काठमाडौं । सामाजिक सञ्जालमा परिवर्तन र विकल्पको बहस तीव्र भए पनि इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनले परम्परागत राजनीतिक शक्तिकै पक्षमा जनमत दिएको छ । इलामको प्रतिनिधिसभा सदस्य र बझाङको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । दुवैतिर निकटतम प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेस रहृयो । नयाँ र वैकिल्पक भनिएका दलहरूले जमानतसमेत जोगाउन नसकेपछि उपनिर्वाचनले पुरानै दलहरूमा ऊर्जा थपिदिएको छ ।
संविधान सभाका पूर्वअध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण इलाम २ मा उपनिर्वाचन भएको थियो । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी लगायतको दलीय प्रतिस्पर्धा भएको इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बूलेसम्म जमानत जोगाउन सक्नुभयो । राष्ट्रिय राजनीति र संसदीय अंकगणितमा निर्णायक हैसियत बनाएका रास्वपा, एकीकृत समाजवादी, राप्रपा र जनमत पार्टीको जमानत नै जफत भयो । विजयी नेकपा एमालेले २७ हजार ७७२, निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसले २१ हजार ९४२ र स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बूले ११ हजार ४५७ मत प्राप्त गर्नुभयो । जमानत जफत भएकामध्ये रास्वपाले पाँच हजार ५०, राप्रपाले ४०४, एकीकृत समाजवादीले ४०८ र जनमत पार्टीले ११८ मत प्राप्त गरे ।
बझाङमा प्रमुख दलहरूबीच गठबन्धन भएको थिएन । एमाले पहिलो र कांग्रेस दोस्रो हुँदा माओवादी तेस्रो र एकीकृत समाजवादी चौथो भए । राप्रपाले २४२ र जनमत पार्टीले २६ मत प्राप्त गरे । बझाङमा रास्वपाले उम्मेदवारी दिएको थिएन । उपनिर्वाचनको यस्तो परिणामले नेकपा एमालेलाई लाभ मात्रै मिलेको छैन वैकल्पिक राजनीतिको नारासँग जुध्न साहससमेत मिलेको छ । उपनिर्वाचन गुमाए पनि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू पनि हतास देखिँदैनन् । उनीहरू आफ्नो परम्परागत मत जोगिएको समीक्षा गरिरहेका छन् । ‘इलाममा हाम्रो मत जोगिएको छ । पहिलेदेखि नै हार्दै आएको ठाउँ हो । बझाङमा अलि मिहिनेत गरेको भए जित्ने रैछौँ । समग्रमा उपचुनाव हारे पनि कांग्रेस आत्तिएको छैन । उपनिर्वाचनको रुझानले कांग्रेसलाई भविष्यमा फाइदा नै हुने देखिन्छ’, कांग्रेसका एक नेताको भनाइ छ ।
पुरानालाई थियो दबाब
२०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदय भएको थियो । परम्परागत राजनीतिक शक्ति भए पनि सांगठनिक रूपमा कमजोर मानिएको राप्रपाले पनि तीन प्रत्यक्ष सिट जितेर ‘कमब्याक’ गरेको थियो । त्यसअघि २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि पुराना दलहरूमाथि राजनीतिक चुनौती बढेकै थियो । अघिल्लो वैशाखमा तनहुँ १ र चितवन २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भयो । दुवै क्षेत्रमा नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले जित हासिल गर्यो । चितवन २ को उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने ४३ हजार बढीको मतान्तरले विजयी हुनुभयो । तनहुँ १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले १४ हजार सात सयको अन्तरले विजयी हुनुभयो । दुवै परिणामले मूलधारको शक्ति मानिएका नेकपा एमाले र नेपाली कांग्रेसलाई स्तब्ध बनाएको थियो । त्यसयता रास्वपाले मिसन ८४ को उद्घोष गर्यो भने एमाले-कांग्रेसका गतिविधि पनि २०८४ को चुनाव लक्षित हुन थाले । मूलधारका राजनीतिक दलहरूप्रति जनताको भरोसा गुम्दो छ भन्ने भाष्य पछिल्लो एक वर्ष निकै विस्तार भयो । यो बीचमा सत्ता गठबन्धनको फेरबदलका घटनाले पनि परम्परागत राजनीति र दलप्रति वितृष्णा बढाउन मद्दत गरेको थियो । बढ्दो चुनौतीबीच कसरी आगामी राजनीति हाँक्ने भन्ने तनावमा रहेका कांग्रेस र एमालेका नेताहरूलाई उपनिर्वाचनको परिणामले भने ढाडस दिएको छ ।
इलामे जनमतको सन्देश
उपनिर्वाचन पूर्व इलामको जनमतबारे गरिएका अधिक आँकलनहरू परिणामले गलत सावित गरिदिए । मिसन ८४ मार्फत २०८४ को आमनिर्वाचनमा बहुमतको सरकार बनाउने घोषणा गरेको रास्वपाको प्रदर्शन सबैको चासोको विषय थियो । कोशी नामकरणपश्चात् घन्किएको पहिचानको नाराले पनि इलामको उपनिर्वाचन पुराना पार्टीहरूका लागि चुनौतीको विषय थियो । यद्यपि, इलाम २ का मतदाताले एमाले र कांग्रेसलाई नै मूलशक्ति बनाउने गरी जनमत दिएका छन् । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले इलामले पुराना र अनुभवी दलकै पक्षमा आफूलाई उभ्याएको बताउनुहुन्छ । उहाँको विचारमा नयाँ र वैकल्पिक भनिएका दलको जमानत जफत हुनुले नयाँ दलप्रति जनताको मोह छिट्टै भंग भएको बुझिन्छ । ‘इलामका जनताले यो देशको मूलधार भनेको एमाले र कांग्रेस नै हुन् भन्ने सन्देश दिएका छन् । सामाजिक सञ्जालमा आक्रामक प्रचार गरेर मिसन ८४ को नारा दिने पार्टीप्रति एक वर्षमै जनताले मोहभंग गरेका छन्’, वाग्लेले हिमालय टाइम्ससँग भन्नुभयो । आफूलाई वैकिल्पक शक्ति दाबी गरेका नयाँ दलहरू वर्षायामको बाढीजस्तै आएर खहरेमा परिणत भइसकेको वाग्लेको दाबी छ ।
इलामको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत भने सम्मानजनक रहेको देखिन्छ । जित्नका लागि पर्याप्त भए पनि स्वतन्त्र उम्मेदवार थेगिमलाई ११ हजार बढी मत दिएर इलामका जनताले पहिचानको मुद्दालाई जीवितै राखेका छन् । ‘पहिचानको मुद्दालाई इलामका मतदाताले जीवितै राख्नुभयो तर त्यो मुद्दा पनि एमाले र कांग्रेस जस्ता मूलधारकै दलहरूले बोक्नुपर्छ भन्ने सन्देश परिणामले देखायो’, वाग्लेले भन्नुभयो ।
सजिलो देखिएन नयाँलाई
इलाम उपनिर्वाचनले पुराना दलहरूलाई राहत दिए पनि नयाँ दलहरूको चुनौती भने बढाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले त ८४ मा हुने आमनिर्वाचनमा पनि यस्तै हालत हुनसक्ने औँल्याउनुभएको छ । ‘यही व्यवस्था र अवस्था रहने हो भने २०८४ मा केही नयाँ हुनेवाला छैन, झन् पुराना पार्टीहरूकै बिगबिगी हुनेछ’, राउतले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ । रास्वपाले पनि निर्वाचनको गहिरो समीक्षा गरेर अगाडि बढ्ने बताएको छ । सभापति रवि लामिछानेले उपनिर्वाचन जित्न नसके पनि सिक्न सकेको बताउनुभएको छ । महामन्त्री डा.मुकुल ढकालले विज्ञप्तिमार्फत उपनिर्वाचनले रास्वपामा कमी कमजोरी सुधार्ने अवसर प्राप्त भएको बताउनुभएको छ । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनु भएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ’, रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।
आगामी राष्ट्रिय राजनीतिको संकेत : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ को विजयले आगामी राष्ट्रिय राजनीतिको संकेत गरेको बताउनुभएको छ । इलाम-२ को उपनिर्वाचनको विजयी सभामा अध्यक्ष ओलीले अनेक भ्रम फैलाइरहेका बेला सुहाङ नेम्वाङले अत्यधिक मतले विजयी हुनु सानो कुरा नभएको जिकिर गर्नुभयो । पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमतिर संकेत गर्दै ओलीले व्यक्तिगत पहिचान बनाउन खोजे सफल नहुने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले ‘समृद्धि नेपाल र सुखी नेपाली’ पहिचान भएको धारणा राख्नुभयो । प्रदेशको नाममा पहिचानको कुरा नरहेको उहाँको भनाइ थियो । उहाँले इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले र नेम्वाङको जिम्मा आफूले लिने बताउनुभयो । ‘सुहाङ नेम्वाङले राम्रो काम गर्नुहुन्छ । नराम्रो काम गर्नुहुन्न’, उहाँले भन्नुभयो । नेम्वाङले चुनाव जितेपछि शिर झुक्न दिन्न भन्ने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष ओलीले ०४८ को मतदान जितेपछि आफूले गरेको प्रतिबद्धता स्मरण गर्नुभयो । ओलीले भन्नुभयो, ‘०४८ सालको चुनाव जितेपछि पहिलो भाषणमा मैले भनेको थिएँ । उहाँले त्यसै भन्नुभयो ।’ एमालेमाथि उठेको प्रश्नको जवाफ कार्यकर्ताले दिएको अध्यक्ष ओलीको जिकिर थियो ।
मतदाताको शिर झुक्न दिन्ः नेम्वाङ
इलाम-२ मा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले एक–एक मतको उच्च सम्मान गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले बुबा सुवास नेम्वाङले देखाएको बाटोमा काम गर्ने बताउनुभयो । इलामका मतदाताको शिर झुक्न नदिने उहाँको प्रतिबद्धता थियो । ‘बुबाले देखाएको उज्यालो बाटोमा काम गर्छु । तपाईंहरूको शिर झुक्न दिने छैन’, सुहाङले भन्नुभयो । नेम्वाङले अग्रजले व्यवस्था परिवर्तन गरेर धरातल बनाइदिएको र आफूलगायत युवा नेताले त्यही धरातलमा टेकेर सामाजिक र आर्थिक अवस्था परिवर्तन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो बुबाहरूको पुस्ता र अग्रज नेताले मुलुकमा व्यवस्था परिवर्तन गरेर हामीलाई सुनौलो व्यवस्था दिनुभएको छ । यसमा टेकेर अब हामी मुलुकलाई समृद्धि बनाउने छौँ ।’ नेम्वाङले समाजलाई इन्द्रेणीको उदाहरण दिएर चर्चा गर्दै भन्नुभयो ‘सात रंग मिलेर इन्द्रेणी बनेजस्तै हामी सबै मिलेर यो समाज बनेको छ । सबै समुदाय र जातको पहिचानको हक, अधिकार सुनिश्चित हुने संविधान बनेको छ । त्यसैले कसैलाई भ्रममा नपर्न म आग्रह गर्छु ।’
कांग्रेस र एमाले मूलधारका पार्टी हुन् भन्ने प्रमाणित : खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मूलधारका पार्टीहरू हुन् भन्ने प्रमाणित गरेको बताउनुभएको छ । मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताउनुभएको हो । उहाँले निर्वाचनले धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गर्नुभयो । सांसद खतिवडाले इलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको जिकिर गर्नुभयो । उहाँले उपनिर्वाचनबाट कांग्रेस, एमाले स्थापित भएका र चटकेहरू साइडमा आएको दाबी गर्नुभयो । सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरू ठिक हुने टिप्पणी गर्नुभयो । कांग्रेसले हार व्यहोरे पनि मत कमजोर नभएको, सम्मानजनक मत आएको उहाँको भनाइ थियो ।
अपेक्षा गरेकै जस्तो मत : डा. राउत
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताउनुभएको छ । इलाम–२ मा जनमत पार्टीले ११८ अर्थात् ०.१७ प्रतिशत मत पायो यो कम भए पनि अपेक्षाभन्दा फरक चाहिँ नरहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत मत ल्याउनु राम्रो हो, तर त्यो दलको पनि जमानत नजोगिएको अध्यक्ष राउतको विश्लेषण छ । ‘इलामको मत परिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन’, डा. राउतले भन्नुभयो । उहाँले रास्वपालाई भन्नुभएको छ, ‘बारा र इलाममा जमानत जफत भएको भोग्नुभयो, विचार गर्नुहोला । शुभ चिन्तकको नाताले मात्रै खुलेआम भन्दै छु ।’
हामीलाई सचेत गराएको छ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौँ कमी कमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको चुनावी मतपरिणाम सार्वजनिक भएपछि रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने बताउनुभएको छ । ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमी कमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ’, महामन्त्री ढकालले भन्नुभएको छ । नतिजा पार्टीको अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको सदैव सम्मान गर्ने रास्वपाले जनाएको छ । साथै महामन्त्री ढकालले नेकपा एमालेका विजयी उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै जनअपेक्षाअनुरूप कार्यसम्पादन हुनेछ भन्ने कामना गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच