प्रतिनिधिसभा बैठक : भारतीय दूतावासमा फाइल पुगेको भन्दै एमालेले माग्यो सरकारसँग जवाफ, सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी

अनिल क्षेत्री
Read Time = 18 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुग्लिन-नारायणगढ सडक खण्डको पहरो फोर्नका लागि विस्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा पुगेको विषयमा संसद्मा रक्षामन्त्री र भौतिक पूर्वाधार मन्त्रीको जवाफ माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग समय लिएर एमाले सांसद रघुजी पन्तले मुग्लिन-नारायणगढ सडक खण्ड विस्तारका लागि पहरो फोर्न विस्फोटक पदार्थ माग गरिएको फाइल भारतीय दूतावासमा पुगेको भन्दै आपत्ति जनाउनुभएको हो । चिनियाँ ठेकेदार कम्पनीले टेण्डरमा प्रतिस्पर्धा गरेर पाएको प्रोजेक्टमा भारतले विस्फोटक पदार्थ नदिएको विषयले नेपाल फेरि अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वताको मैदान बन्न पुगेको सांसद पन्तको जिकिर छ । विकास आयोजनका लागि चाहिने विस्फोटक पदार्थ बनाउनका लागि नेपाली सेनासँग क्षमता भए पनि आत्मनिर्भर बन्न नदिइएको आरोप लगाउँदै सांसद पन्तले यस विषयमा रक्षामन्त्री र भौतिक पूर्वाधार मन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सरकारले पूर्णता नपाएकोमा आपत्ति
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । गठन भएको ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सांसद आचार्यले भन्नुभयो, ‘सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? सरकारलाई संसद्प्रति जवाफदेही हुन पनि सचेत गराउँछु । सरकारले आफ्ना कार्ययोजनाहरू संसद्मा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्छ । सरकारले जे मन लाग्यो, त्यही गर्न मिल्दैन ।’

प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठाउन आग्रह
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउन आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले भन्नुभयो, ‘भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरू पुनर्निर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरू पटक–पटक तयार पारिन्छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रूपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस् ।’ सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान गर्नुपर्ने सांसद चौधरीको भनाइ छ ।

सडक संघर्ष गर्ने राप्रपाको चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनरत मिटरब्याज पीडितहरूको माग तत्काल सम्बोधन नगरे सडक संघर्षमा जाने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले तत्काल मिटरब्याज पीडितका समस्या सम्बोधन नगरे राप्रपा पनि मिटरब्याज पीडितसँगै सडक संघर्षमा उत्रिने चेतावनी दिनुभएको हो । सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरूबीच भएको झडपको भत्र्सना गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरूलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको छ । झडपको घटनाप्रति निन्दा र भत्र्सना गर्दछु । सरकारले मिटरब्याज पीडितहरू र तराईमा आन्दोलनरत हरवाचरवाहरूको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नाताले राप्रपा उनीहरूको साथमा सडक संघर्षमा जानेसमेत घोषणा गर्न चाहन्छु ।’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मिटरब्याजपीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे तत्काल संसद्लार्ई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले भन्नुभयो, ‘काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याजपीडित र इनरुवामा भेला भएका लघुवित्त ऋणपीडित जनतामाथि लाठी प्रहार र दमन गरेको संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन हो । जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्मा स्पष्ट गर्न लगाउनु आवश्यक छ ।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेको ५५ अर्ब रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गर्नुभयो ।

काठमाडौंका मेयरले संविधान मिचेको आरोप
संघीय संसद् प्रतिनिधिसभामा सांसदहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले संविधान मिचेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको आरोप लगाउँदै भन्नुभयो, ‘काठमाडौंका मेयर साहेबले पटक-पटक हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले यो अवस्था सिर्जना भइरहेको छ ।’

वायु प्रदूषण नियन्त्रणबारे सदनलाई जानकारी दिन माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डाँगीले भन्नुभयो, ‘काठमाडौंको वायु प्रदूषण नियन्त्रण र रोकथामका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू के-के बनाइएका छन् तीनको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।’

झुक्याएर दाजुसँग विवाह र बलात्कारको घटनाबारे जानकारी
धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसद्मा जानकारी गराइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा-४ मा एक १७ वर्षीया बालिकालाई भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएको र पछि यौनशोषण भएको घटनाबारे जानकारी गराउनुभएको हो । घटनालाई प्रहरीले पीडिकलाई उन्मुक्ति दिने गरी मिलापत्र गराएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसद कार्कीले भन्नुभयो, ‘घरपरिवारले वंश अगाडि बढाउनका लागि ती बालिकालाई देवरसँग यौनसम्बन्ध राख्न बाध्य पारिएछ । देवरसँग शारीरिक सम्बन्ध राख्न नमानेपछि बालिकामाथि कुटपिट भयो । देवरले बारम्बार बलात्कार गरे । पीडितले प्रहरीसमक्ष गइन् । प्रहरीसमक्ष गएपछि विवाह दर्ता गरिदिने, नागरिकता दिने, अब कुटपिट नगर्ने र देवरसँगै विवाह गराइदिने सर्तमा मिलापत्र गराइएछ । यो कस्तो न्याय हो ? अपराधीहरूलाई तुरुन्त कडा कारबाही गरियोस् भन्ने माग गर्छु ।’

संसद्मा गायत्री मन्त्र वाचन गर्दै हिन्दुराष्ट्र माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गर्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सुरुमै गायत्री मन्त्र वाचन गर्दै सांसद जैसवालले भन्नुभयो, ‘ॐ भूःभुवः स्वःतत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमही धियो योनः प्रचोदयात्’ । यदि देश र जनताप्रति इमानदार हुन ईश्वरको नाममा शपथ खान सकिन्छ भने संसद्मा गायत्री मन्त्र गाउन सकिन्छ । म सबै धर्मलाई सम्मान गर्छु, तर माई रिलिजन इज माई प्राइड । कुनै पनि धर्ममा भेद छैन,मान्छेको मनमा भेद छ । त्यसैले सर्वधर्म सम्पन्न नेपाल हिन्दु राष्ट्र कायम होस्, जयश्रीराम ।’

सबै भूमिहीनले लालपुर्जा पाउँछन् : मन्त्री चौधरी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री चौधरीले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य आफूले लिएको दाबी गर्दै भन्नुभयो, ‘मेरो पालामा भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरू छन् । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु ।’ मन्त्री चौधरीले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको भन्दै उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
संघीय संसद् राष्ट्रियसभामा समाजवाद उन्मुख अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा) प्रस्तावक रहेको उक्त प्रस्तावमा आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता औँल्याइएको छ । शाहको प्रस्तावमा राष्ट्रियसभामा रहेका सबै दलका सांसदहरू समर्थक रहनुभएको छ । नेपाली कांग्रेसका सांसद अनिता देवकोटा, जितेन्द्र नारायण देव, नेकपा एमालेकी दिलकुमारी रावल (पार्वती), नेकपा माओवादी केन्द्रका सुरेश आले मगर, नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवी राई, जनता समाजवादी पार्टी (जसपा)की प्रमिला कुमारी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंह, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा, डा.विमला राई पौड्यालले समाजवाद उन्मुख अर्थतन्त्र विकाससम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको हो । संकल्प प्रस्तावमा सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । सार्वजनिक महत्वको प्रस्तावमा आर्थिक संकट समाधानका उपायहरू सुझाइएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाइनुपर्नेमा जोड दिइएको छ । वर्तमान आर्थिक संकट समाधानका लागि विद्यमान बैंकिङ प्रणालीमा आधारभूत फेरबदल गर्नुपर्ने, उद्यमशीलतामा आधारित वित्त तथा मौद्रिक नीति तर्जुमा गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाई उद्योग व्यवसायलाई धराशायी हुनबाट जोगाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना जारी गर्नुभएको हो । बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभाको नियमावलीअनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ । महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गर्नुभएको छ । यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो । चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो । वैशाख ४ गतेको राष्ट्रियसभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो । तर, मंगलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद् सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?