४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत

Read Time = 5 mins

काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको छ ।

निर्वाचन आयोगले बुधवार निर्वाचनको परिणाम घोषणा गरेको हो । निर्वाचनको परिणाम घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको जानकारी दिनुभयो ।

उहाँले प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धारैटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको बताउनु भयो । त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ ।

थपलियाले समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तिमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएको उल्लेख गर्नुभयो । त्यस्तै प्रदेश सभामा १ दशमलव ५ प्रतिशत भन्दा बढी मत कटाएर प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, वागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको जानकारी दिनुभयो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको उल्लेख गर्नुभयो । ५ दशमलव शुन्य ६ प्रतिशत मत भने बदर भएको उहाँको भनाई छ । त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शुन्य ९ प्रतिशत मत बदर भएको बताउनु भयो । प्रदेश तर्फभने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको बताइएको छ । प्रदेश सभाको समानुपातिक तर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाई छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना
(३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर २९ गते प्रतिनिधि सभा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने बताउनु भयो । त्यस्तै पौष २ गते प्रदेश सभा निर्वाचन परिणामको प्रतिवेदन आयोगका पदाधिकारीहरुको उपस्थितिमा सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई बुझाउने जानकारी गराउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुलाई पुष ३ गते आईतवार निर्वाचित प्रमाणपत्र दिइने पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?