काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पुनः नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा फर्किन इच्छुक देखिएको छ । सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ताको केही दिनअघि जसपा सत्ता गठबन्धनबाट बाहिरिएको थियो । गठबन्धनबाट बाहिरिएलगत्तै जसपा नेकपा एमालेसँग जोडिन पुग्यो । तर, एमालेसँग तालमेलले अपेक्षित चुनावी परिणाम हात पार्न नसकेपछि जसपा पुनः सत्ता गठबन्धनमा आबद्ध हुन इच्छुक देखिएको हो ।
एमालेसँग तालमेल गरे पनि जसपाका अध्यक्ष स्वयम् उपेन्द्र यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट नराम्ररी पराजित हुन पुग्नुभयो । यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बरभन्दा बढी मतले पराजित गर्नुभयो । सिके राउतले ३५ हजार ४२ मत ल्याउँदा जसपाका केन्द्रीय अध्यक्ष यादवले भने १६ हजार ९७९ मत मात्रै ल्याउनुभएको थियो । पार्टी अध्यक्ष पराजित हुनुमा नेकपा एमालेले तालमेलप्रति इमानदारी नदेखाएको र एमालेका नेता तथा कार्यकर्ताहरूले तामेलको भावनाविपरीत यादवका प्रतिस्पर्धी राउतलाई भोट हालेको जसपाको ठहर छ । जसपा बाहिरिएलगत्तै मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा जोडिएको थियो ।
सत्ता गठबन्धन दलका नेताहरूले पनि जसपालाई पुनः गठबन्धनमै फर्काउन पहल गरिरहेका छन् । जसपालाई फेरि सत्ता गठबन्धनमै फर्काउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल सुरु गर्नुभएको स्रोतको भनाइ छ । चुनावी परिणाम आउँदै गर्दा मंसिर १३ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लामो छलफल भएको छ । गठबन्धनमा फर्किन जसपा अध्यक्ष यादव पनि सकारात्मक रहेको दाहालनिकट स्रोतको भनाइ छ ।
जसपालाई सहभागी नगराए पनि आगामी सरकार गठन गर्न वर्तमान सत्ता गठबन्धनको नै बहुमत पुग्ने अवस्था भएको छ । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदमविरुद्ध खरो उत्रिएको र वर्तमान सत्ता गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पनि जसपालाई फर्काउने प्रयास भएको नेताहरूको भनाइ छ । गठबन्धनमा फर्किन सकारात्मक देखिए पनि अध्यक्ष यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि निकट सम्पर्कमा रहेको स्रोतको दाबी छ । सप्तरी-२ मा पराजित भएपछि काठमाडौं फर्किनुभएका अध्यक्ष यादवले एमालेका अध्यक्ष ओलीसँग पनि छलफल गर्नुभएको छ । जसपा अहिले कुनै पनि गठबन्धनमा नरहेको भन्दै अध्यक्ष यादवनिकट एक नेताले भन्नुभयो, ‘चुनावमा एमालेसँग केही सिटमा तालमेल मात्र गरिएको थियो । चुनाव सकिएपछि अहिले त्यो दलसँग कुनै गठबन्धन छैन । हाम्रो पार्टीले दुवै गठबन्धनसँग कुराकानी गरिरहेको छ, जोसँग कुरा मिल्छ, हाम्रो मुद्दा र एजेण्डालाई जसले साथ दिन्छ, उसैलाई सहयोग गर्ने हाम्रो रणनीति छ ।’
यो चुनावमा अपेक्षाकृत सिट ल्याउन नसकेपछि पार्टीमा गम्भीर समीक्षा सुरु भएको जसपाका नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष स्वयम् नै पराजित भएको विषयलाई गम्भीर रूपमा लिएर समीक्षा भइरहेको उनीहरूको भनाइ छ । पार्टी अध्यक्ष यादवले मंसिर १३ गते प्रदेश तथा जिल्ला समन्वय समितिलाई परिपत्र पठाएर चुनावी समीक्षा गरेर १५ दिनभित्र केन्द्रमा प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ ।
एमालेबाट धोका भयो : यादव
सत्ता पक्षसँगको चुनावी तालमेल तोडेर अन्तिम समयमा एमालेसँग गठबन्धन गरेको जसपालाई यो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ठूलो क्षति हुन पुगेको छ । २०७४ को आम निर्वाचनमा मधेश प्रदेशको पहिलो पार्टी बनेको जसपा यसपटक तेस्रो स्थानमा झरेको छ । तर, जसपासँग गठबन्धन गरेको एमाले तेस्रो दलबाट पहिलो पार्टी भएर उदाएको छ । २०७४ मधेश प्रदेशका आठ जिल्लामा जसपाले प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकसहित १६ सिट र प्रदेशसभामा २९ सिट जितेको थियो । तर, यसपटक भने प्रतिनिधिसभा प्रत्यक्षतर्फ सात र प्रदेशमा नौ सिट मात्र जितेको छ । जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले एमालेसँगको गठबन्धनमा बारा, पर्सा, रौतहटसहित सबै जिल्लामा ठूलो क्षति भएको टिप्पणी गर्दै भन्नुभयो, ‘यसपटक मधेश प्रदेशमा जसपाको आधा सिट घटेको छ, अन्तिम अवस्थामा एमालेसँगको गठबन्धनले हामीलाई ठूलो धक्का लाग्यो । बरु हामीले एक्लै चुनावको तयारी गरेको भए यो अवस्था हुँदैनथ्यो, आफ्नै साथीहरू टिकट नपाएर अन्य पार्टीमा प्रवेश गरेर चुनाव लडे । हामीले इमानदारीपूर्वक मत दिँदा एमालेलाई धेरै फाइदा भयो, एमाले मधेश प्रदेशमै पहिलो पार्टी भयो तर एमालेले हामीलाई भोट दिएन, ठूलो धोका भयो ।’ बारा-३ मा जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव आफैँ पराजित हुनुभयो ।
जसपा मधेश प्रदेश अध्यक्ष यादव निर्वाचनको मुखमा सत्ता पक्षसँगको गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नु ठूलो भूल भएको जिकिर गर्दै भन्नुहुन्छ, ‘तुरुन्तै गठबन्धन परिवर्तन गर्नु गलत भयो, एकाएक जनताले पुरानो गठबन्धनमा हामीलाई रुचाएका थिए, एमालेसँग गठबन्धनमा जाँदा पार्टीलाई ठूलो धोका भयो । एमाले मधेशको विपक्षमा, नागरिकताको विपक्षमा, संविधानलाई नरुचाउने गतिविधिको असर हामीलाई देखियो, त्यसको असरले हाम्रो मत सिके राउतले पाएको देखिन्छ ।’ निर्वाचनको मुखमा नागरिकता विधेयकमा राष्ट्रपतिले चालेको कदममा एमालेले साथ दिएको थियो । तर, जसपाले राष्ट्रपतिको कदमको विरोध गरे पनि एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि मधेशका मतदाता रिसाएको नेताहरूको जिकिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच