म्याग्दीमा ८८ प्रतिशत रोपाइँ बाँकी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । आज असार १५ । २० औं राष्ट्रिय धान दिवस । मध्य असार वितिसक्दा पनि म्याग्दीको ८८ प्रतिशत खेत बाँझै छ ।

समयमै प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाइँ प्रभावित बनेको छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण मध्य असार सम्म जम्मा करिब १२ प्रतिशत मात्रै धान रोपाइँ भएको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार, जिल्लाको माथिल्लो भेगमा धान रोपाइँ दुत्र गतिमा भैरहेको भएपनि तल्लो भेगमा अझै धान रोपाइँ हुन सकेको छैन् । असारको सुरुवातमा प्रयाप्त बर्षा नभएको र वेशीका फाँटका खेतमा मकै खेती समेत भएकाले धान रोपाइँमा केहि ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिनुभयो ।

‘दुई दिनदेखि नियमित बर्षा भैरहेको छ, रोपाइँको लागि पानीको स्रोत बढेपछि रोपाइँ गर्न कृषकलाई भ्याइ–नभ्याई भएको छ, तल्लो वेशीको फाँटहरुमा अधिकाँशमा मकै खेती भएकाले पनि रोपाइँ केहि पछि धकेलिन्छ’–उहाँले भन्नुभयो । जिल्लाको अधिकाँश कृषकहरु सिचाई सुविधाको अभाबको कारण खेत रोपाइँको लागि बर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ । मुल फुट्ने गरि बर्षा नभएसम्म रोपाई सुचारु गर्न नसकिने किसानहरुको भनाई छ । केहि बर्षअघि सम्म जेठ महिनाको अन्तिमबाट नै धान रोपाइँ हुने गरेकोमा अहिले मध्य असारमा समेत धमाधम धान रोपाइँ हुन नसकेको कृषकहरूको भनाइ छ ।

जिल्लामा जम्मा १ हजार ६ सय ८० हेक्टर जमिनमा मात्रै बाह्रैमहिना सिंचाइको पहुँच पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको उच्च पहाडी केही भाग बाहेक अधिकाँश क्षेत्रमा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार जिल्लाको ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा धान रोपाइँ हुने गरेको छ । त्यसमध्ये आजसम्म जम्मा करिव १२ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । ज्ञान केन्द्रका प्रमुख सिग्देलका अनुसार गत वर्ष यही समयमा ४० प्रतिशत खेतीयोग्य भूभागमा धान खेती भएको थियो । यो वर्ष पर्याप्त वर्षा नहुँदा धान खेतीका लागि आवश्यक पर्ने पानीको जोहो हुन सकेको छैन ।

नेपालमा एक साताअघिदेखि नै मनसुन सुरु भए पनि म्याग्दीमा हालसम्म पर्याप्त पानी परेको छैन ।  पानी नपर्दा पानीका मुहान सुकेर कुलो तथा नहरमा पानी बगेको छैन । यसले म्याग्दीका धान खेती गर्ने किसानले समयमै धान रोप्न नपाउने हो कि भन्ने चिन्ता गर्न थालेका छन् ।

‘यो वर्ष पानी नपरेकाले धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताउनुभयो । ‘यो वर्ष पानी राम्रोसँग परेको छैन ’ उनले भने ‘किसानले बनाएका धानको ब्याड छिप्पिएको छ । पानी नपर्दा कतिपय स्थानमा अझैँ ब्याड राख्न बाँकी छ ।’
म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातको धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेतीसमेत हुन्छ ।

प्रतिकुल मौसमका कारण यस वर्ष मकै उत्पादन पनि घट्ने अनुमान छ । यस वर्ष नौ हजार ४३५ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको छ । गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।
मकै खेती भएका बगरफाँट,सिंगा र पुलाचारका फाँटमा अझैँ धान रोप्ने समय भए पनि मकै खेती नभएका फाँटमा भने धान रोप्न ढिलाइ भएको किसानको भनाइ छ ।

समयमै धान रोप्न नपाउँदा धानको उत्पादन घट्ने किसानको भनाइ छ । यो वर्ष समयमै पानी पनि नपर्ने र मल पनि नपाउने समस्याले धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए । समयमा मल पनि नपाउने र समयमा धान रोप्न नपाउने समस्याले उत्पादन घट्न सक्छ, रिजालले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?