अख्तियारद्वारा नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चावहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरी २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।

यो अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार ७४८ बराबर रहेको पाइएको छ । त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जालगायत रहेको छ ।

यो अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार ६९० बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार ९४१ बराबरको बिगो दाबी गरिएको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ । आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताउनुभयो ।

यस्तै, झुटो प्रमाणपत्र पेशगरी सामाजिक परिचालक पदमा जागिर खाने मोहम्मद तेलीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटरीमाई गाउँपालिका-१ मा सामाजिक परिचालक पदमा कार्यरत गौस मोहम्मद तेलीविरुद्ध शैक्षिक योग्यताको झुटो प्रमाणपत्र पेशगरी जागिर खाएको अभियोगमा मुद्दा दायर गरेको छ ।

उनले झुटो प्रमाणपत्र पेशगरी सामाजिक परिचालक पदमा जागिर खाएको खुलेको भन्दै अख्तियारले आइतवार उच्च अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो ।

उनले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद भारतबाट हाईस्कुल उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुटो प्रमाणपत्र पेश गरी सामाजिक परिचालक पदमा जागिर खाएको पुष्टि भएको अख्तियारले जनाएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ । ऐनको दफा १६ को उपदफा (१) मा झुटा विवरण पेशगरी जागिर खाएको पुष्टि भएका ६ महिनादेखि एक वर्ष कैद र १० देखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?