समाजका विविध विषयवस्तु पस्किनका लागि साहित्यलाई माध्यम बनाएँ : भण्डारी

गीता अधिकारी
Read Time = 10 mins

नारी हस्ताक्षर राधादेवीको सामाजिक उपन्यास ‘खुला कैदी’ केही समय पहिला पाठकमाझ आएको थियो । यस उपन्यासलाई सहयात्री दर्पण नेपालले प्रकाशन गरेको हो । राजनीतिमा पनि सक्रिय रहनुभएकी राधादेवी साहित्यतर्फ पनि त्यत्तिकै सक्रिय रहँदै आउनुभएको छ । त्यसैको पछिल्लो उपज हो ‘खुला कैदी’ । गीत, कविता, कथा एवं मुक्तकमा पनि कलम चलाउनुहुने भण्डारीको दोस्रो कृति पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । नयाँ वर्षको छेको पारेर आफ्नो दोस्रो उपन्यास पाठकमाझ ल्याउन लागेको बताउनुहुने उहाँ आफूले देखे, भोगेका, अनुभव गरेका साथै समाजका विषयवस्तु साहित्यमार्फत् पस्किने बताउनुहुन्छ । आफूले देखे, भोगेका, अनुभव गरेका विषयवस्तु समाजमा पस्किनका लागि साहित्यलाई रोजेकी हुँ भन्नुहुने साहित्यकार राधिका भण्डारीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
नयाँ उपन्यासको तयारीमा छु । यसको अन्तिम चरणमा छु । देश-विदेश भ्रमण र विभिन्न कार्यक्रमले गर्दा केही ढिलो भएको छ ।

नयाँ उपन्यास कहिले पाठकमाझ ल्याउने जमर्को गर्नुभएको छ ?
सायद नयाँ वर्षमा आउँछ कि । यही उपन्यासबाट फिल्म बनाउने पनि सोच बनाएकी छु । प्रेम कहानीमा आधारित उपन्यास हो यो ।

यहाँको नेपाल बाहिरको भ्रमण बाक्लै हुने गइरहेको पाइन्छ, अहिलेसम्म कुन–कुन देशको भ्रमण गर्नुभयो ?
म स्विजरल्याण्ड, जर्मन, अष्ट्रिया, चीन, भारत, अजरवैजान, दुबई, कुवेत, इजिप्टलगायतका देश पुगेकी छु ।

हाम्रो समाज, परिवेश, भोगाइ, परिस्थिति नै मेरो लेखनका विषयवस्तु हुन् । अलिक बढी नारीका पीडा, भोगाइका विषयमा लेख्न रुचाउँछु । मुख्य कुरा त आत्मसन्तुष्टि नै हो । साहित्यलाई समाजको दर्पण भनिन्छ । त्यही दर्पणलाई देखाउनु मेरो लेखन हो । समाजलाई झकझकाउनु हो ।

साहित्यतर्फ कसरी आकर्षित हुनुभयो ?
सुरुमा त रहरले आएँ । यो क्षेत्र मेरो रुचिको क्षेत्र पनि हो । आफूले देखे, भोगेका, अनुभव गरेका विषयवस्तु समाजमा पस्किनका लागि मैले यो माध्यम रोजेकी हुँ ।

सुरुमा यहाँको साहित्यिक रचना के थियो ?
मैले सुरुवाती चरणमा जानीनजानी कविता नै कोरेँ । यस्तै, गीत, गजल, मुक्तक पनि लेख्ने गरेकी छु । लघुचलचित्रको स्टोरी पनि लेख्ने गरेकी छु ।

यहाँको लेखाइमा कस्ता विषयवस्तुले प्राथमिकता पाउने गर्छन् ?
हाम्रो समाज, परिवेश, भोगाइ, परिस्थिति नै हुन् । अलिक बढी नारीका पीडा, भोगाइका विषयमा लेख्न रुचाउँछु ।

यहाँको सिर्जनाको मुख्य उद्देश्य ?
मुख्य कुरा त आत्मसन्तुष्टि नै हो । अर्को कुरा साहित्यलाई समाजको दर्पण भनिन्छ । त्यही दर्पणलाई देखाउनु हो । समाजलाई झकझकाउनु हो ।

यहाँको पाठकमाझ आएको उपन्यास ‘खुला कैदी’ कस्तो उपन्यास हो र पाठकको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
खुला कैदी हाम्रै परिवेशको उपन्यास हो । पढ्दै जाँदा हामीले देखे, भोगेका, अनुभव गरेका विषयवस्तु मैले यसमा पस्किएकी छु । पाठकको प्रतिक्रिया पनि राम्रै पाएकी छु । आमाको डायरीलाई छोरीले लुकीलुकी पढेको कथालाई कृतिमा उनिएको छ । हेर्दा खुला देखिए पनि भित्रभित्र नारीहरू कैद भएका हुन्छन् भन्ने यसमा व्यक्त गर्न खोजिएको छ । यो कैदबाट मुक्त हुनुपर्छ भन्ने यस कृतिको आशय रहेको छ । उपन्यासमा वर्तमान हाम्रो सामाजिक परिवेशलाई चित्रण गर्ने कोसिस गरेकी छु । नारीहरू कैदबाट मुक्त हुनका लागि प्रतिस्पर्धामा आउनुपर्छ भन्ने सन्देश यसमा दिन खोजिएको छ । आफैं केही गर्न सक्छु भन्ने धेरै नारी पात्र कैदीका रूपमा रहेको र आफैंले आफैंलाई चिनेर कैदका जन्जिरहरू तोड्नुपर्छ भन्ने यसको आशय छ । हाम्रै समाजको कथाव्यथा छ खुला कैदीमा । केवल पात्रहरूमात्र फरक हुन् । कतै-कतै काल्पनिक कथावस्तु पनि होलान् । तर, कहीँ न कहीँबाट त्यसको मूल हाम्रो समाज नै हो । अन्य कुरा एकपटक यो उपन्यास पढेपछि पाठकलाई थाहा भइहाल्छ । जतिले पढ्नुभएको छ राम्रै प्रतिक्रिया दिनुभएको छ । जसले पढ्नुभएको छैन एकपटक पढेर प्रतिक्रियाको अपेक्षा राख्दछु ।

राधा भण्डारी को हो ?
यो समाजको एक प्रतिनिधि पात्र । एक सचेत नागरिक । अनेक व्यवधानका बीच पनि मुस्कुराइरहेको एक असल नागरिक । समाजलाई र राष्ट्रलाई केही योगदान गरौँ भन्ने अभिप्रायले आफूलाई हरसमय चलायमान बनाइरहेकी एक नारी ।

यहाँले देखेका, भोगेका र अनुभूति गरेका आधारमा भन्नुपर्दा जीवन के रहेछ ?
जति सिक्यो कहिल्यै नसकिने एउटा निरन्तर यात्रा रहेछ जीवन । अनेक बाधा व्यवधानबीच, अनेक संघर्षबीच कहिले सफल र कहिले असफल हुँदै सफलताका लागि अघि बढिरहने यात्रा हो जीवन । सुख-दुःख, हाँसो-रोदनको संगम हो जीवन ।

राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
देश राम्रो हुनका लागि त्यो देशमा कुशल राजनेताको आवश्यकता पर्दोरहेछ । स्थिर राजनीतिले समृद्धिको यात्रा तय गर्ने रहेछ । राजनीति राम्रो हुँदामात्रै धेरै कुरा राम्रो हुने रहेछन् । विडम्बना हाम्रो देशको राजनीति अस्थिर छ । यसले राम्रो संकेत गर्दैन । आफ्ना व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर देश बनाउनका लागि सबै एकजुट हुनु आजको आवश्यकता हो तर हाम्रो देशको विडम्बना त्यसो हुन सकेको छैन । जसले गर्दा आमजनताले अनेक दुःख, कष्ट भोग्नुपरेको छ । देशको युवा शक्ति विदेशमा पसिनासँग पैसा साट्न बाध्य छ । देशको युवा शक्ति आफ्नो पाखो बञ्जर बनाएर मरुभूमि हराभरा बनाउन हिँडिरहेको छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशमा आफ्नो भविष्य खोज्दै यात्रामा रहेकाहरूको लर्को देखिन्छ । उनीहरूले विदेशबाट पठाएको रेमिट्यान्समा हामी खुसी खोजिरहेका छौँ । यसले कालान्तरमा राम्रो गर्दैन । युवा शक्तिलाई देश विकासमा लगाउन जरुरी छ । उनीहरूलाई यहीँ उचित अवसरको खाँचो छ ।

अन्त्यमा ?
मेरा केही कुरा राख्ने मौका दिनुभएकोमा आभारी छु । ‘जीवनमा कतिपय सपनाहरू पूरा हुँदैन भन्ने जान्दाजान्दै पनि सपना देख्न मन लाग्छ । कसले देखेको छ भाग्यलाई ! आज रुने मान्छे भोलि हाँस्न सक्छ । आज हाँस्ने मान्छे भोलि रुन सक्छ । त्यसैले होला अरूको आँसु देखेर आफूलाई भाग्यमानी सोच्न सकिनँ । कहिल्यै नबुझिने जीवनको अर्थ त आँसुमा पो रहेछ । चुपचाप मनभित्रै रुन्छ । आँखामा आँसु नदेखाउनेहरू पनि त रोएका छन् नि !’ मेरो उपन्यास कृति खुला कैदीका यी शब्दै राख्दै यहाँलाई यस वार्ताका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?