खडेरी लम्बिँदा किसान चिन्तित, सुक्न थाल्यो बाली

Read Time = 2 mins

-प्रकाश मैनाली

सर्लाही । झमझम झरी पर्नुपर्ने साउन महिनामा खडेरी लम्बिँदा सर्लाहीका किसान चिन्तित बनिरहेका छन् । यहाँ दिउँसोपख चैत, बैशाखमा जस्तो पूर्वी सुख्खा हावा चल्ने गरेको छ । साँझपख उत्तरतर्फबाट चिसो हावा बहने गरेको छ । उत्तरी सीमावर्ती क्षेत्र सिन्धुलीको मरिण, क्यानेश्वरलगायतका क्षेत्रमा वर्षा भइरहे पनि सर्लाहीमा भने खडेरी परिरहेको छ ।

पटक-पटक मौसम धुम्मिएर पानी पर्लाजस्तो भएपनि पर्न सकेको छैन् । सर्लाहीको मौसम आज पनि धाम्मधुम्म नै छ । यहाँ बिहानमा हावा नचलेर हपक्क गर्मी छ । पानी नपर्दा अधिकांश फाँटमा रोपाइँ हुन नपाएर खेत बाँझै छ । रोपिसकेको धान पनि पानी नपर्दा सुक्न थालेको छ ।

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द यादवले साउनमा खडेरी जाँदा किसानको बिजोक नै भएको बताउनुभयो । उहाँले मनुष्मारा र बागमती सिँचाईको नहर लाग्ने तथा पप्पसेट र स्यालो ट्यूबेल सुविधा रहेको क्षेत्रमा ६० देखि ७० प्रतिसत खेतमा रोपाइँ भएपनि आकाशको पानी कुरेर रोपाइँ हुने क्षेत्रमा मुस्किलले २५ देखि ३० प्रतिसत मात्रै रोपाई भएको जानकारी दिनुभयो । पानी नपर्दा धान खेती मात्रै नभएर मकै बाली पनि सुक्न थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?