मौद्रिक नीतिले होटल व्यवसायी निराश

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । होटल संघ नेपाल(हान)ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न नसक्ने जनाएको छ । कोरोना, रुस र युक्रेनको युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिमार्फत् पुनर्कर्जा, पुनर्तालिकीकरणजस्ता मौद्रिक उपायका साथै कम ब्याजदरको व्यवस्थाबाट जगेर्ना गर्न आनले पहल गरे पनि सम्बोधन नभएको जनाएको हो ।

चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको जनाउँदै आर्थिक गतिविधिसमेत बढेको जनाए पनि निरन्तर थपिँदै गएको तारेलगायतका होटलको कुल क्षमताको एक तिहाइभन्दा पनि कम क्षमता उपयोग भई सञ्चालनमा समेत घाटा रहेको विद्यमान अवस्थामा होटलहरूले बैंकलाई नियमित बुझाउनुपर्ने सावाँ र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको हानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको मौद्रिक नीतिको समीक्षाले तिर्नु बुझाउनुपर्ने सावाँब्याज पुनर्कर्जा तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको भए तापनि अहिले नीतिमा थप कुनै व्यवस्था नभएकाले होटल तथा पर्यटन क्षेत्र अन्योलपूर्ण अवस्थामा पुगेको हानले जनाएको छ ।

मुलुकमा विश्वविख्यात होटल ब्राण्ड भित्रिने क्रम बढ्दै गएको भए पनि मौद्रिक नीतिले प्रोत्साहित गर्न नसकेको, ग्राहक पर्यटकका लागि उपयोग गर्ने तरकारीलगायतका कच्चा पदार्थमा लगाइएको कर र विलासिलाका नाममा लिइएको करबाट पनि मुलुकमा पर्यटन अभिवृद्धि गर्न अप्ठ्यारो परेको संघको भनाइ छ ।

सरकारले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटक, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकको कार्यक्रम सार्थक तुल्याउन पनि मौद्रिक नीतिले सम्बोधन गरी लगानीकर्तालाई प्रोत्साहित गर्दै अर्थतन्त्र चलायमान बनाउने गरी निर्देशिका आउने हानको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?