काठमाडौं-५ मा अनुभवी पोखरेललाई कांग्रसेका युवा नेता पौडेलको टक्कर

स्वतन्त्र उम्मेदवार बन्न सक्छन् चुनौती

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुलुकको राजधानीसमेत रहेको काठमाडौं जिल्लाका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर ५ को चर्चा र चासो पनि उत्तिकै छ । निर्वाचन क्षेत्र नम्बर ५ को चासो बढ्नुको मुख्य कारण नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको उम्मेदवारी हो । यो क्षेत्रको निर्वाचनमा विवेकशील पार्टीकी पूर्व नेतृ रञ्जु दर्शनाको उम्मेदवारीले पनि थप चासो बढाएको छ । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौं क्षेत्र नम्बर ५ मा पनि राजनीतिक दल र उम्मेदवार मतदाताका घरदैलोमा आ-आफ्ना चुनावी प्रतिबद्धतासहित पुगिरहेका छन् । क्षेत्र नम्बर ५ मा पनि अहिले चुनावी चहलपहल तीव्र छ । आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं-५ मा राजनीतिक दलहरूबाट १५ र स्वतन्त्र १४ गरी २९ जना प्रतिस्पर्धामा रहे पनि एमालेका उम्मेदवार ईश्वर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि, २०७४ सालमा यो क्षेत्रबाट एमालेका उम्मेदवार ईश्वर पोखरेल विजयी हुनुभएको थियो । २०६४ र २०७० मा पोखरेल कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग यही क्षेत्रमा पराजित हुनुभएको थियो । २०७४ मा शारीरिक अस्वस्थताको कारण आचार्यले चुनावी प्रतिस्पर्धा नै गर्नुभएन । त्यसको फाइदा पोखरेललाई पुगेको देखियो । त्यतिबेला पोखरेलले कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महतलाई झण्डै १० हजार मतान्तरले हराउनुभएको थियो । पोखरेलले २३ हजार २९ मत पाउँदा डा. महतले १३ हजार १६९ मत मात्र पाउनुभएको थियो । विवकेशील साझाका उज्ज्वल थापाले ६ हजार ८५३ मत पाउनुभएको थियो । थापा दिवंगत भइसक्नु भएको छ । यसपटक राजनीतिक परिदृश्य फरक छ । आसन्न निर्वाचनमा उक्त क्षेत्रमा नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ भने कांग्रेसलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गत निर्वाचनमा पराजय भोगे पनि आसन्न निर्वाचनमा गठबन्धनको साथ लिएर नतिजा उल्टाउने कांग्रेसका उम्मेदवार पौडेलको दाउ छ । उता, नेकपा एमालेका उम्मेदवार पोखरेल भने पार्टी बलियो संगठनको आडमा विरासत कायम राख्ने कसरतमा हुनुहुन्छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने १५ वडामध्ये एमालेले ११, कांग्रेसले तीन र स्वतन्त्रले एउटा वडामा जित हासिल गरेका थिए । स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कुल १७ हजार ९५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका वडाध्यक्षले एक हजार ८३९ र माओवादी केन्द्रले ७२० मत प्राप्त गरेका छन् ।

पोखरेलप्रति गुनासो, पौडेललाई टुरिष्टको ट्याग
चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा पनि चुनाव प्रचारप्रसार तथा घरदैलो अभियान तीव्र पार्दै गर्दा मतदाताहरू भने विभाजित देखिएका छन् । निवर्तमान सांसद पोखरेलप्रति यो क्षेत्रका मतदाताहरू असन्तुष्ट देखिएका छन् । उनीहरूले पोखरेललाई निर्वाचित भएपछि एकपटक पनि फर्केर नआएको गुनासो गरेका छन् । सडक, खानेपानी, ढल निकास, सार्वजनिक यातायात लगायतका कुनै पनि समस्या समाधान गर्न पोखरेल अग्रसर नभएको मतदाताको गुनासो छ ।

नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई भने नव आगन्तुकको ट्याग लागेको छ । मतदाताहरूले पनि पौडेल परिचित नभएको र अघिल्लो पटकका सांसद जस्तै त हुने हैनन् भनेर आशंका व्यक्त गरेका छन् । तर, कतिपय मतदाताहरूले भने पौडेल युवा भएको र यो क्षेत्रमा विकास गर्छन् कि भन्ने आशा व्यक्त गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पूर्व-अध्यक्षसमेत रहनुभएका पौडेलप्रति युवा मतदाताको भने आकर्षण देखिएको छ । यस क्षेत्रका कतिपय मतदातहरू भने राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारप्रति बढी आकर्षित देखिएका छन् । राजनीतिक दलका नेतालाई पटक पटक विजयी गराएर पठाएपनि न्याय नगरेकाले अब स्वतन्त्र व्यक्तिलाई अवसर दिनुपर्ने कतिपयको जिकिर छ । राजनीतिक दलका उम्मेदवारबाहेक निर्वाचन क्षेत्र ५ मा रञ्जु दर्शना, हेमराज थापा, श्री गुरुङ, सुशान्त श्रेष्ठ लगायतका स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ : पोखरेल
नेकपा एमालेको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गर्नुभएको छ । आसन्न निर्वाचन लक्षित काठमाडौं क्षेत्र नम्बर ५ मा घरदैलोको क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले उठाएका विषयहरू जनताले बुझेको जिकिर गर्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गर्दै पोखरेलले भन्नुभयो, ‘निर्वाचनमा गठबन्धनका तर्फबाट फैलाइएका त्रासहरू च्यातिन्छन् । एमालेले उठाएका राजनीतिक स्थायित्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक विकास र समृद्धि लगायतका मुद्दाहरूलाई स्थापित गरेरै छोड्छौँ ।’

भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन दिनुहुन्न : पौडेल
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन दिनु नहुने बताउनुभएको छ । यसका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको जिकिर गर्दै पौडेलले भन्नुभयो, ‘जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ  । यो चेतनाले भरिएको ठाउँ हो । यहाँबाट इमानले हार्ने र भ्रष्टाचार अनुमोदित हुने अवस्था नहोस् । स्वार्थका लागि बिचौलिया र दलालको नेताको परिभाषा परिवर्तन गरिनु आवश्यक छ ।’ उम्मेदवार पौडेलले एकपटक अवसर दिए अर्कोपटक भोट माग्न नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

क्षेत्र नम्बर ५ को भूगोल
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरका चार, बुढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन् । यो निर्वाचन क्षेत्रभित्र काठमाडौं महानगरका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?