नेपालमा आर्थिक भयावहको अवस्था छैन, त्यो अवस्था आउँदा पनि आउँदैन : राजेन्द्र मल्ल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

हिमालय टाइम्स
Read Time = 32 mins

एकथरी अर्थविद्हरूले मुलुकको अर्थतन्त्रका बारेमा अनेकन् डरलाग्दा विश्लेषणहरू सार्वजनिक गरिरहेका छन् भने एकथरीले नेपालको अर्थतन्त्र सामान्य अवस्थामै रहेको जिकिर गर्दै डराउनै नपर्ने दाबी पनि गरिरहेका छन् । कतिपय सन्दर्भमा सरकारले पनि नाजुक अर्थतन्त्रका बारेमा चर्चा गरेको सुनिन्छ । यसैबीच चलिरहेका उद्योगहरू सहज ढंगबाट चल्न नसक्नु, रोजगारहरूको रोजगारी खोसिनु र बजार भाउ आकाशिनु जस्ता कुराले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको देखिन्छ । यसै सन्दर्भमा नेपालको आर्थिक अवस्था र उद्योग व्यवसायको वास्तविकताबारे हिमालय टाइम्सका लागि ठाकुर बेलवासेले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

मुलुकको अर्थतन्त्र निकै नाजुक छ भनिएको छ, वास्तविकता के हो ?
मुलुकको अर्थतन्त्रको गति टुटेको अवस्था छ । कोरोनाले पारेको विश्वव्यापी असर र युक्रेन-रुस युद्धले पारेको विश्वव्यापी प्रभावले नेपाललाई पनि घेरेको छ । अहिले नेपालमात्र नभई संसारभरको अर्थतन्त्रको अवस्था कमजोर छ । नेपालका सन्दर्भमा कोभिडविरुद्ध सरकारले तत्काल चालेका कदमको आर्थिक भार अहिले बेहोर्नु परिरहेको छ । नेपालको अर्थतन्त्र आयातका आधारमा चलेका कारण विश्व बजारलाई कोभिडले ध्वस्त बनाएको अवस्थामा नेपाली अर्थतन्त्रमा गम्भीर नकारात्मक दृश्य देखिएको छ । त्यसमै युक्रेन-रुस युद्ध थपियो । जसका कारण नेपालको आयातमुखी अर्थतन्त्र, अर्थ बजार कमजोर हुन पुग्यो । तर, नेपाली अर्थतन्त्र ढल्यो, खत्तम भयो भन्ने पटक्कै होइन । आयातमुखी अर्थतन्त्र भएका कारण यो अवस्थामा नेपाली अर्थतन्त्र आफ्नो गतिमा नहुनु स्वाभाविक नै हो ।

कतिपयले मुलुकको अर्थतन्त्र निकै भयावह छ भन्छन् नि ?
हल्ला गरेको जस्तो भयावह अवस्था छैन । नेपालमा आर्थिक भयावहको परिस्थिति कहिल्यै आउँदैन ।

कमजोर आर्थिक परिस्थितिले उद्योगी, व्यवसायीलाई परेको असर कस्तो छ ?
नेपालको उद्योग व्यवसाय पनि आयातमा आधारित छ । यसकारण अन्य मुलुकमा आर्थिक संयन्त्र कमजोर हुँदा, यो बजार र उत्पादनमा तलमाथि हुँदा नेपालको उद्योग व्यवसाय पनि कमजोर बन्न जान्छ । नेपालको उद्योग व्यवसायले आफ्नो लय समात्न सक्दैन । अहिले नेपाली उद्योगी व्यवसायीको चुनौती भनेकै आफ्नो व्यवसायको लयलाई निरन्तर बनाउनु हो । यो नेपालको मात्रै समस्या नभएका कारण आत्तिहाल्नुपर्ने अवस्था छैन । तर, कठिन अवस्थाको सामना भने गर्नु परिरहेको छ । आर्थिकरूपमा देखापरेका समस्याहरूले सर्वसाधारणलाई त प्रभाव पारेको छ भने उद्योगी, व्यवसायी र व्यापारीलाई त्यसको असर अझ बढी परेको छ । आयातमा भर परेको नेपालको अर्थतन्त्र थप संकटमा पर्नु स्वाभाविक पनि छ । अहिले डलरको भाउ महँगो भएको छ । डलर महँगो हुनासाथ हाम्रोजस्तो देशमा त्यसको प्रत्यक्ष असर पर्छ ।

सामान्य व्यापारीदेखि प्रतिष्ठित घरानिया उद्योगीसमेतले आफ्नो व्यवसायलाई साँघुरो बनाउनुपर्ने, उत्पादन र जनशक्ति घटाउनुपर्ने अवस्था आउनुलाई कसरी हेर्ने ?
अहिले आमउपभोक्तामा क्रयक्षमता घटेको छ । महँगी बढेको छ । महँगी बढेसँगै उपभोक्ताले आफ्ना आवश्यकतालाई स्वात्तै घटाएका छन् । खाने, लगाउने र औषधि उपचारमा समेत घर-घरमा चर्चा चलेको छ । दैनिक उपभोग्य वस्तुमा समेत उपभोक्ता किफायती बन्न बाध्य भएका छन् । बजार साँघुरो बनेपछि त उद्योगले उत्पादन घटाउनै पर्‍यो । व्यापारीले आफ्नो व्यापारअनुसारका आर्थिक कार्य गर्नै पर्‍यो । उत्पादन र व्यापार कम हुनासाथ कर्मचारी र अन्य आर्थिक कारोबार कटौती गर्नैपर्ने हुन्छ । अहिलेकोे परिस्थितिजन्य अवस्थामा उद्योगी व्यवसायीले समयानुकूल काम गरेका छन् । यसले सिंगो देशको अर्थतन्त्रलाई असर त पार्छ नै । तर, परिस्थितिलाई बुझेर काम गर्नाले कमजोर बनेको अर्थतन्त्र सुदृढ बन्ने दिन पनि आउँछ ।

यो आर्थिक विषमतालाई अन्त्य गर्न तत्काल के गर्न सकिएला ?
मैले बारम्बार भन्ने गरेको छु, आयातमा आधारित नेपालको अर्थतन्त्र हामीले खोजेको जस्तो बलियो बन्न सक्दैन । जुन कुरा अहिले पनि पुष्टि भएको छ । हाम्रो निर्यातभन्दा आयात नौ गुणाले बढी छ । निर्यातलाई बढाएर आयातलाई नघटाउने हो भने नेपालले आर्थिक समृद्धि हासिल गर्नै सक्दैन ।

आयातलाई घटाएर निर्यातलाई बढाउने उपाय के छन् ?
हामीसँग आयातमुखी अर्थतन्त्रबाट माथि उठ्न सक्ने थुप्रै उपायहरू छन् । नेपालमा भएका प्राकृतिक साधनस्रोतलाई परिचालन गर्ने हो भने हाम्रो अर्थतन्त्र कायापलट हुन्छ ।

निर्यातलाई बढाएर आयातलाई नघटाउने हो भने नेपालले आर्थिक समृद्धि हासिल गर्नै सक्दैन ।

नेपालमा भएका प्राकृतिक साधनस्रोतलाई परिचालन गर्नुपर्छ, अर्थतन्त्र कायापलट हुन्छ ।

गाँजा खेती प्रहरी लगाएर नष्ट गर्ने होइन । विश्व बजारको मागलाई बुझेर यसलाई प्रोत्साहन गर्नुपर्छ ।

देशलाई समृद्ध बनाउने कानुन बनाउन यो या त्यो बहाना गर्नुहुँदैन । संघीयताबाट पछाडि फर्किने भन्ने कल्पना पनि गर्नुहुन्न ।

यहाँले प्राकृतिक साधनस्रोतको व्यावसायिकीकरणको कुरा निकै गर्नुहुन्छ, कुन-कुन प्राकृतिक क्षेत्रमा व्यवसायको सम्भावना देख्नुहुन्छ ?
नेपाललाई समृद्ध बनाउने पहिलो स्रोत भनेकै जनस्रोत हो । यसलाई ‘पब्लिक प्राइभेट पार्टनरसिप’मा ‘नेपालको पानी जनताको लगानी’ अभियान नै परिचालन गर्ने, उत्पादन भएको विद्युत् छिमेकी देशहरू नेपाल, भारत र बंगलादेश त्रिदेशीय संरचनाबाट निर्यात हुने विषयलाई गम्भीर भएर दु्रतरूपमा अगाडि बढाउने, भारतमा निर्यात भएको बिजुलीबाटै पनि हामी उत्साहित बन्न सक्ने भएका छौँ । विद्युत् निर्यात अर्बौँ होइन, खर्बौंँको हुन्छ । ८३ हजार मेगावाट क्षमताको जलस्रोत हामीसँग छ । यो सामान्य कुरा होइन । जलविद्युत् आयोजनाका लागि विशेष कानुन बनाएर जनतालाई सहभागी बनाएर विद्युत् उत्पादनमा सरकार लाग्नुपर्छ । नेपाल जडीबुटीको संग्रहालय नै हो । जडीबुटीका लागि पनि विशेष कानुन बनाएर निर्यात गर्न सक्नुपर्‍यो । साँघुरो चिन्तनमा बसेर अब विकास सम्भव छैन ।

गाँजाको व्यावसायिक खेतीको पनि यहाँले कुरा उठाइरहनुभएको छ तर वर्तमान कानुनले गाँजालाई प्रतिबन्ध लगाएको छ नि !
देशको पश्चिमका कतिपय क्षेत्रमा सिंगो डाँडा नै गाँजाले भरिएको देखिन्छ । सरकारले त्यसलाई प्रहरी लगाएर नष्ट गर्छ । गाँजा प्रयोग गर्नु घातक छ भने घात हुने ढंगको प्रयोगलाई रोक्ने हो । तर, विश्व बजारमा गाँजा औषधि निर्माणमा विशेष प्रयोग हुने गरेको छ भने त त्यो हाम्रा लागि ठूलो बजार हो । त्यो बजारलाई समात्ने गरी गाँजाको खेती गर्दा के बिग्रन्छ ? गाँजाको व्यावसायिक प्रयोग विविध छ । गाँजाका बोटबाट कपडा पनि उत्पादन हुने रहेछ । अहिले गाँजाबाट उत्पादित विविध सामग्री नेपालमा विदेशबाट आयात भइरहेको छ । हामीसँग भएको गाँजा प्रहरी लगाएर नष्ट गर्ने अनि विदेशीसँग किन्ने ? यस्तो गर्नु गलत हो ।

सार्वजनिक मञ्चहरूबाट त गाँजा खेतीका बारेमा कुरा उठाउनुभएको छ, सरकारका सरोकार निकायसँग औपचारिकरूपमा कुरा गर्नुभएको छ कि ?
प्रधानमन्त्रीलाई बधाई ज्ञापन दिने सन्दर्भमा हामीले चेम्बर अफ कमर्सका तर्फबाट गाँजा खेतीका बारेमा कुरा राखेका थियौँ । उहाँले पनि गाँजाको व्यावसायिक खेती र त्यसको प्रभाव अनि लाभका बारेमा आफू जानकार रहेको बताउनुभएको थियो । प्राकृतिक साधनस्रोतको व्यावसायिक काम गर्न कानुनको अभाव छ । कानुन बनाउन दबाब र सुझाव दिन चेम्बर सधैँ अग्रसर छ । नेपालको अर्को सम्पत्ति वनजंगल हो । वनका बारेमा बनेको कानुन पनि दिक्कलाग्दो छ । देशका जंगलमा भएका काठ कुहिएका छन् । विदेशबाट काठ आयात हुन्छ । यी सबै कुरा सबैलाई थाहा छ । तर, वनलाई व्यावसायिकरूपमा प्रयोग गर्ने कानुन बनाउन कोही तयार छैनन् । देश विधि र कानुनले चलाउने हो । कानुन बलियो भयो भने हामीसँग भएका स्रोतलाई व्यावसायिक गर्न केको डर ? यो देश आफू बाँचुञ्जेलका लागि मात्रै त होइन नि ! देशको भविष्यका बारेमा हामीले सोच्नुपर्दैन । देशलाई समृद्ध बनाउने कानुन बनाउन यो या त्यो बहाना गर्ने ? यो त देशमाथिको घात हो ।

नेपाली उद्योगहरूको अवस्था कस्तो छ ?
विगतमा माओवादी युद्धका कारण ठूला उद्योगीहरू पलायन भए । युद्धका नाममा मुलुकका उद्योग व्यवसाय ध्वस्त भए । त्यसपछिको राजनीतिक संक्रमणले पनि उद्योग व्यवसायलाई असर नै पा¥यो । एकपटक कमजोर बनेको उद्योग व्यवसाय फेरि उठ्न पाँच–सात वर्षको समय लाग्छ । विस्तारै नेपालको उद्योग व्यवसाय राम्रो बन्दै थियो, कोभिडको संक्रमणले ढलायो । जिडिपीमा उद्योगको योगदान नै घटेर गएको छ । पहिलाको तुलनामा अहिले घटेको छ । यसको मतलब नेपालमा औद्योगिक अवस्था राम्रो छैन भन्ने पनि हो । भारत र चीनका बीचमा रहेको नेपालको सानो औद्योगिक बजारले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन । नेपालको उद्योग पनि आयातमुखी नै छ ।

कच्चा पदार्थ आयातमै निर्भर छ । यसकारण पनि स्वदेशी उद्योगहरू अलि कठिन अवस्थामा छन् । अहिले ठूला उद्योगहरू प्रतिस्पर्धाका आधारमा खोलिएको छ । नेपालको बजार र निर्यातको अवस्थाजस्ता कुराहरूलाई बेवास्ता गरेर डण्डी र सिमेन्टका उद्योगहरू खोलिएका छन् । जसका कारण उनीहरूले उत्पादन क्षमताको २५ प्रतिशत पनि उत्पादन गर्न सकिरहेका छैनन् । उद्योग खोल्नाले मात्रै राम्रो हुने होइन । त्यसका उत्पादन र त्यसको बजारले राम्रो, नराम्रो परिणाम देखाउने हो । हचुवाका भरमा उद्योग खोल्दा बैंकको पैसा पनि एक ठाउँमा रोकिन्छ । उद्योगी व्यवसायीलाई पनि ऋणको भार बढ्छ । उद्योग खोल्नाले मात्रै मुलुकको अर्थतन्त्रमा सहयोग पुग्दैन । आयात निर्यातको सन्दर्भ अलिक फरक छ । परिस्थिति सहज बनेको पाँच-सात महिनामै यसमा सुधार आइहाल्छ तर उद्योग, उत्पादनमा त्यसो हुँदैन । अहिले हामीले गर्नैपर्ने त देशमा भएको प्राकृतिक साधनस्रोतलाई उपभोग गरेर, प्राकृतिक साधनस्रोतका उत्पादनलाई निर्यात गर्नेतर्फ लाग्नुपर्छ ।

नेपालमा उद्योग नीति नभएका कारण एक किसिमको भद्रगोल भएको छ होइन ?
भद्रगोलकै अवस्था छ भनेर भन्दिनँ । व्यवसायमा माग र वितरणको कुरा हुन्छ । उद्योगको उत्पादन गर्ने क्षमता, उत्पादित वस्तुको माग र त्यसको बजार अर्थात् वितरणका बारेमा अध्ययन नै नगरी लहर अनि लहडमा उद्योग खोल्नु राम्रो होइन । यहीभित्र पनि एफडिआईका नाममा ठूला-ठूला उद्योगको अर्को कुरा छ । बिनालगानी कागजमात्रै लिएर एफडिआई आउने काम भएको छ । नेपालमै ऋण लिने अनि कमाएर विदेश लाने यस्ता एफडिआईका नामका उद्योगले देशको अर्थतन्त्रलाई के योगदान गर्छन् ? यतातिर सरकार सचेत छैन । कस्तो क्षेत्रमा एफडिआईलाई भित्र्याउने भन्ने कुरामा लगानी बोर्ड सचेत बन्न सक्नुपर्छ । विदेशी लगानीलाई निषेध नगर्ने तर त्यो लगानीले देशलाई कति आर्थिक लाभ छ, त्यसमा गम्भीर बन्न सकिएन भने एफडिआईले मुलुकलाई घाटामात्रै दिनेछ ।

व्यवस्थित उद्योग, व्यवसायभन्दा पनि सरकार राजस्वमा मात्रै बढी अल्झिएको भन्न मिल्छ ?
त्यसो भन्न मिल्दैन । सरकार देशको उद्योग व्यवसायप्रति चिन्तित नै हुन्छ र छ । राजस्व त चाहियो नै । बिनाराजस्व देश चल्नै सक्दैन । देश चलाउन पनि राजस्व उठाउनैपर्छ । सरकारका कामहरू चुस्तदुरुस्त भएनन् । सरकारले समय निर्धारण गरेर काम नगर्दा सरकारप्रति नकारात्मक धारणा बनेका हुन् । १९०३ मा १७०० कोठा भएको सिंहदरबार एक वर्षमा निर्माण भएको रहेछ । अहिले पाँच करोड बजेटको पुल बनाउन पाँच वर्ष लाग्छ । विकासको फराकिलो दृष्टिकोण र समयमै काम गर्ने प्रवृत्ति हुने हो भने राजस्व असुलेर केही फरक पर्दैन । राजस्व कमाएर तिर्ने कुरा त हो । कमाउने वातावरण सरकारले बनाइदिनु भने पर्छ । सरकारसँग विकासको सही खाका हुनुपर्छ । वार्षिक बजेट निर्माणमै सरकार चुकेको देख्छु म । विज्ञ राखेर काम गर्न सक्नुपर्छ । राजनीति, अर्थ, शिक्षा, पर्यटन सयौँका विज्ञ राख्ने, विज्ञका सल्लाहले प्रधानमन्त्रीले काम गर्ने चिन्तन सरकारको नेतृत्व गर्नेहरूसँग हुनुपर्‍यो । भारतमा नरेन्द्र मोदीले राजनीतिक र आर्थिकरूपमा छलाङ मारे । कारण उनी विज्ञसँगको सल्लाहमा चल्दारहेछन् । एउटै व्यक्ति हरेक कुराको ज्ञाता हुन सक्दैन । प्रधानमन्त्री त कार्यान्वयन गर्ने पद हो । यो पदलाई सघाउने विज्ञको समूह नै चाहिन्छ । अनि देश बन्छ । नेपालमा त कार्यकर्तालाई रोजगारी दिन विज्ञको नियुक्ति गरिन्छ । अनि कसरी देश विकास हुनु ? यसैले समस्या राजस्व तिर्नमा होइन । समस्या त विकासको दृष्टिकोणमा छ । बजेटको आकार र बजेट विनियोजन नै पनि वैज्ञानिक छैन । बजेट कनिका छरेजस्तो छर्ने होइन । विकासको आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्छ । आन्तरिक राजस्व, चालु खर्च र विकास खर्चका आधारमा बजेट बनाउनुपर्ने हो । बजेटको आकारमात्रै ठूलो बनाएर हुने होइन । बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ । बजेटका कारण पनि अर्थतन्त्रमा असर पर्ने गर्छ । राजस्व संकलनमा त्यसको प्रत्यक्ष असर पर्छ । पछिल्ला वर्षहरूमा बजेटकै कारण पनि अर्थतन्त्रमा असर परेको छ । सरकार सचेत हुने हो भने बजेटबाट पनि देशको अर्थतन्त्र राम्रो बनाउन सकिन्छ ।

कतिपयले आर्थिकरूपमा देश थला परिसक्यो भन्छन् नि ?
आर्थिकरूपमा देश सुरक्षित घेराभित्र छ । देशको आर्थिक अवस्था डामाडोल भएको छ भन्नै मिल्दैन । नकारात्मक प्रचार गरेर भ्रम सिर्जना गर्नु गलत हो । देशको अर्थतन्त्र कमजोर छ, यसमा विवादै नगरौँ । तर, आर्थिक अवस्था कमजोर हुनुका सबै कारणहरू सरकारलाई राम्रोसँग थाहा छ । चुहावट हुने प्वालहरू, सरकारले ती प्वाल टाल्न सक्ने आँट गर्नुपर्‍यो । स्वदेशी उत्पादन बढाउनुपर्‍यो । आयातलाई घटाएर निर्यात बढाउनुप¥यो । मैले भने नि अर्थतन्त्रलाई कमजोर बनाउने चुहावटका प्वालहरू टाल्नुपर्‍यो । सरकार देशको अभिभावक हो । अर्थतन्त्रलाई कमजोर पार्ने पक्षहरूलाई अन्त्य गर्न सरकारले नेतृत्व लिने हो । व्यावसायिक क्षेत्रका छाता संगठनहरूले सरकारलाई सहयोग गर्नुपर्छ । नेपाल चेम्बर अफ कमर्स त सरकारलाई सहयोग गर्न हरपल तयार नै छ । अर्थतन्त्र सुधारका लागि छिमेकी देश भारतसँगको खुला सीमालाई व्यवस्थापन गर्न सक्नुपर्‍यो । खुला सीमाका कारण राजस्व उठ्नै सकेन । राजस्व सही ढंगबाट उठाउन सक्यो भने पनि मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुग्छ । नेपालमा राजस्व उठाउने व्यवस्थापन नै राम्रो भएन ।

उद्योग खोल्नाले मात्रै मुलुकको अर्थतन्त्रमा सहयोग पुग्दैन । उद्योगको उत्पादन गर्ने क्षमता, उत्पादित वस्तुको माग र त्यसको बजारबारेमा पनि अध्ययन हुनुपर्छ ।

देश चलाउने प्रमुख माध्यम राजस्व हो, राजस्व उठाउन सरकारले कडाइ गर्नैपर्छ । ठूला व्यापारीलाई चैन र सानालाई ऐन गर्दा ठूलो परिमाणमा राजस्व उठ्दैन ।

जलविद्युत् आयोजनाका लागि विशेष कानुन बनाएर जनतालाई सहभागी बनाएर विद्युत् उत्पादनमा सरकार लाग्नुपर्छ ।

