विकट पहाडी बस्तीका दुःख : उपचारका लागि डोकोको भर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । राप्ती गाउँपालिका–५ करङमा बिरामी पर्दा उपचार गर्ने ठाउँ छैन । ज्वरो आउँदा एउटा गोली सिटामोलका लागि तीन घण्टा पैदल हिडेर भालुबाङ वा सिसहनिया झर्नुपर्छ । सुत्केरी र गर्भवतीको लागि त झनै समस्या छ । हरेक निर्वाचनमा गाउँसम्म पुग्ने राम्रो सडक र उपचारको लागि स्वास्थ्य चौकी बनाइदिने आश्वासन पाएका स्थानीयले अहिले पनि उस्तै दुःख भोग्नुपरेको स्थानीय ७३ वर्षीय शोभाकर घर्ती मगरले गुनासो गर्नुभयो ।

‘यहाँका दुःख धेरै छन् । भोट माग्न आउँदा सबै बनाइदिन्छु भन्छन् । चुनाव जितेपछि पाइलो पर्दैन’ शोभाकरले भन्नुभयो– ‘हामीलाई आश्वासन मात्रै होइन विकास चाहिएको छ । वर्षातमा पनि चल्ने बाटो चाहिएको छ । राम्रो स्वास्थ्य चौकी चाहिएको छ ।’ गर्भवती र सुत्केरीको उपचारका लागि अझै डोकोको भर छ । ‘बाटो त छ तर वर्षातमा चल्दैन । वर्षातमा पनि चल्ने चाहियो’– स्थानीय टोल विकास संस्थाका अध्यक्ष गिरबहादुर थापा मगरले भन्नुभयो– ‘पाँच वर्ष अघि चुनावको बेला गरेको बाचा पूरा भएको छैन । खरको छानो भएको घरमा टिन लागेन । बाटाघाटा उस्तै छन् ।’

गाउँमा रोजगारीको अवसर छैन । युवाहरु काम खोज्दै भारत र खाडी मुलुक पुगेका छन् । गाउँमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुको संख्या बढी छ । गाउँमा रोजगारी भएको भए विदेश जाने दर घट्ने थियो तर दाङ देउखुरीका पहाडी बस्तीमा सन्तुलित विकास नहँुदा अझै पनि आधारभूत सेवाबाट बञ्चित हुनुपरेको छ । गाउँमा रहेको विद्यालयमा १० कक्षासम्म पढाइ हुँदैन । कक्षा एकदेखि आठसम्म मात्रै पढाइ हुन्छ । ९ र १० पढ्न देउखुरी सिसहनिया झर्नुपर्ने बाध्यता छ । ‘सरकारले निःशुल्क शिक्षा भन्छ । विद्यार्थीले ९ र १० पढ्न डेरा गर्नुपर्ने अवस्था छ’– स्थानीय प्रेमलाल तिवारीले भन्नुभयो– ‘गाउँमा सबै सुविधा प्राप्त हुने अवस्था चाहियो । दाल, भात, तरकारी माग्दैनौं, हामी विकासको भोको छौं ।’

पाँच वर्षअघि निर्वाचनमा भोट माग्न गाउँ छिरेकाहरु बल्ल पाँच वर्षपछि पुनः भोट माग्न गाउँ पसेका छन् । स्थानीयहरुले विकास गर्ने नेतृत्व खोजेका छन् । ‘हामीलाई मुख नदेखाउने नेता चाहिएन । विकास लिएर गाउँ आउने नेता चाहिएको छ’– तिवारीले भन्नुभयो– ‘यो ठाउँको विकास र चिन्ता जसले गर्छ उही हाम्रो नेता हो ।’ जिल्लाकै दश स्थानीय तहमा पछाडि परेका बस्तीहरु छन् । ती बस्तीमा मुस्किलले सरकारी बजेट र कार्यक्रम पुग्छ । पाँच वर्षमा एक पटक भोट माग्न पुग्ने नेता पछि फर्केर नपुग्ने गुनासो छ । यसपालि त्यही पाँच वर्षपछि फेरि भोट माग्न नेता गाउँ पसेका छन् ।

करङकोट, पुनखोला, थकरीकोटलगायतका पहाडी बस्ती विकासबाट पछि छन् । भौगोलिक विकटताकै कारण यहाँ विकास आयोजना चलाउन सकिएको छैन । राजमार्ग र पहाडी बस्ती जोड्न सडक सञ्जाल छन् तर वर्षातमा यी सडक बिग्रिएर हिड्न नमिल्ने हुन्छन् । कालोपत्रे सडक र पक्की नाला, कल्भर्ट चाहिएको छ । चुनावी अभियानका क्रममा गाउँ पुग्ने उम्मेदवारले पहाडी बस्तीको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, रोजगारी प्राथमिकताको विषय रहने बताउन थालेका छन् ।

नेकपा एमाले, गठबन्धनलगायत अन्य दलका उम्मेदवारले विकास र समृद्धिको योजना पस्किएका छन् । पाँच वर्षसम्म गाउँ नपसेका उम्मेदवारलाई प्रश्नको जवाफ दिन धौ परेको छ । दाङ जिल्लाका विकट पहाडी बस्तीहरुमा अहिले पनि सडक, खानेपानी, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्यको समस्या बढी छ । विकास योजना सुगम क्षेत्रमा थुप्रिने तर गाउँ तथा दूरदराजका बस्तीसम्म नपुग्ने जटिलता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?