झुटा आश्वासनहरूलाई जनताले सधैँ किन पत्याउने ?

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

निर्वाचन नजिकिँदै गर्दा देशका सबै पार्टीहरू र निर्वाचनमा प्रतिस्पर्धी दलका नेताहरू अहिले जनतालाई सुविधा थप्ने विकासलाई चकाचौध पार्ने भनेर फेरि पनि नक्कली आश्वासन र प्रतिबद्धता सार्वजनिक गर्दैछन् । यसअघि सत्तामा रहेका दलहरूका नेताहरूलाई प्रश्न छ लामो समयसम्म सत्तामा रहँदा त्यो काम किन भएन ? ती सुविधा किन थपिएनन् ? बाख्रालाई खोरमा थुन्न राम्रो हरियो घाँस देखाएर लोभ्याए जस्तै नेताहरूले जनतालाई फेरि पाँच वर्ष धोका दिन अनेक प्रकारका मनगणन्ते आश्वासनहरू बाँडदै छन् ।

जनताले कांग्रेस, एमाले, माओवादी जस्ता तथाकथित ठूला पार्टीहरूलाई सोध्न सक्नुपर्छ कि गत निर्वाचनका घोषणापत्रहरूमा उल्लेख भएका प्रतिबद्धता, संकल्पहरू कति पूरा भए ? यदि पूरा भएका छैनन् भने किन पूरा भएनन् ? पूरा गर्न सकिने प्रतिबद्धतालाई किन पूरा गरिएन ? पूरा गर्न नै नसक्ने विषय किन घोषणापत्रमा उल्लेख भए ? यसअघि बारम्बार झुठा आश्वासन जनतालाई किन दिइयो ? यी र यस्ता विषयलाई निर्वाचनको पूर्वसन्ध्यामा जनताले जबर्जस्त उठाउन सक्नुपर्छ । प्रतिबद्धता गर्ने तर त्यसलाई कहिल्यै पूरा नगर्ने पार्टीहरू, नेताहरूलाई मतदाताले दण्डित नगर्दा नेताहरू जथाभावी बोल्ने, हुनै नसक्ने आश्वासन दिएर जनतालाई सधैँ ठग्ने, छल्ने र ढाँट्ने काम गरे ।

अहिले देशमा निर्वाचित तानाशाहहरूको बिगबिगी छ । नेताहरूको बोलीमा न ओझ छ न विश्वास । नेताहरूले बोल्ने के ? किन बोल्ने ? बोलीको अर्थ र महत्वलाई बुझाउन र प्रजातान्त्रिक पद्धतिमा जनता नै निर्णायक र सार्वभौम हुन् भन्ने कुरा प्रमाणित गर्न यसपटकको निर्वाचनले दशकौंदेखि एकलौटी प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई पराजित गरेर सबक दिनुपर्ने भएको छ । जनता र देशलाई धोका दिने ठूला दलका नेताहरूलाई यसपटक मत नदिएर दण्डित गर्नैपर्छ ।

सधैँ घोषणापत्रमा उल्लेख गर्ने तर ती प्रतिबद्धता पूरा कहिल्यै नगर्ने दलहरूलाई जनताले उनीहरूको विपक्षमा मतदान गरेर दण्डित गर्ने काम यदि गरेनन् भने यो झुटो आश्वासन दिएर भोट हात पार्ने र ढुकुटीमा रजाइँ गर्ने परिपाटी सधैँ कायम रहन्छ ।

निर्वाचनले खराबलाई दण्डित र असललाई पुरस्कृत गरेन भने निर्वाचनको के अर्थ र औचित्य ? निर्वाचनलाई सार्थक बनाउन जनतामा मात्रै होइन राजनीतिक कार्यकर्तामा समेत सचेतनाको नितान्त जरुरी छ । पार्टीका नेताहरूका झुठा आश्वासन, उनीहरूको भ्रष्ट चरित्र र कुशासनको विषयमा खुलेर विरोध गर्ने काम कार्यकर्ताले नगर्दासम्म नेतृत्वले गलत बाटो परित्याग गर्दैन । त्यसैले पार्टीका नेताहरूबाट भएको अनियमितता, भ्रष्टाचार र कुशासनको कारण कार्यकर्ताको स्वार्थ पनि प्रमुख जिम्मेवार छ । सबैका स्वार्थले जनता र देशलाई हरि कंगाल बनाउने वर्तमान प्रजातान्त्रिक व्यवस्थाका विषयमा अब समयमै सुधारको जबरजस्त प्रयास भएन भने देश दुर्घटनाग्रस्त हुन्छ ।

देशलाई दुर्घटनाग्रस्त बनाउने कि दुर्घटनाग्रस्त हुनबाट जोगाउने भन्ने निर्णय यो निर्वाचनले गर्छ । निर्वाचनलाई प्रभावित गर्ने घोषणापत्रका विषयमा समीक्षा, टिप्पणी, आलोचना, समालोचना गरेर दलहरूलाई कसरी दण्डित र पुरस्कृत गर्ने भन्ने रणनीतिको अख्तियारी निर्वाचनले गर्ने परिस्थिति यदि बन्दैन भने त्यो निर्वाचन जनता र देशका लागि धोका हो । देशको साधनस्रोतको चरम दुपरुयोग हो । घोषणापत्रलाई श्राद्धमा बिरालो बाँध्ने शैलीमा प्रयोग गर्ने दलका नेताहरू ऐन मौकामा दण्डित नहुँदा हाम्रो राजनीति दुर्गन्धित भएको छ । राजनीति प्रदूषित हुनमा धेरै वर्षसम्म एउटै व्यक्ति निर्वाचित हुने परिपाटी पनि विशेष जिम्मेवार छ ।

यस सन्दर्भमा अमेरिकी लेखकको भनाइ अत्यन्तै व्यावहारिक तथा सान्दर्भिक देखियो । उनका अनुसार नेता र डाइपर उस्तै–उस्तै हुन् । दुबैलाई चाँडै फेर्नुपर्छ अन्यथा दुर्गन्धित हुन्छन् भन्ने भनाइलाई यसपटक नेपाली मतदाताहरूले व्यवहारमा रूपान्तरण गर्न सक्नुपर्छ । यदि यसलाई मतदाताले यसपटक पनि व्यवहारमा अनुवाद गरेनन् भने फेरि जनताले पाँच वर्षसम्म पछुताउनुपर्छ । देश पचास वर्षपछि धकलिन्छ । अहिलेको पुस्ताको गल्तीले भावी पुस्ता दण्डित हुने निर्णय मतदाताले गर्नहुँदैन । हुन त नेपालमा निर्णायक मतदाताको हैसियतमा जनता नभएको अवस्थामा यस्ता प्रश्नहरू जनताको तहबाट उठ्न नै नसक्ने अवस्था पार्टीहरूले बनाएका छन् ।

नेपालमा निर्णायक मतदाताको भूमिकामा जनता नभएर कार्यकर्ता भएको अवस्थामा जनताले पार्टीहरूलाई दण्डित गर्न नसक्ने दुर्भाग्यपूर्ण अवस्था सिर्जना गरेका कारण सधैँ भ्रष्ट निर्वाचित हुने अवस्था परिवर्तनका लागि दुर्भाग्यपूर्ण बनेको छ । अहिले निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन सबै पार्टीहरूले जनतालाई विविध प्रकारका सुविधाहरू आफ्ना घोषणापत्रमा उल्लेख गरेका छन् । सधैँ घोषणापत्रमा उल्लेख गर्ने तर पूरा कहिल्यै नगर्ने दलहरूलाई जनताले उनीहरूको विपक्षमा मतदान गरेर दण्डित गर्ने काम यदि गरेनन् भने यो झुटो आश्वासन दिएर भोट हात पार्ने र ढुकुटीमा रजाइँ गर्ने परिपाटी सधैँ कायम हुने हुँदा यसपटक यस्ता मनगणन्ते आश्वासन बाँड्ने दल र तिनका नेताहरू पराजित हुनैपर्छ ।

सुविधा थप्ने कुरा निर्वाचनकै बेला किन ? मानौँ सुविधा त थप्ने सुविधा थप्ने स्रोत के ? यस विषयमा नेताहरूको र पार्टीहरूको स्पष्ट दृष्टिकोण छैन । स्रोत वृद्धिको ठोस योजनाविनाको सुविधा वृद्धि भनेको जनतालाई कंगाल बनाउने रणनीति हो । राज्यले सुविधा थप्ने भनेको करका दरमा वृद्धि हो । जनताको आम्दानीका स्रोतहरूको वृद्धि नगरिकन हुने कुराले जनता करबाट आहत हुन्छन् । सुविधा थप्नुभन्दा पहिल्यै जनतालाई अधिक कर तिर्न सक्ने क्षमता वृद्धि गर्ने योजना बन्नुपर्छ । जनताको आय दिनप्रतिदिन घट्दो छ । यस्तो अवस्थामा वृद्धि हुने करका कारण जनता छट्पटीमा छन् । करको दुरुपयोग अर्को प्रमुख समस्या छ । तसर्थ जनता कर तिर्न कत्ति पनि इच्छुक छैनन् ।

यसको मुख्य कारण हो सरकारका साधन र ढुकुटीको चरम दुरुपयोग । त्यसैले सरकारका संयन्त्रहरूलाई सर्वप्रथम पारदर्शी, मितव्ययी बनाऊँ । त्यसपछि अवसर वृद्धि गर्ने योजना ल्याऊँ । ताकि जनताको कर तिर्न सक्ने क्षमता अभिवृद्धि हुन सकोस् । जनताको आम्दानी वृद्धि नगरिकन राज्यको आम्दानी कसरी बढ्छ ? राज्यको आम्दानीलाई वृद्धि नागरिकन सुविधा कसरी बढ्छ ? आम्दानी नै नबढाइकन कसरी सुविधा थपिन्छ ? यस्ता सुविधा थप्ने नक्कली कुरा गर्नेहरूलाई मतदान गर्ने हो भने देशको स्थिति थप लथालिंग हुन्छ ।

यस्ता आश्वासनले देशलाई श्रीलंका बनाउँछ । अब श्रीलंका बनाउन उद्यत दलका नेताहरूलाई जनताले मतदान गरेर आफ्नै खुट्टामा आफैँले पक्कै बञ्चरो हान्ने छैनन् । अहिले परिवर्तनका लागि झापा, डडेलधुरा र गोर्खाका मतदाता विशेष सचेत हुनुपर्छ । ती निर्वाचन क्षेत्रबाट विगतमा देशलाई धोका दिनेहरू, भ्रष्टाचार, कुशासनका बादशाह पुनः निर्वाचित हुने अवस्था भयो भने निश्चित छ देश दुर्घटनामा पर्छ । उनीहरूको जित, नेतृत्व देश र जनताको दुर्भाग्य हो ।

अहिले नयाँनयाँ विकास र रोजगारीका अवसर खोज्न सक्ने त्यसलाई परिचालन गरेर देशभित्रै रोजगारी सिर्जना गर्ने कार्यक्रम कुन उम्मेदवारसँग छ ? त्यसैलाई मतदान गरौँ । पुरानाहरूको प्रतिबद्धता जनतालाई झुक्याएर फेरि देशलाई कंगाल बनाउने योजना भएकाले पुरानालाई मतदान गर्नु भनेको जनताले आत्महत्या गर्नु हो । डडेलधुरा, झापा र गोरखाका मतदातालाई किन्न धेरै पैसा बोकेर कुशासन र भ्रष्टाचारका बादशाह आएका छन् । तिनीहरूबाट पैसा सकेसम्म लिने र तिनीहरूलाई भोट नदिने काम यदि त्यहाँका मतदाताले गरेनन् भने तिनै पुरानाहरूको राज्यसत्तामा रजगज हुन्छ । जनप्रतिनिधि भनेको जनताका दुःख सुखमा साथ दिने हुनुपर्छ ।

सधैँ काठमाडौं बस्नेलाई ग्रामीण जनताले अब किन भोट दिने ? उनीहरूका गाउँका घर जसरी भत्केका छन् त्यसरी नै उनीहरूको राजनीतिलाई जनताले यसपटक भत्काउनुपर्छ । हिजो भेटसम्म नदिनेहरू निर्वाचनका बेला जनताको साखुल्य बनेर फेरि सत्ताको तर मार्ने साधन जनतालाई बनाउन गाउँगाउँमा नाच्दैछन् । यसपटक कुनै हालतमा यसअघि सत्तामा रहेर सत्ताको चरम दुरुपयोग गर्ने भ्रष्टाचारी र कुशासनका प्रतिमूर्तिलाई मतदाताले मतदान गर्नै हुँदैन । अहिलेसम्म सत्ता उपभोग गर्ने जति सबैले सत्ताको चरम दुरुपयोग गरेका कारण ती भ्रष्टहरूको पक्षमा जनताले मतदान गर्नु हुँदैन ।

अहिले मुख्य दलहरूको नेतृत्वमा रहने भ्रष्टाचारी उम्मेदवार सबै पराजित हुनुपर्छ । अन्यथा फेरि यिनी नै कथंकदाचित निर्वाचित भए भने निर्वाचनपछि यिनीहरू फेरि सत्ताको लुछाचुडी र ढुकुटीको लुटपाटमा लाग्छन् । यसर्थ झापा, डडेलधुरा र गोर्खाका मतदाताहरू विशेष सचेत हुनुपर्ने अवस्था छ । झापा, डडेल्धुरा र गोरखाका सचेत मतदाताहरूले विवेकलाई कसैको जिम्मा लगाउने छैनन् । परिवर्तन आफैँबाट सुरुवात गर्न ती क्षेत्रका मतदाताले घुस्याहाले बाँडेको रुपैयाँ लिने तर तिनीहरूलाई भोट दिने काम गरेनन् भने पक्कै निर्वाचनपछि नेपाली राजनीतिमा नयाँ सकारात्मक बाटो कोरिन्छ । अन्यथा यसअघि जस्तै भन्दा विकृतिपूर्ण नकारात्मक अवस्था देशले व्यहोर्नुपर्छ ।

