काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजदुरहरूको हितलाई केन्द्रमा राखेर पारिश्रमिक बढाउन आफू लागिपर्ने बताउनुभयो । ‘मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरू समेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई संघ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रूपमा लिँदै कानुनी आधार तयार गर्न लागिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरिएको जानकारी दिनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्ना सफलता देखेको बताउँदै प्रधानमन्त्रीले सम्पूर्ण नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताउनुभयो ।
देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको संघारमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयोे, ‘यस पटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ ।’ सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ मूलमन्त्रलाई व्यावहारिक रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । ‘सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरू, निजी क्षेत्रलगायत सबैको साथ रहने मेरो विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
रोजगारीका लागि साना-साना व्यवसाय आवश्यक : श्रममन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि साना–साना व्यवसायमा जोड दिनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । ‘आन्तरिक रोजगारी सिर्जना गर्न र दिगो विकासका लागि साना व्यवसायमा जोड दिन आवश्यक छ,’ उहाँले भन्नुभयोे, ‘यसले आत्मनिर्भर र उद्यमशील नेपाली बनाउन ठूलो सहयोग गर्छ ।’ मन्त्री अर्यालले सीपमूलक व्यवसाय र तालिममा पनि सरकार लागेको बताउनुभयो । ‘रोजगारी वृद्धिकै लागि श्रम मन्त्रालयले योजनासहित काम गरिरहेको छ,’ उहाँले भन्नुभयोे ‘शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेका छौँ ।’ मन्त्री अर्यालले सुरक्षित वैदेशिक रोजगारीका लागि पनि काम गरिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच