मन्त्रिपरिषद् निर्णय : तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली स्वीकृत गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले यो निर्णय गरेको बताउनुभएको हो । यस्तै, बैठकले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६ देखि २९ गतेसम्म आयोजना हुने नेपाल–चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ गतेसम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानुन पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय भएको छ ।

बैठकले न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी सत्यनिरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राज सापकोटालाई कानुन न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिव पदमा र सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

प्रवक्ता शर्माले खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरूमा आर्थिक वर्ष २०८०/८१ का लागि अधिकृतस्तरका दुई सय ३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, भौतिक मन्त्रालयको प्रस्तावमा चीनको बेइजिङमा आउँदो असोज ८ देखि ९ गतेसम्म आयोजना हुने ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरम २०२३ मा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्द चापाईंलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको बताउनुभयो । यस्तै, सरकारले माथिल्लो दरौदी सी साना जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखाको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ४ दशमलव ९२४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा त्यो वन क्षेत्रमा रहेका रूखहरू हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका आयोजनाहरूका लागि आर्थिक वर्ष २०८०/८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका लागि ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?