गठबन्धनका उम्मेदवार जिताउन कांग्रेसको आव्हान

कांग्रेसकै नेतृत्वमा सरकार, चुनावपछि पनि देउवा नै प्रधानमन्त्री

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता कार्यकर्ताहरूलाई आ≈वान गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रूख चिन्ह र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी पंक्ति लाग्न आव्हान गर्नुभएको हो । इमानदार भएर पार्टी निर्णयको पालना गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आव्हान गर्दै महतले भन्नुभयो, ‘हामी समानुपातिक तर्फको मत आफ्नो पार्टीलाई माग्छौँ । १६५ वटै प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभामा हामीले रूख चिन्हमा मत माग्छौँ, यसमा कहाँ कतै दुविधा हुनु हुँदैन । प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएका ठाउँमा पनि समानुपातिकतर्फ रूख चिन्हमा मतदान गर्न पार्टीका सबै साथीहरूलाई अनुरोध गर्दछु ।’

प्रवक्ता महतले प्रतिनिधिसभा र प्रदेशसभाका ६१ स्थानमा कांग्रेसका उम्मेदवार नभएको भन्दै प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभए पनि जुन दललाई समर्थन गरिएको हो त्यो उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गर्दै भन्नुभयो, ‘किनभने गठबन्धन भनेकै सहकार्य हो । दिने पनि हो । लिने पनि हो । पारस्परिक सहयोगबाट परिणाम आउने हो । त्यो परिणाम आउँदा हाम्रो सरकार बन्ने हो ।’

गठबन्धनले चुनाव जित्छ, कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौँ : डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारूढ गठबन्धनले जित्ने दाबी गर्नुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा.महतले निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सत्तारूढ गठबन्धनकै सरकार बन्ने दाबी गर्दै भन्नुभयो, ‘सत्तारूढ गठबन्धनले फराकिलो बहुमतले विजयी हुनेछ । र, यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’ मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारूढ गठबन्धनको विकल्प नभएको डा.महतको भनाइ छ ।

प्रवक्ता डा.महतले मंसिर ४ को चुनावपछि पनि पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । सत्ता गठबन्धनभित्र अबको प्रधानमन्त्री देउवा बन्ने विषयमा विवाद नरहेको दाबी गर्दै प्रवक्ता महतले देउवा आगामी पाँच वर्ष नै प्रधानमन्त्री बन्ने कि अरू कसैलाई केही वर्ष छाड्ने भन्नेबारे अहिले नै तय नभएको जिकिर प्रवक्ता महतले भन्नुभयो, ‘भोलिका दिनमा स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो, कांग्रेसभित्र पनि देउवाकै नेतृत्वमा । कति वर्ष उहाँ प्रधानमन्त्री बन्ने समझदारीबाट जाने कुरा हो । सबै दलसँग छलफल गरेर यो विषय पछि टुंगो लाग्छ ।’

कांग्रेसले १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९१ मा उम्मेदवारी दिएको साथै ३३० प्रदेशसभामध्ये १५२ सिटमा उम्मेदवारी दिएको जानकारी दिँदै महतले भन्नुभयो, ‘१६५ मध्ये ९१ मा हामीले र ७४ सिटमा गठबन्धनका अन्य दलको उम्मेदवारी छ । यसले स्वाभाविक नेतृत्व नेपाली कांग्रेसको हो । प्रदेशतर्फ पनि १७८ सिटमा हामीले लडेका छौँ । १५२ सिट अन्य गठबन्धन दलका साथीहरू लड्नुभएको छ । त्यसकारण नेतृत्वदायी भूमिका नेपाली कांग्रेसको छ भन्ने कुरामा दुईमत छैन । भोलिका दिनमा पनि स्वाभाविक रूपमा नेतृत्वदायी भूमिका रहन्छ ।’

कांग्रेसभित्र महामन्त्री गगन थापा लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसमा सांसद जितेका मध्येबाट संसदीय दलको नेता चयन हुने र उक्त नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षी सम्बन्धमा प्रवक्ता महतले भन्नुभयो, ‘अब पनि स्वाभाविक रूपमा देउवाले नै सरकारको नेतृत्व गर्ने हो । यो स्वाभाविक छ । स्वाभाविक कुरा सभापतिजी भनिरहनु हुन्न । प्रधानमन्त्री भनेर जसलाई प्रचार गर्न मन लागेको छ उनीहरूले गरिराखेका होलान् ।’ सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि समझदारीमा जान चाहेको र प्रधानमन्त्री दाबी नगरेकाले देउवा नै अब प्रधानमन्त्री हुने महतको दाबी छ । उहाँले कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार फराकिलो मतले विजयी हुने पनि दाबीसमेत गर्नुभयो । संविधान रक्षा र राजनीतिक स्थायित्वका लागि नयाँ सरकारले काम गर्ने पनि महतको भनाइ छ ।

एमालेमाथि आचारसंहिता उल्लंघनको आरोप
नेपाली कांग्रेसले प्रमुख विपक्षी दल नेकपा एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता डा. महतले सोमबार पत्रकार सम्मेलन गर्दै एमालेमाथि कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गर्नुभएको छ । महतले निर्वाचन आचारसंहिताविरुद्ध एमालेले खुलेआम प्रलोभन र सामाजिक संघसंस्था दुरुपयोग गर्ने काम गर्दा पनि आयोगले कारबाही नगरेको जिकिर गर्दै भन्नुभयो, ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु, आचारसंहिताको हामीले अक्षरशः पालना गरेका छौँ । तर, संस्थाहरूको दुरुपयोग एमालेले गरेको जगजाहेर छ । आचारसंहिताविरुद्ध प्रलोभन दिने, विभिन्न संस्था दुरुपयोग गर्ने प्रवृत्तिलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस् । हामी त्यसलाई कारबाही गरोस् भनेर आयोगसँग आग्रह गर्छौं ।’

नयाँ सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन : निधि
नेपाली कांग्रेसका पूर्व–उपसभापति विमलेन्द्र निधिले नयाँ सरकार बनेपछि पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउने भएको बताउनुभएको छ । सप्तरीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै निधिले मंसिर ४ पछि बन्ने सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउनु रहेको जिकिर गर्दै भन्नुभयो, ‘एमालेको अवरोधका कारण नागरिकतासम्बन्धी कानुन बनाउन सकिएन । अब बन्ने नयाँ सरकारले नागरिकतासम्बन्धी कानुन बनाउँछ । नागरिकतासम्बन्धी कानुन नबन्दा सात लाख नेपालीले नागरिकता पाएका छैनन् । उनीहरू समस्यामा छन् ।’ पूर्व–गृहमन्त्रीसमेत रहनुभएका निधिले नागरिकतासम्बन्धी विधेयक संसद्बाट पास गराई राष्ट्रपतिले अनुमोदन गरेपछि लागू गरिने पनि बताउनुभयो । वर्तमान सरकारले नागरिकतासम्बन्धी विधेयक दुईपटकसम्म संसद्बाट पास गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएको थिएन ।

कांग्रेसले गर्‍यो थप बागी र सहयोगीलाई कारबाही
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंसिर ४ को चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिएका थप नेताहरूमाथि कारबाही गरेको छ । कांग्रेसले चुनावी तालमेल गरेका क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका, तिनका समर्थक र प्रस्तावमाथि कारबाही गरेको हो । कांग्रेसले बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई पाँच वर्ष पार्टीबाट निकाल्ने निर्णय गरेको छ । महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र राम एकवालप्रसाद यादव (शिल्पु) लाई पार्टीबाट हटाइएको अनुशासन समितिले जनाएको छ । कांग्रेसले यसअघि केन्द्रीय सदस्य दिनेश कोइरालासहित नेताहरूलाई निष्कासन गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?