राजनीतिक पूर्वसहकर्मीबीच प्रतिष्ठाको चुनावी प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 8 mins

रुपन्देही । राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।

एमाले नेता विश्वकर्मा नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित हुनुहुन्छ भने भुसाल माक्र्सवादी अध्येता हुनुहुन्छ । यसरी विगतमा एउटै पार्टी र विचार बोकेको पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०३७ मा तत्कालीन नेकपा (माले) बाट राजनीतिक यात्रा सुरु गरेका ६० वर्षीय विश्वकर्मा चौथो पटक सङ्घीय संसद्का लागि भुसालसँग निर्वाचन लड्दै हुनुहुन्छ । “राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका र लामो समय एउटै दलमा रहेका नेताको प्रतिस्पर्धाले यो क्षेत्रको निर्वाचन रोचक बनेको छ”, स्थानीय अगुवा तिलोत्तमा–११ का वेद गिरीले भन्नुभयो ।

विश्वकर्माको राजनीतिक क्षेत्र र भुसालको गृहनगर यो निर्वाचन दुवै उम्मेदवारका लागि प्रतिष्ठाको विषय बनेकाले चुनावी माहोल पनि तातिँदै गएको उहाँको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा चुनाव प्रचारमा लाग्नुभएका विश्वकर्मा २०३८÷३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति हुनुभएको थियो । विद्यार्थी राजनीतिसँगै जातीय विभेद विरुद्धको आन्दोलनमा लामो समय नेतृत्व गर्नुभएका विश्वकर्मा २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्चका संस्थापक हुनुहुन्छ ।

विस २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बन्नुभएका विश्वकर्मा एमालेको छैटौँ महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । उहाँ सातौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र भारत प्रवासको इन्चार्ज बन्नुभएको थियो ।

दोस्रो जनआन्दोलनपछि विश्वकर्मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो ।

विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बन्नुभएका विश्वकर्र्मा दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतले पराजित हुनुभएको थियो । विसं २०७४ मा रज्जाकलाई पराजित गरी विश्वकर्मा प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।

यस क्षेत्रको विकास र समृद्धिका लागि योगदान गरेका कारण यो निर्वाचनमा पनि जनताले साथ दिने आशा विश्वकर्माको छ । पूर्वाधार विकासतर्फ उत्तर दक्षिण सडक, सरकारी मेडिकल कलेज र देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना, रोहिणी नदीको संरक्षणलगायतका दर्जनौँ योजना अघि बढाउने प्रतिवद्धता उहाँको छ ।

स्याङ्जाको पिडीखोलामा जन्मिनुभएका स्वतन्त्र उम्मेदवार ६१ वर्षीय भुसाल २०२१ मा रूपन्देहीको करहिया झर्नुभएको हो । अहिले तिलोत्तमा–९ का स्थायी बासिन्दा भुसाल मणिग्रामको संस्कृत माध्यमिक विद्यालयमा पढ्दा विद्यार्थी राजनीतिमा आबद्ध हुनुभएको थियो ।

भुसाल नेकपा (माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (एकताको पाँचौँ) को केन्द्रीय सदस्य र दुई पटक महासचिव हुनुभयो । २०४६ सालको आन्दोलनमा उहाँ महासचिवका रूपमा सक्रिय हुनभएको थियो ।

विसं २०५० मा नेकपा (एमाले)को रूपन्देही जिल्ला कमिटी उपसचिव र २०५१ सालमा सचिव हुनुभएको थियो । विसं २०५३ को उपनिर्वाचनमा रूपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ २०५८ देखि २०६४ सम्म एमालेको केन्द्रीय प्रचार विभाग सदस्य, केन्द्रीय स्कुल विभाग सदस्यको जिम्मेवारीमा रहनुभएको थियो ।

भुसालले यसअघि २०७४ को निर्वाचनमा रुपन्देहीको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई पराजित गर्नुभएको थियो । त्यसअघि २०६४ र २०७० मा वर्तमान गृहमन्त्री बालकृष्ण खाणसँग पराजित हुनुभएको थियो ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका भुसाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी एवं बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको समेत समर्थन छ । उहाँले औद्योगिक तथा व्यावसायिक पूर्वाधारका क्षेत्रमा काम गर्ने बाचा गर्दै मतदातासँग मत मागिरहनुभएको छ ।

उम्मेदवारी छनोटमा एमाले क्षेत्रीय तथा जिल्ला कमिटीले दुवैको नाम सिफारिस गरेर पठाए पनि प्रदेश कमिटीले विश्वकर्माको एकल नाम केन्द्रमा पठाएको थियो । क्षेत्र नं ३ बाट भुसालको नाम सिफारिस भए पनि राप्रपासँगको तालमेलमा एमालेले सो क्षेत्र छाड्नु परेकाले उम्मेदवारी दर्ताको अघिल्लो दिन पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

रुपन्देही क्षेत्र नं १ मा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नं १, ३, ४, ५, र ६ रहेको छ ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?