स्वतन्त्रहरूलाई समेट्दै प्रभु साह ‘आमजनता पार्टी’ दर्ता गर्दै, चुनाव चिन्ह ‘मोबाइल फोन’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाउनु भएको छ । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराउनु भएको हो ।

त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशका प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ ।

भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर जसले पाँच हजार मत ल्याएका छन्, उनीहरूलाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ । न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रभु साहको अभियानमा लाग्नुभएको थियो । वाग्ले बाराबाट कांग्रेसका बागी उम्मेदवार बन्नुभएको थियो ।
साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौजना सांसद रहेको दाबी गर्नुभएको छ । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल हुनु हुन्छ । गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाउनु भएको थियो । किरण साह भने आउँछु भनेर अन्तिममा उपस्थित हुनु भएन ।

सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी अमरेशकुमार सिंह दिल्लीमा भएकाले उपस्थित हुन सक्नुभएको थिएन । नयाँ पार्टी गठनमा सिंहले समेत सहमति जनाउनु भएको छ ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा विजयी सुरुल पुन (रुकुम), दीपेन्द्रबहादुर पुन (रोल्पा), दीपेन्द्रबहादुर शाही (जुम्ला), खड्ग बस्नेत (नवलपरासी), केशव राय चौधरी (रौतहट)ं र जवाहरलाल कुशवाह (सर्लाही) लाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?