हाल राष्ट्रमा व्यापक निराशा छाएको छ । प्रत्येक चोक गल्ली, चिया पसल र जनताले एकआपसमा गर्ने गफगाफमा नेता, नेतृत्व र विद्यमान राज्यप्रणालीप्रति समेत असन्तुष्टि, निराशा र त्यसको प्रतिक्रियास्वरूप व्यापक मात्रामा क्रोधको अभिव्यक्ति सुन्न पाइन्छ । राजनीति, राज्यप्रणाली र संसारको पछिल्लो चरणको परिवर्तनलाई बुझेका केही मानिसहरूले वर्तमान राज्यप्रणालीलाई उत्कृष्ट मानेका छन् तर गाडी नयाँ र कन्डिसनको भए पनि त्यसका चालकहरू भने सही नभएको प्रतिक्रिया तिनको रहने गरेको छ । तर, जनताको सबैभन्दा ठूलो वर्ग भनेको राज्यप्रणालीको लेखाजोखा गर्न सक्ने अवस्थामा छैन । संसार बुझेको छैन । परिवर्तन र जनताले दिएको बलिदानी तिनले बुझेका पनि छैनन् तर राजनेताको कार्यशैलीमात्र हेरेका छन् र आलोचना गरिरहेका छन् । देशमा जनताको त्यो संख्या ठूलो छ ।
यसलाई अस्वाभाविक भन्न मिल्ने ठाउँ छैन । हिजोसँगै काम गरेकामध्ये केही सरकारमा पुगेका छन् तर अर्को वर्ग अहिले पनि जहाँको त्यहीँ छ । परिवर्तन भनेको राज्यव्यवस्थाको परिवर्तनमात्र होइन जनताको जीवनस्तरमा आउने परिवर्तन हो । जनताको जीवनस्तर जहाँको त्यहीँ छ, जस्ताको तस्तै छ । निर्वाचनका बेला केही पैसा, अलिकति रक्सी र एक/दुई छाक मासुभात खुवाएर तिनलाई आपूmलाई मत दिन बाध्य पारेर सरकारमा पुग्ने नेताहरूका लागि जनतामाथि उक्लिने भर्याङमात्रै बनिरहेका छन् । व्यवस्था राम्रो भएरमात्रै हुँदैन त्यसले जनताका लागि केही गर्न सक्नुपर्छ । पिंजडा सुनको भए पनि त्यसका चरालाई बन्दी बनाइने नै हो ।
हालको राज्यप्रणाली यस्तै सुनको सुन्दर पिंजडाजस्तो मात्र बन्नपुगेको छ, जनता भने यसमा बन्दीजस्ता छन् । यही कारणले देशबाट युवाहरू जति पलायन भइसकेका छन् र यो क्रम आज पनि जारी छ । गणेशमान सिंहले भन्नुभएजस्तै देशले एकजनामात्रै पनि गतिलो र आसलाग्दो राजनेता पाउन सकेको छैन । हजार जना नेताभन्दा एकजना राजनेताले राष्ट्रलाई मार्गदर्शन गर्नसक्ने कुरा निर्विवाद छ तर सिंहले भन्नुभए जसरी राजनेता बन्न लायक नेता देशले पाउन सकेन । यसलाई विडम्बना मान्नैपर्छ । यस्तै बग्रेल्ती समस्यालाई हेरेर राष्ट्रपति रामचन्द्र पौडेलले ठूला दलका शीर्ष नेताहरूलाई शीतल निवासमा बोलाएर चासो व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति राष्ट्रको अभिभावक भएका कारण चासो र चिन्ता व्यक्त गर्नु स्वाभाविक हो तर उहाँ एकजनाले मात्र चासो व्यक्त गर्दैमा राष्ट्रमा व्याप्त सम्पूर्ण समस्याहरू छुमन्तर हुन्छन् भन्ने होइन । उहाँले सर्वदलीय भेला गर्नुभएको हो । संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू निर्माण गर्न उहाँले सरकारलाई सुझाब दिनुभएको छ । वर्तमान संविधान लागू भएको आठ वर्ष बितिसकेको छ र वर्तमान राज्यप्रणाली त्यसभन्दा पुरानो भइसकेको छ तर अहिलेसम्म संविधान कार्यान्वयन भइनसकेको भन्नुलाई सरकारको अकर्मन्यता, लाचारी वा कमजोरी हो भन्दा अन्यथा हुनेछैन ।
सरकारमा बस्नेहरूलाई पनि यसबारे जानकारी नभएको त अवश्यै होइन होला तर स्वार्थमा मात्रै चुर्लुम्म डुब्ने र जनताका समस्याप्रति बेवास्ता गर्ने उहाँहरूको प्रवृत्ति यसको कारक भएर आएको हुनाले हाल देशमा अनेकौं समस्या झाँगिँदै गएका हुन् र जनतामा चरम निराशा छाएको हो । यो राज्यप्रणाली सबैका लागि हो, नेताहरूका लागि मात्रै होइन । त्यसो हो भने किन नेताहरूले पटक-पटक गणतन्त्रको संरक्षणका लागि एक हुनुपर्छ भनेर आवाज उठाइरहेका छन् ? राष्ट्रपतिले आयोजना गर्नुभएको दिवाभोज बहिष्कार गर्नु एमालेको अनुपयुक्त विचार हो । आफ्नो विमति भएको भए त्यही गएर व्यक्त गरेको भए त्यसलाई बरू सही मान्न सकिँन्थ्यो । नेपाल मजदुर किसान पार्टीबाट सांसद बन्नुभएका प्रेम सुवाल जो पार्टीबाट अल्पसंख्यक सांसदसमेत हुनुहुन्छ उहाँले एक्लै भए पनि त्यहाँ गएर आफ्नो अभिमत व्यक्त गर्नुभएको छ ।
उहाँले सार्वजनिक शिक्षा ध्वस्त भएको छ । त्यसकारण प्रधानमन्त्री र शिक्षामन्त्री बोलाएर ध्यानाकर्षण गर्नुपर्यो भन्ने सुझाब राष्ट्रपतिलाई दिनुभयो । यसमा कसैको विमति हुन सक्दैन । सही कुरालाई सही हो भन्ने आँट सबैले गर्नुपर्छ । यस्ता कुरामा आफ्नो पार्टीको र अरूको पार्टीको भनेर कित्ताकाट गर्नु उचित हुँदैन । राष्ट्रपतिबाट जनताको निराशाको सबालमा जुन भेला गरेर सरकारको ध्यानाकर्षण भयो यो स्वाभाविक हो । निराशालाई चुलिइरहन दिने हो भने वर्तमान प्रणालीसमेत धरापमा पर्ने सम्भावनालाई नकार्न सकिँदैन । तर, यो राष्ट्रपतिको मात्र चासोको विषय होइन सबैभन्दा चासो र जिम्मेवारी त सरकारले लिनुपर्नेहुन्छ । सरकारले यसतर्फ सोच्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच