![गरिब देशका धनी मन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Property-Statement-of-Ministers-Hita-fornt-page.jpg)
काठमाडौं । नेपाली कांग्रेसले देशभरका सहकारी पीडितलाई न्याय दिन संसद्मा जारी संघर्षलाई जनस्तरमा लैजाने भएको छ । आज (बुधबार)देखि सुरु हुने कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितसँगको सहकार्यमा सडक केन्द्रित कार्यक्रम सञ्चालन गर्नेबारे ठोस निर्णय लिनेछ ।
प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले देशभरका सहकारीबाट लाखौँ बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना भएको र त्यसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै सदनमा अवरोध गर्दै आएको छ । कांग्रेसको मागमा विपक्षी दलहरूले समेत ऐक्यबद्धता जनाइसकेका छन् । संसद्मा सत्तापक्ष र सभामुखले पेलेर जाने संकेत गरेपछि कांग्रेसले सहकारी ठगीविरुद्ध पार्टीलाई जनस्तरमा परिचालन गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेगरी केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश सभापति, प्रदेश संसदीय दलका नेता र संघीय संसद्का सदस्यहरूलाई बोलाइएको छ । कांग्रेसमा सामान्यतः संयुक्त बैठकको अभ्यास नभए पनि सभापति शेरबहादुर देउवाले रणनीतिक रूपमा यस्तो बैठक बोलाउनुभएको हो ।
संसद्को माग जनतामाझ पुर्याउँछौँ : सहमहामन्त्री पाण्डे
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सरकारले निरंकुश, असंवैधानिक र अलोकतान्त्रिक चरित्र देखाउन थालेकाले पर्याप्त समीक्षासहित कांग्रेस जनतामाझ जाने बताउनुभयो । ‘कांग्रेसले संसद्मा सहकारी ठगहरूमाथि कारबाही गराउन दबाब दिएकै छ । अब यो संघर्षलाई संसद्मा मात्रै सीमित नराखेर देशभरका पीडितको साझा आन्दोलन बनाउनेबारे बैठकमा छलफल गर्नेछौँ’, सहमहामन्त्री पाण्डेले हिमालय टाइम्ससँग भन्नुभयो ।
सरकारले संसद्मा बलमिच्याइँ गरेको, अध्यादेशबाट शासन चलाउन तयारी गरेको, प्रतिपक्षको आवाजलाई दमन गरेको तथा सहकारी ठगहरूलाई जोगाउन लागिपरेको भन्दै उहाँले कांग्रेस बैठकमा समग्र परिस्थितिको समीक्षा हुने बताउनुभयो । ‘केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भएकाले पछिल्लो घटनाक्रमबारे पर्याप्त समीक्षा गर्छौं । देशभरका साथीहरूको राय लिन्छौँ र जनस्तरमा जाने निर्णय गर्छौं’, पाण्डेले भन्नुभयो । कांग्रेसको एजेण्डामा सहमत देखिएका विपक्षी दलहरूबीच थप सहकार्य गरेर अगाडि बढ्ने विषयमा पनि छलफल हुने सहमहामन्त्री पाण्डेको भनाइ छ ।
कांग्रेसमा आन्तरिक समीक्षा जरुरी : महर
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठकमा समसामयिक राजनीतिक छलफलसँगै पार्टीको आन्तरिक विषयमा गम्भीर समीक्षा हुनेछ । सत्तापक्षले गरेका कमजोरीको प्रतिवाद गर्दा पार्टी भित्रका कमजोरी सुधार्नेबारे पनि छलफल हुने महरको भनाइ छ । ‘हामीले लामो समयदेखि पार्टी बैठकलाई नियमित गर्न सकेका छैनौँ । यो बैठकले अहिलेको राजनीतिक परिस्थितिसँगै पार्टीको आन्तरिक कार्यप्रणाली बारे पनि छलफल गर्नेछ’, महरले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले सहकारी ठगी, गिरीबन्धु टी-स्टेट प्रकरण लगायतका विषयमा दोषीउपर कारबाहीको माग राखेर कांग्रेसले जनताकेन्द्रित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । ‘भ्रष्टाचारका काण्डमा मुछिनेहरूले सरकारमा बसेर सेटिङ गरिरहेका छन् । त्यो सेटिङ भत्काउने गरी कांग्रेसले तयारी गर्नुपर्छ’, महरले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच