‘अर्थतन्त्र सुधारोन्मुख छ, नकारात्मक हल्ला नगरौँ’

हिमालय टाइम्स
Read Time = 7 mins

पुरन साह/हिटा
जनकपुरधाम । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गर्दै गलत हल्ला र अफवाहका कारणमात्र परिस्थति प्रतिकूल बन्न गएको बताउनुभएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले गलत अफवाह र हल्लाका कारण पैसा भएका निजी क्षेत्रहरू लगानी नगरेर प्रतीक्षारत रहेकाले पनि यस्तो अवस्था आएको बताउनुभयो । मन्त्री महतले कोरोनाको अन्त्यसँगै पर्यटक आगमनमा वृद्वि भएपछि देशको अवस्था सुधारोन्मुख भएको जिकिर गर्नुभयो । रेमिट्यान्स आएको तर गलत अफवाहका कारण घर र बैंकमै थन्किएकाले पनि व्यापक समस्या जस्तो देखिएको उहाँको भनाइ थियो ।

मन्त्री महतले त्यसअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा गठबन्धनभित्र केही असमझदारी र असन्तुष्टि रहे पनि विस्तारै समाधान हुँदै सरकार आफ्नो लयमा फर्किरहेको बताउनुभएको थियो ।

संघको साधारणसभामा एमाले नेतृ जुली महतो, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतले जनकपुरधामको विकासका लागि बजेटमा कन्जुस्याइँ नगर्न र महोत्तरीको जलेश्वर भिठ्ठामोड नाकालाई तेस्रो बन्दरगाहबाट सिधै जोड्ने मधेशको दोस्रो मुख्य भन्सार नाकाका रूपमा रूपान्तरणको पहल गर्न आग्रह गरेका थिए ।

विकास र समृद्धिका लागि सहमतिमा जोड
अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताउनुभएको छ । चैतन्य एकेडेमीले शुक्रबार काभ्रेमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक दलबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हारजित हुन्छ, यी सबै स्वाभाविक प्रक्रिया हुन् तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि र सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’

उहाँले अर्थतन्त्रले विस्तारै लय पक्रिँदै गएको दाबी गर्दै पहिला खुकुलो मौद्रिक नीति अपनाउँदा सजिलै पैसा प्रवाह भएकोमा पछि कसिलो मौद्रिक नीति आएकाले बैंकले ब्याजदर बढाएको बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘यसलाई विस्तारै सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटकमात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ । राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रो चालु खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौँ, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । सबैले नकारात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन आग्रह गर्दै उहाँले सकारात्मक माहोल सिर्जना गर्नुपर्ने पनि बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘सकारात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरू काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरू सामाजिक सञ्जालको आक्रमणको केन्द्रबिन्दुमा पर्छन् । यो परिवर्तन ल्याउन कठिन छ, धैर्यता चाहिन्छ, धेरै मेहनत गर्नुपर्छ । आजको भोलि नतिजा आउँदैन ‘तत्काल नतिजा खोजी भइरहेको अवस्थामा त्यो सम्भव छैन । सबैलाई थाहा छ, भन्न सजिलो छ, गर्न कठिन छ । त्यसकारण सकारात्मक कुरा बिकाउन गाह्रो छ ।’

कानुनी शासन सुशासनको पहिलो आधार भएकाले सबैले कानुनअनुसार काम गर्नुपर्ने र कामप्रति समर्पित हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । मन्त्री महतले भन्नुभयो, ‘कानुन मान्ने तर काममा ढिलासुस्ती भयो भने नतिजा आउँदैन । नतिजाबिनाको सुशासनको अर्थ छैन । राज्य संरचनामा हामीले अनेकौँ स्टक्चर सिर्जना गरेका छौँ । सही काम गर्दागर्दै पनि त्यहाँ प्रश्न उठाइराखेका हुन्छौँ । ठीक काम गरे पनि त्यसमा प्रश्न उठाउने भएकाले प्रशासनतन्त्रमा निर्णय नगर्ने प्रवृत्ति छ । निर्णय नभएपछि काम भएन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?