पर्यटकीय हब बन्दै बागलुङको रिगताल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण रमनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिग ताल यति बेला धेरै पर्यटकलाई स्वागत गर्न कुरि रहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिग तालको सौन्दर्यसँग रमाउनपछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वी रुकुमको सिमानामा रहेको यस तालले पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको छ ।

ताल निसीखोला गाउँको चिनारीका रुपमा लिइन थालिएको छ । पर्याप्त सम्भावना बोकेको यस क्षेत्र पाँच वर्ष पहिलेसम्म गुमनाम अवस्थामा थियो । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार प्रसार तीव्र रुपमा हुन थाल्यो । अझ भनौ लोकमार्ग कालोपत्रे भएपछि यस क्षेत्रको मुहारै फेरिएको छ । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिग ताल पर्यटकीय गन्तव्यको रुपमा विकास हुने परिकल्पना स्थानीयले गरेका थिएनन् । तर, समय परिस्थिति बदलिएपछि पातीहाल्ने क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ ।
यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्याधिक भिडभाड हुन्छ । अन्य समयमा भने सानो संख्यामा पर्यटकहरु घुमघाम गर्न आउँछन् । पुस मागको समयमा पर्यटकहरु गाडी लिएर नै हिउँ खेल्न जान्छन् भने बैशाख, जेठ, असार महिनामा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । पछिल्लो समय यहाँ सयौँ पर्यटक घुम्न आउने गरेको स्थानीय विकास घर्ती मगरले बताउनुभयो ।

उहाँले दसैसम्म सयौँ पर्यटकहरु गर्मी छल्न आउने गरेको भन्दै अब पुसदेखि हिउँ खेल्न आउने बताउनुभयो । घर्तीले लोकमार्ग कालोपत्रे भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउनहुन्छ । “पहिले-पहिले त यहाँ खास्सै मान्छेहरु आउँदैनथे, यो ठाउँमा गोठालाहरुले भेडापाबाख्रा र गाईभैँसी चराउने गर्थे, मोटरबाटो पिच भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।”

५/७ वर्ष अघिसम्म गाउँका भेडी गोठालेहरुले पानी खाने ताल र घना जंगलले ढाकिएको पातीहाल्नेमा अहिले सडकले गर्दा बस्ती बिस्तार हुन थालेको छ । उहाँ भन्नुहुन्छ “अहिले जुन ताल छ, त्यो पहिले भेडी गोठालाहरुले पानी खाने ठाउँ हो, अझै पनि यहाँबाट गोठालेहरुले पानी भरेर उपयोग गर्ने गर्छन्, तर पहिलेको जस्तो रहेन, अहिले त थप व्यवस्थित भएको छ, गाउँपालिकाले पनि संरक्षण गर्न थालेको छ, पर्यटकहरु आउन थालेका छन्, निकै प्रचार पो भयो, पातीहाल्ने र रिग ताल सडकले गर्दा यति धेरै चर्चामा आएको छ, पहिले त त्यस्तो केही थिएन, जो कोही पुगेका पनि थिएनन् ।”

पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिग ताल पातीहाल्नेबाट १५ मिनेट उत्तर तर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नको लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्णधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रको प्रचारप्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्ती मगरको भनाई छ ।

उहाँले यसको विकासका लागि डिपिआर तयार पारेको र तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताउनुभयो । “ताललाई थप आर्कषक बनाउनका लागि केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरि योजना बनाएका छौँ, केही कामहरु भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँ केही समसयाहरु छन्, ति समस्याहरु समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारि सकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुने छन् ।”

रुकुम पुर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनु भएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएको हुँदा आफू पनि घुम्नका लागि आएको बताउनुभयो । उहाँले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो-“यो ताल निकै रमणिय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा नकै एक्साइटेड भएको छु ।”

रिग तालको नाम खास गरि मगर खाम भाषबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वत लगायतका ठाउँहरुको देख्न सकिन्छ भने माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका दर्जनौँ हिमश्रृंखला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । हरेक वर्ष यस क्षेत्रमा हजारौँ आन्तरिक पर्यटकहरु आउने गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?