धनगढीबाट ‘आमा बचाउ’ अभियान सुरु

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

धनगढी । धनगढी उपमहानगरपालिकाले प्रसुति सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । ‘आमा बचाउ’ अभियान अन्तर्गत उपमहानगरपालिकाले प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो । आमा र शिशुको जीवन रक्षाका लागि ‘आमा बचाउ’ कार्यक्रम पहिलो पटक उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको छ ।

ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले धनगढीबाट ‘आमा बचाउ’ अभियान कार्यक्रम सुरु गरेको नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताउनुभयो । ‘प्रसूति सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । हाल यसका लागि दुईवटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । ती एम्बुलेन्स प्रसुति महिलाका लागि मात्र प्रयोग हुनेछन् । अन्य विरामीका लागि उपलब्ध एम्बुलेन्स प्रयोग हुने छैनन् ।’

‘आमा बचाउ’ अभियान अन्तर्गत उपमहानगरले प्रसूति सेवाका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्था राखेको हो । एम्बुलेन्स प्रयोग गरेवाफत कुनै शुल्क लाग्ने छैन, उपमहानगपालिकाका प्रमुख गोपाल हमालले भन्नुभयो । ‘यो सेवा धनगढीबाट सुरु भएर क्रमिक रुपमा १९ वटै वडाभित्र सञ्चालन हुनेछ । विशेष गरी ग्रामीण भेगका गर्भवतीलाई लक्षित गरी यस्तो सेवा सुरु गरिएको हो ।’

हाल उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर स्वास्थ्य सेवा सुधारको क्षेत्रमा काम गर्दै आएको उपमहानगरको दाबी छ । ग्रामीण क्षेत्रमा आर्थिक रुपमा विपन्न गर्भवती महिलाले समयमा उपचार नपाउँदा ज्यान जाने सक्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको उपमहानगरले बताएको छ ।

साथै महानगरपालिकाले नगरभित्रको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर ‘एक वडा एक एम्बुलेन्स’ नीतिलाई कार्यान्वयनमा ल्याउने तयारी समेत सुरु गरेको छ । गत वर्षको नीति तथा कार्यक्रममा समावेश ‘एक वडा एक एम्बुलेन्स’ नीतिलाई यस वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी आवश्यक तयारी अघि बढाइएको छ ।

उपमहानगरद्वारा ‘आमा बचाउ अभियान’का लागि एम्बुलेन्स हस्तान्तरण

धनगढी उपमहानगरपालिकाले आमा बचाउ अभियानका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ । सोमबार वडा नम्बर १८ लाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । नगर प्रमुख गोपाल हमालको उपस्थितीमा उपप्रमुख कन्दकला रानाले वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै उपप्रमुख हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताउनुभयो । उहाँले नगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?