बीमा कम्पनीले ११ क्षेत्रमा लगानी गर्न पाउने

Read Time = 3 mins

काठमाडौं । जीवन बीमा कम्पनीहरूले विभिन्न ११ क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको लगानी निर्देशिका जारी गर्दै लगानी गर्नुपर्ने क्षेत्र र सीमा तोकेको हो । संशोधित व्यवस्थाअनुसार कम्पनीहरूले आफ्नो लगानीको न्यूनतम पाँचदेखि अधिकतम ३० प्रतिशतसम्म विभिन्न क्षेत्रमा लगानी गर्न पाउनेछन् ।

नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेप, घरजग्गा, सूचीकृत कम्पनीको साधारण सेयर तथा डिबेन्चर, कृषि, पर्यटन तथा पूर्वाधार, ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, इन्भेष्टमेन्ट कम्पनीको सेयर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डलगायतका क्षेत्रमा लगानी गर्न पाउने बताइएको छ ।

सबैभन्दा बढी वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकका मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने भएका हुन् । तर, बीमा कम्पनीहरूले प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्नेछ । तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको ३० कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याइसक्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीनवटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्क्रिय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारबाहीमा नपरेको हुनुपर्ने छ । कम्पनीहरूले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डारगृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा, केबलकार, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने छ । उल्लेखित क्षेत्रमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । तर, एउटै परियोजनामा कुल लगानीको पाँच प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?