गठबन्धनलाई ओलीको प्रश्न : म प्रधानमन्त्री बन्छु, तपाईंहरूको उम्मेदवार को हो ?

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभएको छ । सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि आफू प्रधानमन्त्री बन्ने भन्दै सत्ता गठबन्धनलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्न चुनौतीसमेत दिनुभयो । ‘चुनावपछि म प्रधानमन्त्री बन्छु । म गठबन्धनको निर्णय सुन्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘को हो तपाईंहरूको प्रधानमन्त्री ? कांग्रेसका थुप्रै मान्छेले मै प्रधानमन्त्री भनिराखेका छन् । माओवादीका पनि प्रचण्डले भनिराखेका छन् ।’ उहाँले गठबन्धनमा विचार र गन्तव्य नभएको आरोप लगाउनुभयो । ओलीले संविधान उल्लंघन गर्ने काम आफूहरूले नगरी सत्तारूढ गठबन्धनले गरेको आरोप लगाउनुभयो । संविधानमै नभएको परमादेशबाट सरकार बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले संविधान कुल्चिने काम गरेको उहाँको तर्क छ ।

अध्यक्ष ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले नेपाली कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुने दाबी गर्नुभयो । गठबन्धनवालाहरूको मत सर्वेक्षणले एमालेले कांग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले सर्वेक्षण नै गलत रहेको जिकिर गर्नुभयो । एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरूलाई पनि सामेल गरेर सरकार बनाउने उहाँको भनाइ छ । ‘अहिले गठबन्धनले विभिन्न प्रकारका सर्भे भन्दै परिणाम बाहिर ल्याइरहेको छ । एमालेलाई कांग्रेसको हाराहारीमा देखाउने कोसिस भइराखेको छ,’ उहाँले भन्नुभयो, ‘त्यो कुरा गलत हो । नेकपा एमाले अहिले कांग्रेसको हाराहारीमा होइन । अत्यधिक मार्जिनले कांग्रेसभन्दा अगाडि हुन्छ । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ ।’ ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत् फिर्ता ल्याउने जवाफसमेत फर्काउनुभएको छ ।

कांग्रेस प्रवक्ताको जवाफ : चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्छ, देउवा प्रधानमन्त्री
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि पनि देशमा कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कांग्रेसको नेतृत्व सहिष्णु रहेको र काम बढी कुरा कम गर्ने भएकाले नै नेपाली जनताले सत्तामा चाहेका बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने उहाँको भनाइ छ । संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको उहाँले बताउनुभयो । ‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ । काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ ।’

चुनावपछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने उहाँको भनाइ छ । बुधबार बुटवलमा पुगेर उहाँले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने भएकाले जनमत र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री बन्ने बताउनुभएको थियो ।

हामी रेल र पानी जहाजका कुरा गर्दैनौँ, जे कुरा गर्छौं त्यो पूरा गर्छौं : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूले निर्वाचनमा ठूला आश्वासन नदेखाउने तर देखाएका आश्वासन पूरा गर्ने बताउनुभएको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले चुनावी अभियानका क्रममा पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरूले रेल र पानी जहाजका कुरा नगर्ने तर, जे कुरा गरिन्छ त्यो पूरा गर्ने बताउनुभयो । ‘हामी रेल र पानी जहाजका कुरा गर्दैनौँ, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं,’ उहाँले भन्नुभयो, ‘देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?