चीनले दिएका सुविधा उपयोग गर्दै निर्यात बढाउन सुझाव

Read Time = 7 mins

काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निर्यात व्यापारले अपेक्षाकृत गति लिन नसकेको भन्दै चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै निर्यात बढाउनुपर्नेमा जोड दिनुभएको छ । चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उहाँले बताउनुभयो । बिहीबार काठमाडौंमा नेपाल चीन उद्योग वाणिज्य संघको २३औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै कार्यवाहक राष्ट्रपति पुनले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपालका कृषिजन्य उत्पादन, जडीबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना छ । हामीले चिनियाँ बजार अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली वस्तु निर्यात गर्न सक्नुपर्छ र यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघलगायतका संस्थाले समन्वय र सहकार्य गर्नु आवश्यक छ ।’

चीनजस्तो संसारकै आर्थिकरूपमा महाशक्ति राष्ट्रसँग नेपालको व्यावसायिक सम्बन्ध विकास नेपालका लागि ठूलो अवसर हुने भन्दै चिनियाँ बजारमा नेपालले आफ्ना मौलिक उत्पादन निर्यात गर्ने अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उहाँले बताउनुभयो । पछिल्लो दशकमा भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीलगायतका कारण दुई देशबीचको व्यापारिक सम्बन्ध अपेक्षित विस्तार हुन नसकेको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति पुनले नेपाली वस्तु निर्यात गर्दा कच्चा पदार्थ प्रशोधन गरी पूर्णरूपमा तयारी वस्तुमात्र निर्यात गर्नुपर्ने बताउनुभयो ।

‘हामीले चिनियाँ बजार अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली वस्तु निर्यात गर्न सक्नुपर्छ । यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघलगायतका संस्थाले समन्वय र सहकार्य गर्नु आवश्यक छ ।’

साथै उहाँले आर्थिक, सामाजिक रूपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने पनि बताउनुभएको छ । उत्पादित वस्तुमा आत्मनिर्भर भई निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिकरूपमा समृद्ध हुन नसक्ने भन्दै कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि निर्यात अवस्था भने सन्तोषजनक नरहेको बताउनुभयो ।
नेपालस्थित चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा नेपाल चीन उद्योग वाणिज्य संघले खेलेकोे भूमिकाको प्रशंसा गर्दै दुवै मुलुकबीच रहेको पुरानो सम्बन्ध अब व्यापार व्यवसायका माध्यमले थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) का अध्यक्ष रेन होङबिनले शुभकामना पठाउँदै कोरोनाका कारण द्विपक्षीय व्यापारमा कमी आएको भए पनि आगामी दिनमा पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गर्नुभयो । होङबिनले पठाएको शुभकामना सन्देशमा भनिएको छ, ‘हामी आशा गर्छौँ कि महामारीपछि हामीसँग सहयोग जारी राख्न दुवै देशका उद्यमीका लागि राम्रो प्लेटफर्म प्रदान गर्ने थप अवसर हुनेछन् ।’

सो अवसरमा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनसँगको वार्षिक व्यापारघाटा दुई खर्ब ६३ अर्ब रुपैयाँ पुग्नुमा कोरोना, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दीलगायतका कारण रहेको बताउनुभयो । कोरोनापछि चीनमा ठूला व्यापारिक मेला हुन नसक्नु र नेपाली व्यवसायीले पहिले जसरी खुलारूपमा भ्रमण गर्न नसक्नु जस्ता कारण निर्यात प्रभावित भएको उहाँको भनाइ थियो ।

दुई देशबीचका मुख्य दुई नाका तातोपानी र केरुङमा लागू भएको कोटा प्रणाली अन्त्य भई पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने तथा चीनका विभिन्न गन्तव्यमा सिधा उडान गर्दै एयर कनेक्टिभिटी बढाउनुपर्ने, दिगो पर्यटकीय विकासका लागि स्थल नाकाबाट पनि पर्यटकलाई आवतजावत गर्न दिइनुपर्ने, भुक्तानीमा अवरोध हटाउनुपर्ने संघको माग रहेको छ । चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्बन्धमा नेपालका प्रधानमन्त्रीको हरेक पटकको चीन भ्रमणमा द्विपक्षीय सहमति हुँदै आए पनि हालसम्म कार्यान्वयन हुन नसकेको संघले जनाएको छ ।

यसैबीच संघको २३औँ वार्षिक साधारणसभाका अवसरमा संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको छ । श्रेष्ठको कार्यकालमा नेपाली व्यवसायीले चिनियाँ मेलामा सहभागिताको अवसर पाएको र चीनका विभिन्न बिजनेस एसोसिएसनसँग सहमति गर्न सफल भएको भन्दै संघले सम्मान गरेको हो । त्यस्तै, सम्मानित हुने अन्य कम्पनीहरूमा नेपाल चीन जलविद्युत् क्षेत्रको पहिलो साझेदार कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी, चीनका विभिन्न शहरमा उडान भर्दै आएको हिमालय एयरलाइन्स, चीनसँगको व्यापारमा सहजीकरण गर्दै आएको सिल्क ट्रान्सपोर्ट कम्पनी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?