काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त हुनु भएको छ । एक वर्षयता विवाद र महाअभियोगको सामना गर्नुभएको जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त हुनु भएको हो ।
‘६५ वर्षे उमेरहदका कारण उहाँ (जबरा) मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । २८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाउनु भएको हो । उहाँले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको थियो ।
गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न नसकेको, न्यायपालिकाभित्र विकृति, विसङ्गति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र रोक्न नसकेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको लगायत २१ वटा आरोपसहित जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
जुन प्रस्तावको प्रतिनिधिसभामा विचाराधीन छ । नयाँ संसदले उक्त प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा दलहरुबीच मतभेद कायमै रहेका बेला जबराले अनिवार्य अवकाश पाउनु भएको हो ।
महाअभियोग प्रस्ताव दर्ता हुनुअघि जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले आन्दोलन गरेको थियो । जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बारले मात्र होइन सहकर्मी न्यायाधीशहरु समेतले आन्दोलन गरेका थिए ।
लामो समय न्यायाधीश र अधिवक्ताहरुको आन्दोलन चलिरहेका बेला जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने कारणसहित प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो र नयाँ प्रतिनिधिसधा गठन भएको छैन ।
यस अवस्थामा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जबराले बताउँदै आउनु भएको छ । सोहीअनुसार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबाट अघिल्लो हप्ता २१ मंसिरमा महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लिएर सर्वोच्च अदालत छिर्ने जबराको प्रयास असफल भयो । सर्वोच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि जबराको सर्वोच्च फर्किने प्रयास अफल भयो ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरा सर्वोच्च अदालत नफर्की मंगलबार उमेरहदका कारण सेवानिवृत्त हुनु भयो । जबरा निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालिरहनुभएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच