जिल्ला अस्पतालकाे एक्सरे सेवा बन्द, सेवाग्राही मारमा

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । जिल्ला अस्पताल खोटाङको एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरहरू नहुँदा अस्पतालको एक्सरे सेवा बन्द भएको हो ।

कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बाबुको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्सरे सेवा बन्द गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताउनुभयाे । जिल्ला अस्पतालले आइतबार २५ देखि २९ मंसिरसम्मका लागि एक्सरे सेवा बन्द गरिएको सूचना जारी गरेको थियो ।

जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्सरे हुने गरेको छ । एक्सरे गर्न आएका बिरामी अन्यत्र गइरहेका छन् । एक्सरेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । एक्सरे गर्न जिल्ला अस्पताल पुग्दा १ पुसमा आउन भनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताउनुभयाे ।

बाबुको उपचारमा एक जना रेडियोग्राफर भारत गएपछि १५-२० दिनदेखि एक्लै काम गर्दैआएका रेडियोग्राफर पनि बिदामा बसे । त्यसपछि एक्सरे सेवा बन्द भएको हो । वैकल्पिक व्यवस्थाका लागि केहि रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्सरे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा. यादवले बताउनुभयाे । एक्सरे सेवालाई नियमित गराउनका लागि पहल भइरहेको उहाँकाे भनाई छ ।

जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?