विकास कुर्दै ‘खिउ बराह ताल’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । वरपर जंगल बीचमा ताल । जहाँबाट देखिन्छन् अनगिन्ती हिमाल । करिब ३१ सय मिटरको उचामा छ खिउ बराह ताल । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा पर्ने यो ताल निकै मनमोहक छ । यस ठाउँको वातावरण र यहाँबाट देखिने अनगिन्ती दृश्यले धेरैलाई लोभ्याउने गरेको छ । जिल्लाकै उच्च स्थानमा रहेको खिउ बराह ताल प्रचारप्रचारको अभावमा ओझेलमा परेको छ ।

यस ताललाई अहिलेसम्म पदमार्ग तथा मोटरबाटोले छुन सकेको छैन । पर्यटकीय हिसाबले अत्यन्तै संभावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न सकेका छैनन् । ताराखोला कै सबैभन्दा उत्कृष्ट गन्तव्यका रुपमा रहेको खिउ बराह तालको प्रचारप्रसार र पूर्वाधार निर्माणमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने स्थानीय कृष्ण अठारे मगरले बताउनुभयो ।

उहाँले यहाँसम्म पुग्ने सडक र पदमार्ग निर्माण भए यो ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो । हिल गाउँबाट करिब चार घण्टाको पैदल यात्रापछि तालमा पुग्न सकिने मगरको भनाई छ । सडक निर्माण भएपछि छोटो समयमै यहाँ पुग्न सकिने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ-“यसको प्रचारप्रसार र यहाँ पूर्वाधारहरु निर्माण भए भने खिउ ताल ताराखोलाको मात्रै होइन देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ, यो जंगलको बीचमा छ, अहिले टाढाबाट पर्यटकहरु आउन सकेका छैनन्, प्रचारप्रसार हुने र यहाँसम्म पुग्ने सडकको सुविधा भयो भने दैनिक सयौँ मान्छे घुम्न आउँने छन्, सरकारले चाह्यो भने केही वर्ष मै यसको विकास हुन सक्छ ।”

स्थानीय निरज बगालेले आफूहरु पर्यटन प्रवद्धर्नका लागि जुटेको बताउनुभयो । उहाँले यो ताल निकै उचाइमा रहेको हुँदा यहाँबाट देखिने दृश्यले धेरैलाई आकर्षित गर्न सक्ने बताउनुहुन्छ । धार्मिक तथा पर्यटकीय हिसाबले ताराखोला जिल्लामै अगाडि रहे पनि यो तालसँगै अन्य पर्यटकीय गन्तव्यहरु प्रचारप्रसारमा भने पछाडि परेको उहाँको भनाई छ ।

“खिउ बराह ताल बागलुङ जिल्लाकै सबैभन्दा उचाइमा रहेको ताल हो, अहिलेसम्म यहाँ कुनै पनि संरचना निर्माण भएको छैन, अहिले स्थानीय पनि यसको प्रचारप्रसारमा जुटेका छौँ, भौगोलिक विकटताका कारणले पनि होला” बगालेले भन्नुभयो-“वर्षौँदेखि यो तालले आगन्तुकलाई कुरि रहेको छ, तर यहाँ पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटक आउन सकेका छैनन् ।”

बगालेले स्थानीयहरु कहिलेकाहीँ यस ठाउँमा वनभोजका लागि भए पनि बाहिरी मान्छे यहाँ पुग्न नसकेको बताउनुभयो । उहाँले गत वर्ष गाउँपालिकाले विनियोजन गरेको चार लाख रुपैयाँबाट ताल संरक्षण गरेको भन्दै यस वर्ष प्रदेश सरकारले सहयोग गरेको बताउनुहुन्छ । स्थानीय, प्रदेश र केन्द्र सरकाबाट वर्षेनी बजेट परे केही वर्षमै यो तालमा पर्यटकको भिड लाग्ने उहाँको भनाई छ । उहाँले यहाँसम्म पुग्ने मोटरबाटो निर्माण भए पनि आन्तरिक पर्यटक आउन सक्ने बताउनुहुन्छ ।

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले अहिले यसको विकासका लागि पहल थालेको छ । प्रदेश सरकारबाट विनियोजन भएको १० लाख रुपैयाँबाट यस तालको मर्मत सम्भार गर्न लागेको ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिनुभयो । उहाँले यस वर्ष ताल सरसफाई र व्यवस्थापनको कार्य सुरु भएको बताउनुभयो ।

“बागलुङका तीन वटा ताल यस वर्ष संरक्षण र मर्मत सम्मभार हुँदै छन्, ताराखोलाको खिउ बराह ताल, ढोरपाटनको रुद्र ताल र तामानखोलाको बराह तालमा हामीहरुले काम गर्दै छौँ, यी तालहरुले पर्यटकीय हिसाबले निकै संभावना बोकेका छन्” विकले भन्नुभयो- “यस वर्षबाट ताल व्यवस्थापन र सरसफाइको कामको थालनी भएको छ, पछि तालसम्म आउने सडक र पदमार्ग निर्माण भए भने आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ ।”

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले यस तालको एतिहासिक पृष्ठभूमि तयार पारेर प्रचारप्रसारमा लाग्ने बताउनुभयो । उहाँले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिक स्थलहरुको प्रवद्धर्नका लागि गाउँपालिकाले नीतिगत योजना बनाएर लाग्ने बताउनुभयो । अहिलेसम्म धेरै पर्यटकी ठाउँमा पूर्वाधार निर्माण हुन नसकेको भन्दै विस्तारै सबै क्षेत्रको विकास गर्ने उपाध्यक्ष रोका बताउनुहुन्छ ।
“हाम्रो पालिकामा धेरै पर्यटकीय स्थलहरु छन्, केही स्थलहरुमा पूर्वाधार निर्माण भइसकेका छन् भने अझै केहीमा धेरै काम गर्न बाँकी छ, खिउ बराह तालको विकासलाई मुख्य प्राथमितामा राखेर विकास गर्ने छौँ,” उपाध्यक्ष रोकाले भन्नुभयो- “त्यहाँसम्म पदर्माग निर्माण गरेर हुन्छ या मोटरबाटो नै निर्माण गरे हुन्छ यसको प्रवद्धर्नका गाउँपालिकाले क्रमस लाग्ने छ ।”

उहाँले पर्यटनसँग स्थानीयलाई जोड्ने र उनीहरुको आयआर्जनसँगै जीवनस्तरमा परिवर्तन ल्याउने गरि योजना बनाएको बताउनुभयो । खिउ बराह तालबाट धौलागिरी हिमाल, माछापुछ्रे, अन्नपूर्णदेखि दर्जनौँ हिमश्रृङ्खलासँगै बागलुङका विभिन्न स्थान र म्याग्दी, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाहरु देखिन्छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?