नेपाल पत्रकार महासंघ जुम्लाको १९ औं साधारणसभा तातोपानी धारामा सम्पन्न

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको १९ औं साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन जिल्लाको तातोपानी गाउँपालिका-२ स्थित तातोपानी धारामा सम्पन्न भएको छ । यहाँको आन्तरिक पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको ऐतिहासिक ठाउँमा महासंघको साधारणसभा सम्पन्न भएको नेपाल पत्रकार महासंघ जुम्ला शाखाका सचिव मानदत्त रावलले जानकारी दिनुभयो ।

पर्यटन प्रवर्द्धन गर्न तातोपानी धारामै महासङ्घको साधारणसभा तथा तातोपानी मिडिया सम्मेलनबाट सात बुँदे घोषणापत्र जारी समेत गरिएको सचिव रावलले बताउनुभयाे । उहाँले भन्नुभयो, “महासङ्घ स्थापनाको इतिहासमा पहिलो पटक सदरमुकाम भन्दा बाहिर गएर तातोपानी धारामा साधारण सभा भएको छ । ”

तातोपानीको पर्यटन प्रवर्द्धन, पर्यटकको आगमनमा वृद्धि, प्रचार प्रसारमा जोड दिन र समृद्ध पालिका बनाउने उद्देश्यले तातोपानी धारामा महासङ्घ साधारणसभा गरिएको पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गुमनाम गिडिदहको प्रचारमा जुम्ली मिडियाले उल्लेखीय भूमिका खेल्यो । अब तातोपानीको पर्यटन प्रर्बद्धनमा मिडियाले उजागर गर्ने छ । साधारण सभाले पर्यटन प्रर्बद्धनमा कोशे ढुङ्गा सावित हुने विश्वास छ ।”

आर्थिक समृद्धिको प्रचुर सम्भावना बोकेको तातोपानीको विकासमा राज्यको ध्यान केन्द्रित गर्न तथा पर्यटक वृद्धि गर्नेमा आशा पलाएको तातोपानीका स्थानीयवासि बताउँछन । तातोपानी समृद्धिका मार्ग भनेकै पर्यटन हो । तातोपानीका गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो, “गिडिदह र तातोपानीमा पूर्वाधार निर्माण, प्रचार प्रसार गरी पर्यटक भित्राउने सकिने सम्भावना छ । पर्यटन प्रवर्द्धनका लागि संघ प्रदेशबाट लगानी जुटाउन पहल भइरहेको छ ।” विकास निर्माण तथा अन्य जनहितका काममा महासङ्घसँग समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाइने समेत अध्यक्ष चौलागाईको भनाइ रहेको छ ।

सात बुँदे घोषणापत्र जारी

महासङ्घको आयोजना तथा तातोपानी गाउँपालिका जुम्लाको सहयोगमा सम्पन्न भएको वार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलनले सात बुँदे घोषणा पत्रसमेत जारी गरेको छ ।

जुम्ली पत्रकारहरूको हक, हित संरक्षण, पेशागत सुरक्षाको लागि पहल, पत्रकारको सुरक्षाको सुनिश्चितता,राष्ट्रिय मिडियामा कार्यरत क्रियाशील कर्णालीका स्टेञ्जर पत्रकारलाई तलबी बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, दुर्गम क्षेत्रका पत्रकारहरूलाई क्षमता अभिवृद्धिका कार्यक्रममा जोड दिन र स्थानीय सञ्चार माध्यमको लोकल्याणकारी विज्ञापनमा दुर्गमका सञ्चार माध्यमलाई दोब्बर बढीसहित प्राथमिकता दिने मागसहित ७ बुँदे घोषणापत्र जारी गरिएको नेपाल पत्रकार महासंघ जुम्ला शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?