुको भनाइरहेको छ ।

बेनी नगरपालिका ७ का ८४ वर्षिय नैनकुमार श्रेष्ठले भने “गाउँघरमा सडक पु¥याउन पाए अरु केही चाहिन्न भन्ने मानसिकताले गाउँलेहरुले ग्रामीण जीवन पद्धतिका परम्परागत सम्पदाहरु पँधेरा, ढुङ्गेधारा, चौतारी, पोखरी, कुवा, पाटी, पौवा जस्ता नेपाली ग्रामीण परिवेशका अमूल्य सम्पदाहरुको संरक्षणमा ध्यानै दिएनन्, ” श्रेष्ठले भन्नुभयो – “गुमेका सम्पदाहरु त गुमे गुमे बचेका सम्पदाहरुको संरक्षणमा स्थानीय तहहरुले नै ध्यान दिन जरुरी छ ।”

म्याग्दीका स्थानीय तहका केही जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षण गर्न अभियान नै सञ्चालन गरेका छन् । बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका विभिन्न ठाउँमा रहेका पँधेरा, चौतारी, पोखरी, पाटी, पौवाहरुको संरक्षणका लागि अभियान नै सञ्चालन गरेका छन् । सम्भव भएसम्म वडाको बजेट प्रयोग गर्ने र सम्भव नभए आफ्नै निजी खर्चमा समेत चौतारी, पोखरी, पँधेराहरुको पुनःनिर्माण गरेर सन्ततिहरुका लागि सुरक्षित राख्ने प्रयास गरेको उहाँले बताउनु ।
त्यसैगरी बेनी नगरपालिका ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले आफ्नो वडा भित्रका पुराना मठ मन्दिर,देवालय, चौतारी र ढुंगेधाराहरुको संरक्षण र मर्मत अभियान शुरुवात गरिसकेका छन् ।

बेनपा–६ का अध्यक्ष बानियाँ र बेनपा ७ का अध्यक्ष श्रेष्ठले जस्तै सबै स्थानीय तहका जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षणका लागि चासो राख्ने र त्यस्ता सम्पदाहरुलाई महत्व दिने हो भने ग्रामीण जीवनका अजस्र सोत बनेका रैथाने सीप, स्रोत, साधन, प्रविधि र सम्पदाहरु आगामी पुस्ताका लागि आफ्नो सभ्यता, संस्कृति र पितापुर्खाको जीवन पद्धति हेर्ने आँखिझ्याल सावित हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइलगायत कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदा लोप हुन थालेका हुन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्वका पाटी, पौवा, धर्मशाला, पँधेरा र ढुङ्गेधारा दिनप्रतिदिन हराउँदै जान थालेको स्थानीयवासीले बताएका छन् ।

बढ्दो जनसङ्ख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका यस्ता सम्पदा भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएकाले अहिले गाउँघरमा यी सम्पदा लोप हुँदै गएको बेनी नगरपालिका–४ सुर्केमेलाका शशीधर सापकोटाले बताउनुभयो ।
विगतमा सडक सञ्जाल र होटल रेस्टुरेन्टको सुविधा नभएकाले बटुवा तथा तीर्थयात्रीलगायतको सुविधाका लागि विभिन्न ठाउँमा निर्माण गरिएका यस्ता सम्पदा संरक्षणको अभावमा सङ्कटमा परेको उहाँको भनाइ छ । धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र तिर्खाएका बटुवालाई पिउनका पानी राखिदिने परम्परा अहिले हराएको छ ।

बाटोको छेउछाउमा पाटीपौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्ने बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने विश्वास रहेको बगरफाँटका भवेन्द्र विक्रम शाहले बताउनुभयो ।

बटुवा दिनभर हिँड्दा थकित हुने र बास बस्नका लागि बस्ती नभेट्टाउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरिएको उहाँको भनाइ छ । पहिलेपहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएकाले बटुवालाई बास बस्नका लागि धर्मशाला बनाइने गरिन्थ्यो ।

“पहिले त अहिलेको जस्तो होटल थिएनन्, सडकको सुविधा पुगेको थिएन, गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नुपर्थ्यो, हिँड्दाहिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो”, धार्मिक ग्रन्थका अध्येता समेत रहनुभएका शाहले भन्नुभयो “रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यतर्फ लागिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, एक÷दुई दिन लाग्ने ठाउँमा पनि एकैछिनमा पुग्न सकिन्छ ।”

ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै म्याग्दीमा यस्ता मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ । ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटीपौवा, धर्मशाला भत्किएका छन् भने केहीका अवशेषसमेत बाँकी छैनन् ।
ग्रामीण क्षेत्रका सौन्दर्य र आवश्यकतासँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएकोमा स्थानीयवासीले जोड दिए । यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण हराउँदै गएको धवलागिरि गाउँपालिका–७ का गोपाल आचार्यले बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौँ पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा सङ्कटमा परेको उहाँकोे भनाइ छ ।
स्थानीय सरकारले उच्च स्थानमा अनावश्यकरूपमा कङ्क्रिटका भ्यूटावर निर्माण गर्छन् तर यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिँदैनन् । लाखौँ रुपैयाँ खर्चेर भ्यूटावर निर्माण गर्नुभन्दा यस्ता पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको बुढापाकाहरु बताउँछन् ।

ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै कङ्क्रिटका पक्की घर निर्माण हुनेक्रम बढ्दै गएको छ । घरभित्रै बाथरुम (स्नान कक्ष), शौचालय र भान्छामा नै पानीको धारा भएपछि गाग्री बोकेर पँधेरामा पानी लिन जाने झन्झटबाट गृहिणीले मुक्ति पाए पनि ग्रामीण सौन्दर्यका चिनारी पँधेरा र ढुङ्गेधारा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि नासिएको छ ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको र अव्यवस्थित रुपमा खनिएका मोटरबाटो तथा पाइपमार्फत घरघरमा पानी पु-याउने होडबाजीमा कतिपय जलसम्पदा पुरिएका छन् ।

ग्रामीण भेगमा रहेका कैयौँ पँधेरा र ढुङ्गेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदा देख्न नपाउने हुँदा भएका सम्पदाको संरक्षण गर्न स्थानीय तहले नै सक्रियता देखाउनुपर्ने उनीहरुको भनाइ थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?