इलाम, बझाङ, । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । इलाम-२ मा १९ उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदान स्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो । मतगणना आइतबार बिहान ७ बजेदेखि सुरु गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । उहाँका अनुसार, सबै मतपेटिका संकलन हुन मध्यरातसम्म लाग्नसक्छ । मतपेटिका संकलनपश्चात् सर्वपक्षीय सहमतिपछि मतगणना सुरु गरिने बताइएको छ । इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्बाङ, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
उता, बझाङमा पनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । बझाङ प्रदेशसभा निर्वाचन (१) मा भइरहेको मतदानमा सबै निर्वाचन क्षेत्रमा करिब ५० प्रतिशत मात्रै मत खसेको प्रारम्भिक अनुमान छ । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको थियो । यातायात पुगेका मतदान स्थल तथा मतदान केन्द्रहरूको मतपेटिका सुरक्षा व्यवस्थासहित शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्ला अदालतमा ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार सडकको पहुँच भएका ठाउँबाट सुरक्षाकर्मीसहित मतपेटिका सदरमुकाम ल्याइनेछ भने सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाको मतपेटिका आइतबारसम्म हेलिकोप्टरमार्फत ढुवानी गरिनेछ । आइतबारसम्म सबै ठाउँका मतपेटिका ढुवानी सकिएपछि सर्वदलीय बैठक बसी मतगणना गरिने भएको छ । यहाँ कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमनबहादुर भण्डारी, माओवादी केन्द्रबाट जनकबहादुर बुढा र राप्रपाबाट किशोरकुमार खड्का उम्मेदवार हुनुहुन्छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार सम्पन्न इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिनुभएको छ । सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतदानमा मतदाताले जनाउनुभएको सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्र प्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ ।’
किन भयो कम मतदान ?
इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा मुख्य निर्वाचनमा जस्तो मतदाताको उल्लेख्य सहभागिता भएन । निर्वाचन आयोगले पाएको प्रारम्भिक विवरणअनुसार इलाम क्षेत्र नम्बर २ मा ५७ प्रतिशत हाराहारी र बझाङमा ५० प्रतिशत हाराहारी मतदान भएको छ ।
आयोगले गरेको अपेक्षाभन्दा केही थोरै मतदान भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिक्रिया दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हिमालय टाइम्ससँग भन्नुभयो, ‘निर्वाचनमा मतदाता कम हुनुमा दुई तीनवटा कारण हुनसक्छ । मतदाता नामावली अद्यावधि गर्नका लागि हामीले जति आग्रह गरे पनि त्यो अपडेट नगर्ने अवस्थाले हुनसक्छ । जस्तो मृत्यु भएको मान्छेको मतदाता नामावलीमा नाम समावेश भइरहनु, त्यसबारे आयोगलाई जानकारी नगराउँदा, घर परिवारका मान्छेले आयोगलाई जानकारी नगराएसम्म हामीले हटाउन सक्दैनौँ । मतदाता नामावली नै कम अपडेट हुनु पनि कारण हुनसक्छ ।’ उहाँले अगाडि भन्नुभयोे, ‘अर्को कुरा त्यहाँका मानिसहरू उक्त जिल्लाबाहिर जागिरे होलान्, कतिपय विदेश पनि गएका होलान् । त्यहाँ मौजुद रहेमा मानिसहरूले भोट नहालेको भन्ने देखिँदैन । इलामका कतिपय मैले चिनेका मान्छेलाई फोन गरेर कहाँ हुनुहुन्छ ? भनेर सोध्दा काठमाडौंमै छु भन्छन् । काठमाडौंमा भएका कर्मचारी पनि गएनन् । मतदाता नामावलीमा नाम छ तर मान्छे त्यहाँ छैन, त्यस कारणले पनि मत कम खसेको हो ।’ यस्तै, पहिला कर्मचारीका लागि अस्थायी मतदाता नामावली बनाएर जहाँ खटिएको छ त्यहीँ मतदान गर्न पाउने व्यवस्था गरेकोमा अहिले सो नगरिएको उल्लेख गर्नुभयोे । राष्ट्रिय निर्वाचन जस्तो उपनिर्वाचनमा उत्साह पनि कम हुने भएकाले अहिले खसेको मत ठिकै रहेको थपलियाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच