चार प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत, तीनमा तानातान

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । सात प्रदेशमध्ये चारवटा प्रदेशमा सत्ता गठबन्धनको बहुमत आउने देखिएको छ । प्रत्यक्ष र समानुपातिकमा दलहरूले प्राप्त गरेका सिट संख्या र मतका आधारमा सातमध्ये चारमा सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको हो । प्रदेश १, मधेश र लुम्बिनी बाहेकका प्रदेशमा गठबन्धनको बहुमत आउने देखिएको छ । यसमध्ये कर्णाली र सुदूरपश्चिममा गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ ।

गण्डकी र बागमतीमा पनि सत्ता गठबन्धन बुहमतउन्मुख देखिएको छ । यी चार प्रदेशबाहेक अन्य तीन प्रदेशमा पनि सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कायमै छ । ती प्रदेशहरूमा नेकपा एमालेले पनि स्पष्ट बहुमत ल्याउने देखिएको छैन । प्रदेश १ मा राप्रपा सहितका साना दल र केही स्वतन्त्र सांसद निर्णायक देखिएका छन् भने मधेशमा मधेश केन्द्रित दलहरू सँगको समीकरणले कसको सरकार बन्ने यकिन हुनेछ । लुम्बिनीमा पनि दुवै गठबन्धनलाई अन्य साना दल वा स्वतन्त्रको साथ लिनुपर्ने अनिवार्य देखिएको छ ।

प्रदेश १ मा दुवै गठबन्धनलाई सरकार बनाउन सकस
प्रदेश १ मा सत्ता गठबन्धन र नेकपा एमाले दुवैलाई सरकार बनाउन सकस हुने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद चाहिन्छ । हालसम्म प्राप्त मत परिणामअनुसार दुवै गठबन्धनले बराबरी सिट आउने देखिएको छ । प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धन र एमाले दुवैको बहुमत नपुग्ने देखिएको हो । प्रत्यक्षतर्फका ५६ वटै सिटको नतिजा आइसकेको छ । जसमा सबैभन्दा धेरै एमालेले २५ सिट जितेको छ भने कांग्रेसले १४ सिट जितेको छ । माओवादीले सात सिट जित्दा नेकपा एकीकृत समाजवादीले दुई सिट जितेको छ । समानुपातिकमा पनि सत्ता गठबन्धन र एमालेको मत बराबरी जस्तै छ । एमाले एक्लैले ६ लाख मत ल्याउँदा कांग्रेस, माओवादी र नेकपा एस गरी तीन दलले सात लाख मत ल्याएका छन् । प्रदेश १ मा राप्रपाले पनि झण्डै दुई लाख मत ल्याएको छ । यसका आधारमा राप्रपालाई साथ लिँदा एमालेको सरकार बन्न सक्ने सम्भावना छ । राप्रपाले चुनावमा एमालेसँग तालमेल गरेको थियो ।

मधेशमा सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्रको भर
मधेश प्रदेशमा पनि कुनै दलको बहुमत नआउने निश्चित भएको छ । प्रत्यक्ष र समानुपातिकमा दलहरूले प्राप्त गरेको मतका आधारमा कुनै दलको एकल बहुमत नपुग्ने देखिएको हो । १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सिट चाहिन्छ ।

संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)कोे गठबन्धन थियो । तर, सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेको हो । यहाँ सरकार बनाउन दुवै गठबन्धनलाई जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ ।

मधेशमा प्रत्यक्षमा सबैभन्दा धेरै एमालेले १५ सिट जितेको छ । कांग्रेसले १३, लोसपाले सात, माओवादी र नेकपा एसले समान चार/चार सिट जितेका छन् । मधेशमा ६ जना सांसद स्वतन्त्रबाट निर्वाचित भएका छन् । समानुपातिकमा एमालेले तीन लाख ३४ हजार मत ल्याएको छ भने कांग्रेसले तीन लाख ६८ हजार मत ल्याएको छ । जसपाले दुई लाख ६६ हजार मत पाएको छ भने जनमत पार्टीले दुई लाख ७५ हजार मत ल्याएको छ । माओवादीले एक लाख ७१ हजार र नेकपा एसले एक लाख भोट ल्याएका छन् । लोसपाले ९७ हजार मत ल्याएको छ ।

बागमतीमा गठबन्धन बहुमतनजिक
बागमती प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने देखिएको छ । बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये ६४ क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ । जसमा गठबन्धनले ४३ सिटमा जित हात पारिसकेको छ । सत्ता गठबन्धनलाई सरकार बनाउन समानुपातिकबाट १३ सिट ल्याए पुग्छ, जबकि समानुपतिकका ४४ सिटबाट सत्ता गठबन्धनले आवश्यक सिट सहजै ल्याउन सक्छ । ११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५६ सांसद चाहिन्छ । सबैभन्दा धेरै स्थानमा नेपाली कांग्रेसले जितेको छ । हालसम्म कांग्रेसले २४ स्थानमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्र १४, नेकपा एमाले १२, राप्रपा सात, नेकपा एकीकृत समाजवादी पाँच र नेमकिपा एक स्थानमा विजयी भएका छन् । एमालेले भने प्रत्यक्षमा १२ सिट मात्रै जितेको छ । यस प्रदेशमा कुल ४४ जना समानुपातिक प्रदेश सांसदमध्ये कसले कति सिट पाउलान् भन्ने टुंगो भइसकेको छैन । यद्यपि, बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित देखिएको छ ।

गण्डकीमा गठबन्धनको बहुमत
गण्डकीमा सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । जबकि सत्ता गठबन्धनले प्रत्यक्षमै २० सिट जितेको छ । अब समानुपातिकका २४ सिटमध्ये गठबन्धनले १० सिट मात्रै ल्याए बुहमत पुग्छ । जुन निश्चित छ । गण्डकीमा कांग्रेसले १६ सिट जितेको छ भने माओवादीले चार सिट जितेको छ । गण्डकीमा प्रत्यक्षमा नेकपा एसले कुनै सिट जितेको छैन । एमालेले भने १२ सिट जितेको छ । गण्डकीमा एक नेकपा समाजवादी पार्टीका र एक स्वतन्त्र सांसद छन् । स्याङ्जाको दुईवटा प्रदेशसभाको परिणाम आएको छैन । यसरी हेर्दा गण्डकी प्रदेशमा सत्ता गठबन्धनले सहजै बहुमत ल्याउने देखिन्छ ।

लुम्बिनीमा तानातान
लुम्बिनी प्रदेशमा भने सत्ता गठबन्धन र एमाले दुवैको बहुमत नआउने देखिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणामले सत्ता गठबन्धन र एमाले कसैको पनि सरकार बनाउन बहुमत नपुग्ने देखिएको हो । ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट चाहिन्छ । यहाँ प्रत्यक्षमा ठूलो दल बनेको एमाले वा सत्ता गठबन्धनलाई पनि बहुमत जुटाउन सहज छैन । बहुमत जुटाउन अन्य साना दल वा स्वतन्त्रको साथ लिनुपर्ने अनिवार्य देखिएको छ । यस्तो अवस्थामा जसले नेतृत्व लिएर बहुमत जुटाउन र अरू दललाई विश्वासमा लिन सक्यो उसकै नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ । लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये सत्ता गठबन्धनले २५ सिट जितेको छ भने एमालेले १८ सिट जितेको छ । कांग्रेसले १७, माओवादीले पाँच सिट जितेको छ । जसपा र नागरिक उन्मुक्ति, लोसपा, राप्रपाले दुई/दुई सिट जितेका छन् भने दुईजना स्वतन्त्र सांसद छन् । लुम्बिनीमा जनमत पार्टीले पनि एक सिट जितेको छ ।

कर्णालीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत
कर्णाली प्रदेशमा सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणामअनुसार कर्णालीमा सत्ता गठबन्धनको बहुमत आउने देखिएको हो । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सिट चाहिन्छ । जबकि कर्णालीमा कांगे्रस र माओवादीले मात्रै १८ सिट जितेका छन् । दुवै दलले समान नौ/नौ सिट जितेका हुन् । कर्णालीमा एमालेले पाँच सिट मात्रै जितेको छ । अब समानुपातिकमा कसले कति सिट पाउँछ भन्ने यकिन छैन । तर, गठबन्धनले समानुपातिकमा तीन सिट मात्रै पाए पनि बहुमत पुग्नेछ जुन निश्चित छ । समानुपातिकमा कर्णालीमा सबैभन्दा धेरै एमालेले एक लाख ७३ हजार मत ल्याएको छ भने कांग्रेसले एक लाख ७० हजार र माओवादीले एक लाख ३७ हजार मत ल्याएको छ ।

सुदूरपश्चिममा सत्ता गठबन्धनको सहजै बुहमत
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको सहज बहुमत पुग्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक मत परिणामअनुसार सुदूरपश्चिममा सत्ता गठबन्धनको सहजै बहुमत पुग्ने देखिएको हो । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसद चाहिन्छ । जबकि प्रत्यक्षतर्फका ३२ सिटमध्ये सत्ता गठबन्धनले २१ सिट जितेको छ । समानुपातिक तर्फको २१ सिटमा पनि गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।

कांग्रेसले सबैभन्दा धेरै ११, माओवादीले आठ र एकीकृत समाजवादी दुई सिट जितेका छन् । गठबन्धनलाई अब बहुमत पुर्‍याउन सात सिट भए पुग्छ । जुन समानुपातिकबाट सहजै आउने निश्चत छ । समानुपातिकमा कांग्रेस र माओवादीले मात्रै साढे तीन लाख मत ल्याएका छन् । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले पाँच, एमालेले तीन र स्वतन्त्रले एक सिट जितेका छन् । बाजुराका दुई क्षेत्रको परिणाम आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?