नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको मानार्थ उपाध्यक्षमा धम्बोझी क्लब नेपालगञ्जका अध्यक्ष देवेन्द्र खड्का र पूर्व-फुटबल खेलाडी सुशील मल्ललाई मनोनीत गरिएको छ । बाँके जिल्ला फुटबल संघको शनिबार बसेको बैठकले जिल्लाको फुटबल विकासमा योगदान गरेका दुई व्यक्तिलाई उपाध्यक्षमा मनोनीत गरेको हो ।
उपाध्यक्षमा मनोनीत खड्का धम्बोझी क्लबको नेतृत्वमा हुनुहुन्छ । उहाँको नेतृत्वमा धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट कपमा उपविजेता बन्दै राष्ट्रिय लिग फुटबलका लागि छनोट हुन सफल भएको थियो ।
राष्ट्रिय लिग एन्फाले आयोजना गर्ने तयारी गरेको सर्वाधिक ठूलो प्रतियोगिता हो । जहाँ मोफसल र काठमाडौंमा भएका ए डिभिजन फुटबल क्लबहरूले प्रतिस्पर्धा गरेका छन् । खड्काको नेतृत्वमा धम्बोझीले लुम्बिनी प्रदेश लिग फुटबलको उपाधिसमेत जित्न सफल भएको थियो ।
उपाध्यक्षमा मनोनीत मल्ल खजुरा गाउँपालिका वडा नम्बर २ ‘ए’ गाउँ निवासी हुनुहुन्छ । हाल उहाँ जापानमा हुनुहुन्छ । रोजगारीको सिलसिलामा जापानमा भए पनि सुशीलले बाँके जिल्लामा फुटबल प्रतियोगिता आयोजना र फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको थियो । बाँकेमा हुने नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता र खजुरा गाउँपालिका वडा नम्बर १ मा हुने श्याम थापा स्मृति कप फुटबल प्रतियोगितालगायत अन्य विभिन्न गतिविधिमा मल्लले महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले दुईजनालाई मानार्थ उपाध्यक्षमा मनोनीत गरेको हो ।
बाँके जिल्लामा फुटबल खेललाई व्यावसायिकरूपमा विकास गर्न सहयोग गर्ने व्यक्तिलाई मानार्थ उपाध्यक्ष पदमा मनोनीत गरेर सम्मान गरिएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताउनुभयो । यसैगरी शनिबार बसेको बैठकले जिल्लाव्यापी मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता फागुनको पहिलो साता आयोजना गर्ने निर्णय गरिएको महासचिव खत्रीले बताउनुभयो ।
मेयर कप छात्र-छात्रा फुटबल आयोजनाका लागि बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको संघले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघले आगामी दिनमा फुटबल खेलको विकास गर्ने उद्देश्यले अन्य विविध कार्यक्रमहरू योजनाबद्धरूपमा गर्ने तयारी गरिरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बताउनुभयो ।
‘पछिल्ला केही वर्ष कोरोना र आर्थिक मन्दीका कारण फुटबलका गतिविधि गर्न निकै समस्या परेको थियो । अब हामी विस्तारै फुटबलका गतिविधि बढाउने तयारीका साथ अघि बढिरहेका छौँ । त्यसका लागि योजनाबद्धरूपमा काम गर्ने हाम्रो लक्ष्य छ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच