टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व टेबल टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहनेछ । भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट पाँच/पाँच पुरुष/महिला खेलाडी सहभागी हुने बताइएको छ ।

पुरुष/महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ । पुरुष/महिलामा १६-१६ खेलाडी छनोट हुनेछन् । नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्नुहुनेछ । महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापा मगरले खेल्नुहुनेछ । खेलाडीलाई मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइरहनुभएको छ ।

शंकर गौतमले प्रतियोगिता निर्देशन, तेजेन्द्रसिंह महराले कम्पिटिसन म्यानेजर र आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले व्यवस्थापन समितिको जिम्मेवारी पाउनुभएको छ । प्रतियोगितालाई एनसेल एक्सजियटा लिमिटेड, नेपाली घर, ब्रोडलिंक, नेविकोलगायतका संस्थाले प्रायोजन गर्ने वैद्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?