कानुनको अभावले राजस्व व्यवस्थापनमा कमजोरी भएको हो कि ?
कानुन नभएको होइन, छ । तर, कार्यान्वयनमा सरकार असफल बनेको छ । राजस्व व्यवस्थापनको विषय सरकारको पहुँचभन्दा बाहिर गएको छ । कर्मचारीको अभाव भयो । राष्ट्रभर नै हरेक सामानको बिल लिनेदिने अभियान चलाउन सक्यो भने पनि राजस्व उठान गर्न सजिलो पर्छ र बिलबिना कसरी व्यवसाय चल्छ ? सरकारले यो प्रश्न उठाउनासाथ सब ठीक हुन्छ । राजस्व अनुगमनका नाममा साना खुद्रा पसलेहरूलाई दुःख दिने काम भएको छ । सानो दोकान गरेर बसेकाहरूलाई कारबाही गरेर सोचेको जस्तो राजस्व उठ्न सक्दैन । ती साना दोकानहरूले सामान कहाँबाट ल्याए, त्यो स्रोतलाई समाउन सक्नुपर्‍यो । राजस्व नतिर्ने ठूला व्यापारीलाई उन्मुक्ति दिने, साना पसलेहरूलाई सताउने काम गरेर ठूलो परिमाणमा राजस्व उठ्दैन ।

राजनीतिक नेतृत्व देशप्रति कत्तिको चिन्तित पाउनुहुन्छ, विशेषगरी देशको समृद्धिका लागि उल्झनग्रस्त कानुन हटाएर नयाँ कानुन बनाउने सन्दर्भमा ?
सरकार परिवर्तन हुनासाथ सरकारी नीति नै परिवर्तन गर्ने अत्यन्तै गलत परम्परा छ । मुलुकको हितका लागि बनेका नीति सरकार परिवर्तन भएसँगै परिवर्तन हुनुभएन । सरकारमा बस्नेहरूले निर्देशिकाका माध्यमबाट हुन्छ कि या अन्य के गरेर हुन्छ, आफू अनुकूल बनाउन खोज्ने चलन छ । जसका कारण उद्योगी व्यवसायीहरू लगानी गर्न सधैँ त्रसित बनिरहेका हुुन्छन् । राजनीतिक दलहरू आर्थिक योजनामा एकमत हुनैपर्छ । अर्थतन्त्रलाई बलियो बनाउने भनेको उद्योग व्यवसायले नै हो । यो क्षेत्रलाई कानुनले बाँधेर ढुक्कसँगले काम गर्न दिनुपर्छ । प्रधानमन्त्रीको कार्यालयलाई त कारबाही गरेका व्यक्तिलाई लगेर राख्ने ठाउँ बनाइएको छ । सरकार परिवर्तन हुनासाथ चित्त नबुझेका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा जगेडामा पठाइन्छ । जब कि प्रधानमन्त्री कार्यालयमा त दिनरात काम गर्ने विज्ञ कर्मचारी या विज्ञ योजनाकारहरूलाई पठाउनुपर्छ । हामी हरेक कुरामा गलत बाटोमा छौँ ।

आर्थिक नीति बनाउने सन्दर्भमा सरकार उद्योगी व्यवसायीका छाता संगठनहरूसँग कत्तिको छलफलमा बस्छ ?
सरकार र निजी क्षेत्रको सम्बन्ध अहिले निकै माझिएको छ । मुलुकको आर्थिक उन्नतिका लागि सरकारले उद्योगी व्यवसायीका छाता संगठनहरूसँग निरन्तर संवाद गरिरहेको छ । केही गर्नुपर्छ भन्ने कुराको हुटहुटी सबैमा छ । तर, ढिला भयो । सुस्त गतिमा काम भयो भन्ने कुरा हाम्रो हो । समस्या कहाँ छ भने सरकार बन्नासाथ नीति नियम परिवर्तन भइहाल्छ । अनि भइरहेका कामहरू सबै अलपत्र पर्छन् । यसमा सरकार अलिक सचेत बन्नुपर्छ । सरकार र निजी क्षेत्रको सहकार्यबिना देश अगाडि बढ्नै सक्दैन । यसै कारण सरकार निजी क्षेत्रलाई साथमा नलिई काम गर्न चाहँदैन । मेरा बारेमा भन्नुहुन्छ भने मैले व्यावसायिक जीवन सुरु गरेको चार दशक बित्न लाग्यो । काम गरेपछि पैसा त कमाइन्छ । त्योभन्दा ठूलो देशको चिन्ता हुने रहेछ । यो देश सम्पन्न भयो भने हामीले गरेको उद्योग व्यवसायको सफलता देखिन्छ । देश त आजका लागि मात्रै होइन नि । पुस्तौँ पुस्ताका लागि चाहिन्छ । अधिकांश उद्योगीले यस्तै सोच्छन् । एक- दुईजना गलत पनि होलान् । काम गर्ने व्यक्तिलाई कानुनको सहजता र सरकारले दु्रत गतिमा काम अगाडि बढायो भने हाम्रो मुलुक आर्थिकरूपमा कायापलट बन्न समय लाग्ने छैन ।

