महिला तथा पुरुष लिग भलिबल असार अन्तिम साता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने सातौँ प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग-२०८० असार अन्तिम साता हुने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले वार्षिक कार्यक्रम (२०७९/८०) अनुरूप नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत्रूपमा विकास, विस्तार र प्रवद्र्धन गर्दै र व्यावसायीकरण गर्दै लैजाने नीतिअनुरूप यही मिति २०८० असार २३ देखि ३० गतेसम्म सातौँ प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग गर्न गइरहेको जनाएको हो ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब- काठमाडौं , केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ बागढुंगा स्पोर्ट्स क्लब- रामेछाप गरी आठ क्लबहरू र महिलातर्फ नेपाल प्रहरी, हाङवाङ्जी न्यु डायमण्ड युथ स्पोटर््स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब-बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरूको सहभागिता रहने आयोजक संघले जनाएको छ ।

च्याम्पियनसिपमा सहभागी पुरुषतर्फ १५ र महिलातर्फ आठ टिमको प्रतिस्पर्धाबाट लिगका लागि पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको छनोट गरिएको थियो । लिगमा एक टिमबाट तीन विदेशी खेलाडीले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

लिगमा विजयी हुने टोलीले आगामी डिसेम्बर (नेपाल भलिबल संघले प्रस्ताव गरेअनुसार) मा नेपालमा आयोजना हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै, उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५÷३५ हजार रुपैयाँ, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ रुपैयाँ हजार प्राप्त गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्बाट लिग सञ्चालनका लागि ४० लाख सहयोग भएको छ भने माछापुच्छ्रे बैंकले एक लाख ५० हजार, संघका पूर्वउपाध्यक्ष रञ्जन खड्काले शेरबहादुर खड्का प्रतिष्ठानका तर्फबाट उत्कृष्ट खेलाडीहरूलाई प्रदान गरिने पुरस्कार रकम ७५ हजार र पूर्वअध्यक्ष मनोरञ्जन रमण शर्माले ५० हजार सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस्तै, मिडिया पार्टनर हाम्रो खेलकुदले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका साथै सम्झौताबमोजिमको आर्थिक सहयोग गर्नेसमेत पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?