एमाले, माओवादी र कांग्रेसको घोषणापत्रमा हिजो उल्लेख गरेका कामहरू यसअघि सत्तामा हुँदा किन पूरा भएनन् ? अब पूरा गर्ने के ग्यारेन्टी छ ? सधैँ नयाँ-नयाँ विषय घोषणापत्रमा समावेश गरेर जनतालाई लोभ्याउने तर कहिल्यै पनि प्रतिबद्धतालाई पूरा नगर्नेहरूले यसपटक पूरा गर्छन् भन्ने विश्वास जनतालाई कसरी र किन हुन्छ ? त्यसैले यसअघि सत्तामा रहेका व्यक्तिहरूको विपक्षमा मतदान गरेर जनताले परिवर्तन आफैँबाट सम्भव छ भन्ने कुरालाई जबरजस्त पुष्टि गर्नुपर्छ । पुराना र भ्रष्ट नेताहरूलाई मतदान गरेर मतदाताले देशलाई फेरि रसातलतिर पक्कै डोहो¥याउने छैनन् ।

देशको राजनीतिलाई आफ्नो ठेक्का सम्झने ठूला दलका नेताहरूलाई जनताले अहिले पनि दण्डित गरेनन् भने तिनीहरू कहिल्यै दण्डित हुँदैनन् । पार्टीका व्यक्तिले जे गर्दा पनि हुन्छ भन्ने सन्देश फेरि पनि गयो भने त्यस्तो अवस्था जनताको दुर्भाग्यको कारण र परिणाम हुन्छ ।

देशको राजनीतिलाई आफ्नो ठेक्का सम्झने ठूला दलका नेताहरूलाई जनताले अहिले पनि दण्डित गरेनन् भने तिनीहरू कहिल्यै दण्डित हुँदैनन् । पार्टीका व्यक्तिले जे गर्दा पनि हुन्छ भन्ने सन्देश फेरि पनि गयो भने त्यस्तो अवस्था जनताको दुर्भाग्यको कारण र परिणाम हुन्छ । अमेरिकी चर्चित लेखक मार्क ट्विनको भनाइ अत्यन्तै सान्दर्भिक लाग्यो । उनका अनुसार नेता र डाइपर एकै हुन् । यिनीहरूलाई सधैँ बदल्नुपर्छ । यिनीहरूलाई लामो समयसम्म प्रयोग गरियो भने यी दुर्गन्धित हुन्छन् । अहिले नेपालको अवस्था ठीक त्यस्तै छ । लामो समयदेखि सत्ताको बागडोर सम्हालेका नेताहरू सबै गनाएका छन् ।

ती गनाएका नेताहरू नफेर्दा राजनीति थप प्रदुषित हुने निश्चित छ । त्यसैले राजनीतिलाई थप प्रदूषित हुन नदिन जनताले पुरानालाई भोट नदिनुपर्ने अवस्था छ । पुराना नेताहरू नेपाली राजनीतिका धमिला मुहान हुन् । त्यसैले राजनीतिलाई कम प्रदूषित र सङ्लो बनाउन पनि तिनीहरू पराजित हुनैपर्छ । अहिलेको सन्दर्भमा पुराना नेताहरूको जित नै नेपाली जनताको हार हुने हुँदा जनताले आफैँले हार्ने गरेर मतदान पक्कै गर्ने छैनन् । सत्तामा हुने नेताहरूको आर्थिक अवस्थामा किन नाटकीय परिवर्तन भयो ? सँगसँगै जनताको आर्थिक अवस्था किन नकारात्मक भयो ? यो कोणबाट नेतृत्वलाई मूल्यांकन जनताले गरे भने पुरानाहरूको हार निश्चित छ ।

यो विवेक जनतामा विकसित हुन अनिवार्य छ । यसपटकको निर्वाचनमा सबै मतदाताले नयाँ पुस्तालाई मतदान गरेर पुरानो पुस्ताका काम कार्यबाही, कार्यशैली, जीवनशैली र व्यबहारबाट जनता रुष्ट छन् भन्ने कुरा मतदानबाटै प्रमाणित गर्न पक्कै पनि नेपाली मतदाता चुक्ने छैनन् । ठूला दलहरूका नेतृत्वमा रहेका र फेरि सत्ताको लुछाचुडीमै समय गुजार्ने नेताहरूको हार जनता र देशको जित हो । अब पुरानाहरूको अव्यावहारिक, झुटा आश्वासनलाई जनताले उनीहरूको विपक्षमा मतदान गरेर दण्डित गर्नुपर्छ ताकि राजनीतिमा ढिलै भए पनि परिवर्तन र शुद्धीकरणले सकारात्मक बाटो अख्तियार गर्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. हिमालय टाइम्स परिवारलाई हार्दिक धन्यवाद

रिलेटेड न्युज

छुटाउनुभयो कि ?