जानकी मन्दिरमा लैजान कालीगण्डकी नदीमा शालीग्राम खोजिँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । कालीगण्डकी नदीमा मात्रै पाइने विश्वकै दुर्लभ मानिएको शालीग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ । मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रको कालीगण्डकी नदीमा शालीग्रामको उत्खनन र खोजी गर्न सरकारी प्रतिनिधि सहितको एक टोली म्याग्दी आएको छ । प्राविधिक सहितको टोलीले म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ । यहाँबाट शालीग्राम शिला जनकपुरस्थित जानकी मन्दिरमा लगिने भएको छ ।

आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्नुभएको थियो । तीन दशक अगाडिसम्म कालीगण्डकी नदीमा अत्यधिक पाइने शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खननलगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले शालीग्राम लोप हुँदै गएको छ ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले शालीग्राम शिलाको खोजीमा आएको टोली शालीग्राम पाइने सम्भावित क्षेत्रमा पुगेको बताउनुभयो । ‘एउटा पहिचान भइसकेको छ, अर्को खोज्ने कार्य अहिलेलाई रोकिएको छ’ मेयर केसीले भन्नुभयो । उत्खनन गर्दा नदीबाट हुनसक्ने क्षतिका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाइ छ ।

बेनी नगरपालिकालाई गण्डकी प्रदेशबाट समेत पत्र प्राप्त भएपछि जनप्रतिनिधि सहितको टोलीले समेत सघाइरहेको छ ।
बेनीको देभानदेखि गलेश्वर आसपासका क्षेत्रबाट शालीग्राम शिला लैजाने बताइएको छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रूपमा पुज्ने गर्छन् । कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरूको भनाइ छ । शालीग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन तीव्र छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?