प्रधानमन्त्रीको चीन भ्रमण

नाम मात्रैका सम्झौता र समझदारी, महत्वपूर्ण मुद्दामा मौन

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । नेपाल र चीनबीच सामान्य विषयमा विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा सोमबार दुई देशबीच सामान्य विषयमा १२ सम्झौता र एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेटहल अफ दी पीपलमा भएको द्विपक्षीय वार्तापछि दुई देशका प्रतिनिधिबीच विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा केही महत्वपूर्ण विषयमा समझदारी हुने ठानिएको थियो । तर, सम्झौता र समझदारीमा उल्लेख भएका विषयमा भने नाम मात्रैका छन् । महत्वपूर्ण विषयमा सम्झौतामा केही उल्लेख छैन ।

चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतामा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गर्नुभयो । नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ । त्यसैगरी, चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषयमा दुई देशका अधिकारीबीच हस्ताक्षर भएको छ । त्यसैगरी, चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ ।

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ ।

चिनियाँ प्रेस तथा प्रकाशन विभाग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । यस्तै, प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीले बोलेकै कुरा अटेनन्
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा केही महत्वपूर्ण विषयमा समझदारी हुने अपेक्षा गरिएको थियो । तर, सोमबार भएका सम्झौता भने सामान्य छन् । यसमा अपेक्षा गरिएका कुनै पनि एजेण्डा छैनन् । चीनले गर्दै आएको सहयोग र पूर्वाधार निर्माण ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजनाबारे कतै केही उल्लेख छैन । चीन भ्रमणमा विद्युत् व्यापारका एजेण्डाहरूले प्राथमिकता पाउने अपेक्षा थियो । तर, समझदारीमा यसबारे पनि केही उल्लेख छैन । पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान, चिनियाँ नाका खोल्नेबारे पनि समझदारीमा केही उल्लेख छैन । जबकि स्वयं प्रधानमन्त्री प्रचण्डले भ्रमणअघि महत्वपूर्ण एजेण्डामा छलफल हुने बताउनुभएको थियो । संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले ‘नेपालको सामाजिक आर्थिक विकासका लागि चीन-नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने’ बताउनुभएको थियो । प्रधानमन्त्रीले नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयसमेत आफ्नो भ्रमणका एजेण्डामा रहने बताउनुभएको थियो । यसैगरी, सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषयसमेत प्राथमिकतामा रहने उहाँको भनाइ थियो ।

बेइजिङमा प्रचण्डलाई राजकीय सम्मान
मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई ग्रेटहल अफ दी पीपलमा राजकीय सम्मान (गार्ड अफ अनर) प्रदान गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई सोमबार चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार नै राजधानी सहर बेइजिङमा रहेको तियानमेन स्क्वायरमा पुगेर शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले तियानमेन स्क्वायरमा रहेको राष्ट्रिय शहीदहरूको स्मारकमा श्रद्धाञ्जलि अर्पणसहित माल्यार्पण गर्नुभयो । तियानमेन स्क्वायरमा चिनियाँ जनक्रान्तिका सर्वोच्च नेता माओत्सेतुङको स्मारकसमेत छ । उहाँले छोङछिङ महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकनसमेत गर्नुभयो । आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि उहाँले जानकारी लिनुभयो ।

राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट दाहाल १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन शनिबार हाङचउ पुग्नुभएको थियो । उद्घाटनको साइड लाइनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता भएको थियो । उहाँ असोज १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । हाल चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा स्वागत गर्दै उहाँले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको आफूले महसुस गरेको बताउनुभयो । प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याएको उहाँले बताउनुभयो । प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नुभयो ।

नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष लेजीसँग भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजी बीच भेटवार्ता भएको छ । सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो । भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महŒव दिएको भन्दै अध्यक्ष लेजीसँग प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उपलब्धिमूलक भएको बताउनुभयो । नेसनल पिपुल्स कंग्रेस नेपालसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?