लुम्बिनी क्षेत्रका संघीय र प्रदेश सांसदलाई सम्मान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई विहिबार सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवद्येश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले खादा ओढाएर सम्मान गर्नुभयो ।
सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचित वासुदेव घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबैपक्षबीच हातेमालो जरुरी रहेको बताउनु भयो । उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने बताउँदै कोषको गुरुयोजना सम्पन्न गर्नका लागि संघीय सांसदको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । लुम्बिनी भित्रको विकाससँग स्थानीय नागरिकलाई जोडेर विकास गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य सिके गुप्ताले लुम्बिनीको विकासका लागि जनप्रतिनिधिका रुपमा आफू सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले लुम्बिनीमा अस्पतालकको आवश्यकता रहेकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय(अवधेश त्रिपाठी) ले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले लुम्बिनी गुरुयोजनाका लागि साँढे ७ अर्बको बजेट आवश्यक रहेपनि एकमुष्ट बजेट नछुट्दिँदा निर्माण ढिलाई भइरहेकाले यसमा पहल गर्न सांसदहरुको ध्यानआर्कषण गराउनु भयो । उहाँले लुम्बिनी क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको अस्पताल र गुणस्तरीय बौद्ध शिक्षा दिने शिक्षालयको आवश्यकता रहेकाले यसतर्फ संघीय र प्रदेश सांसदहरुले आवाज उठाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले आफुहरु लुम्बिनीको विकासमा नयाँ काम गर्न चाहेको बताउँदै त्यसका लागि नवनिर्वाचित सांसदहरुसँग सहकार्य गर्न तयार रहेको वताउनु भयो । उहाँले लुम्बिनी सुरक्षित, सुन्दर र बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउन गरि मिलेर काम गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजना अनुसारका निर्माणहरु भइरहेको बताउँदै पर्याप्त बजेटका लागि पहल गरिदिन आग्रह गर्नु भयो । उहाँले गुरुयोजनाका लागि बजेटको सुनिश्चिता भएपनि बर्षमा एक अर्बको हाराहारीमा मात्रै बजेट छुट्याउदा गुरुयोजनाको कामले गति लिन नसकेको बताउनु भयो।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धीन खाँन, लुम्बिनीका वडा न. ३ का वडाअध्यक्ष अकरामुद्धिन मुसलमानले लुम्बिनी भित्र मात्रै नभई बाहिरी क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी विकास कोषको प्राथमिकता र बौद्ध सर्किटका बारेमा जानकारी गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?