संघीयतामा गएका कारण पनि देशले आर्थिक दबाब खेपिरहेको छ । संघीयताले आर्थिक भारमात्रै थप्यो भन्छन् नि ?
मुलुक संघीयतामा गइसक्यो । अब संघीयताबाट पछाडि फर्किने भन्ने कल्पना पनि गर्नुहुन्न । देशका लागि स्थानीय र केन्द्र सरकारमात्रै भएको भए हुने रहेछ । तर, देश प्रदेश संरचनामा चलिसकेको छ । अब यसलाई बिगार्नु हुन्न । यसमै आर्थिक समृद्धि खोज्नुपर्छ । बरु केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार दिन सक्नुप¥यो । संघीयतामा गएका देशहरूले कसरी काम गरेका छन्, सिकौँ न ।

देशको अर्थतन्त्र ओरालो लागेको अवस्थामा उद्योगी र बैंकको सम्बन्ध बिग्रेको जस्तो देखिन्छ । बैंकले उद्योगीलाई सहयोग गरेन भन्ने गुनासो पनि सुनिन्छ । खासमा के हो ?
उद्योगी र बैंकको सम्बन्ध नङ र मासुजस्तो छ । अलिक फाट्यो भने त्यसले पीडा दिन्छ । दुख्छ । अहिले पनि बैंक र उद्योगीको सम्बन्ध राम्रो छ । तर, के भने अहिले बैंकले ब्याजदर एकै वर्षमा ६०/७० प्रतिशत वृद्धि गर्‍यो । एकातिर देशमा आर्थिक मन्दी अर्कोतिर बैंकको चर्को ब्याजदरले उद्योगी व्यवसायी मारमा परेका छन् । राष्ट्र बैंकले ब्याजदर घटाउन भूमिका खेल्नुपर्छ भन्ने हाम्रो माग छ । बैंक पनि मारमा छन् । जोखिम भार १५० प्रतिशत पु¥याइएको छ । यसलाई घटाउनुपर्‍यो । अनि बैंकहरूलाई पनि अलिक सहज हुन्छ । राष्ट्र बैंकले विशेष भूमिका खेल्न जरुरी छ । बैंकिङ ऋणमा राष्ट्र बैंकले दुई वर्षका लागि विशेष नीति ल्याउनुपर्छ । कम्तीमा एकल अंकको ब्याजदरमा नल्याउने हो भने उद्योगी व्यवसायी डुब्ने अवस्थामा छन् । उद्योग व्यवसाय सुचारु भएपछि देशको अर्थतन्त्र आफैं राम्रो हुन्छ । देशको आर्थिक अवस्था राम्रो छैन भन्ने कुरा प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई थाहा छ । अब यसलाई सुधार गर्न राष्ट्रिय संकल्प गरौँ । यो देश निर्माणमा एउटा अवसर पनि हुन्छ । देशमा आर्थिक संकट आयो पनि भन्ने अनि बैंकको ब्याज चर्को बनाएर उद्योग व्यवसाय बन्द गराएपछि समस्या सुल्झन्छ कि झन् बढ्छ ? राष्ट्र बैंकले सोच्नैपर्ने कुरा हो यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?